site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेटमणि चौधरीको प्रश्न– भीआईपीलाई जेल पठाउने सीआईबीको किन अविश्वास ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले जुनसुकै अपराधमा जोडिएकाहरूको अनुहार जनताले हेर्न चाहेको बताए । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले एक क्विटल सुन प्रकरणमा छानबिन अघि बढिरहेको समयमा त्यसलाई प्रभावित गर्न नहुने बताए । 

“जुनसुकै तरिकाले होस्, सुन काण्डलगायत थुप्रै अपराधमा संलग्नहरूलाई नेपाली जनताले देख्न पाउनुपर्छ र कारबाहीको दायरामा ल्याउनुपर्छ,” उनले भने, “गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयको पनि छानबिन हुनुपर्छ ।”

Argakhachi Cement Island Ad

साथै उनले संसदीय छानबिन समितिको नाममा अनुसन्धन प्रभावित हुने काम गर्न खोजिएको त हैन भन्ने प्रश्न समेत गरे । चौधरीले पूर्वउपप्रधानमन्त्री र गृहमन्त्रीलाई जेल पठाउने सीआईबीका छानबिन प्रक्रियामा किन अविश्वास भन्दै प्रश्न पनि गरे । 

“भीआईपी ठानिएको पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री जेलको चिसो छिडीमा छन् । सीआईबीको विषयमा प्रश्न उठाएका छौँ । तर नेपाल सरकारले निर्माण गरेको संस्था र यही सांसदले कानुन निर्माण गरेर बनाएको संस्था भएकाले त्यसप्रति विश्वास गरौँ,” चौधरीले भने, “छानिबन समिति भन्दा पनि यो संयन्त्रलाई काम गर्न दिऔँ । छानबिन समिति भनेर त्यो विषमया प्रश्नहरू उठाएर डाइभर्ट गराउने कुरा हो कि भन्ने कुरा लागेको छ । थुप्रै विषमया संसदीय छानबिन समिति बनायौँ । कुनै समतिको रिपोर्ट सार्वजनिक गर्‍यौँ ? गरेनौँ ।”

प्रमुख सचेतक चौधरीले प्रमुख तीन दलले संसद्लाई बन्धक बनाउने काम पनि गरेको बताए । 

“संसद् जनताको करेन्ट इस्यूमा छलफल हुने थलो बन्नुपर्दथ्यो । तर, हामीले आफूसँग जोडिएको स्वार्थका कारणले सबै सांसदहरूको हक अधिकार छिन्ने गरियो,” उनले भने, “तीनवटा दलका शीर्ष नेतहरूले संसद्लाई बन्धक बनाउने काम गरको छौँ । यसले जनताको समस्या सम्बोधन गर्ने काम ओझेलमा पारिएको छ । यसमा करेक्सन गरेर जानुपर्छ । सभामुखले निर्देशन गर्नुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्