site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा खडेरी अन्त्य, हिमाली क्षेत्रमा किन हुँदै छ कम वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । लामो समयपछि तराईका केही जिल्लामा रहेको खडेरीको अन्त्य भएको छ । देशका अरू क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुँदा पनि तराईका केही भू–भागमा खडेरीको अवस्था थियो ।

तराईका अधिकांश जिल्लामा केही दिनअघिसम्म मध्यमदेखि अधिक खडेरीको अवस्था थियो । नेपालगन्ज, जनकपुरलगायत क्षेत्रमा मध्यमदेखि अधिक खडेरी भएको हो । कोसी प्रदेशको धनकुटामा पनि खडेरी थियो ।

नेपालगन्ज, जनकपुर, धनकुटालगायत भू–भागमा गएको जुन १ देखि जुलाई ३१ सम्म सरदरभन्दा ५० प्रतिशत कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो । सोही कारण यी क्षेत्रमा धान रोपाइँ हुन सकेको थिएन ।

Dabur Nepal
NIC Asia

“यी क्षेत्रमा पनि अहिले वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा त केही कम नै वर्षा भएको छ, तर अब यी क्षेत्रमा पनि भारी वर्षा हुनेछ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसित, “यी क्षेत्रमा पानी नपर्दा रोपाइँ हुन सकेको थिएन । वर्षासँगै यो समस्याको पनि समाधान भएको छ ।”

पछिल्लो २४ घण्टामा रौतहटमा ५० मिलिमिटर, वीरगन्ज, बारा र पर्सामा ६० मिलिमिटर आसपास वर्षा भएको छ । जनकपुर, धनुषा, महोत्तरीमा पाँचदेखि सात मिलिमिटरको बीचमा र सप्तरीमा ४२ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् झाले जानकारी दिए ।

यो अवधिमा बाँके, लुम्बिनी र दाङ क्षेत्रमा ९८ मिलिमिटर वर्षा भएको छ । “यी क्षेत्रमा कम्तीमा अबको तीन/चार दिन वर्षा हुने देखिन्छ,” उनले भने, “पानीको मात्रा कम भएका क्षेत्रमा धानबालीलाई यसले फाइदा गर्नेछ ।”

उनका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाली आकाशमा) रहेकाले मनसुनको गतिविधि बढेको हो । न्यूनचापीय रेखा नेपालमा रहेसम्म यहाँका धेरै स्थानमा भारी वर्षा हुने मौसमविद् झाको भनाइ छ ।

“मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेसम्म यहाँ हल्कादेखि भारी वर्षा हुन्छ,” उनले भने, “मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथि रहनु भनेको नेपालका भू–भागमा धेरै वर्षा हुनु हो । यो अवस्था रहेसम्म बदली र वर्षाको क्रम जारी रहनेछ ।”

केही दिनदेखि देशभर वर्षा भइरहेको मौसमविद् झाले जानकारी दिए । पछिल्लो २४ घण्टामै कोसी, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको उनले बताए । तराई र चुरे पहाडको आसपास अहिले तुलनात्मक रूपमा भारी वर्षा भइरहेको र हुने उनको भनाइ छ ।

“पहाडी र तराई भू–भागमा बढी वर्षा हुन्छ । हिमाली भू–भागमा भने केही कम वर्षा हुनेछ,” उनले भने, “मनसुनको न्यूनचापीय रेखा नेपाल आउँदा विशेष गरी महाभारत रेन्जबाट तल धेरै वर्षा हुन्छ ।”

हिमालमा कम वर्षा हुनुको कारण पानी पार्ने जलवाष्पयुक्त वायु त्यहाँ पुग्दासम्म घट्नु भएको उनले बताए । “हिमालमा पुग्दासम्म वायुमा हुने पानीको मात्रा घट्छ । बंगालबाट आएको जलवाष्पयुक्त वायु महाभारत रेन्जको दक्षिण क्षेत्रका पहाडमा ठोक्किन्छ र त्यो भू–भागमा वर्षा हुन्छ,” उनले भने, “त्यसको अर्कोतर्फ अर्थात् महाभारत रेन्जको पारि तुलनात्मक रूपमा कम वर्षा हुन्छ ।”

मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेसम्म तराई र पहाडी भू–भागमा मध्यमदेखि भारी र अति भारी वर्षासम्म हुनेछ । यो क्रम कम्तीमा तीन/चार दिन रहने विभागले जनाएको छ ।

वर्षापछि बाढीपहिरो र ग्रेगान बहावको जोखिम हुन्छ । सोही कारण हवाई तथा यातायात सेवा प्रभावित हुन सक्ने भन्दै विभागले सचेत गराएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आजदेखि देशका सानाठूला नदीमा जलसतह बढ्न सक्ने भन्दै सचेत रहन यसअघि नै आग्रह गरिसकेको छ । नदी तथा खोलाका तटीय क्षेत्रमा बस्ने र करिडोरको सडकबाट यात्रा गर्दा सचेत हुन महाशाखाको अनुरोध छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्दो क्रममा रहने महाशाखाले जनाएको छ ।

वाग्मती, पूर्वी राप्ती, कमलाका केही सहायक नदी र मधेस प्रदेशका स–साना नदीमा पनि जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro