काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजना र कोरिययन एन्टी डोपिङ एजेन्सी (काडा)को संयोजकत्वमा शनिबारदेखि दुईदिने डोपिङ कन्ट्रोल अफिसर्स (डीसीओ)को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । कमिटीको मुख्यालय सातदोबाटोमा प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको हो ।
यो कार्यक्रमपछि नेपालमै डीसीओको प्रशिक्षण दिन सकिनेछ । डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा पहिलोपटक गरिएको हो ।
कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए । प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन विशेषज्ञ आएका छन् ।
प्रशिक्षकमा काडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो छन् । प्रशिक्षक प्रशिक्षणमा ६ जना सहभागी छन् । सहभागीमा चिकित्साकर्मी सरोजकृष्ण श्रेष्ठ नवीसमानसिं प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असिम सुवेदी र पूजा भण्डारी छन् ।