काठमाडौं । साउन ९ गते गौशालास्थित अनुपम फुडल्यान्डमा ४१औँ बीपी स्मृति सप्ताहको सन्दर्भमा ‘वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यक्रम भयो । कोइराला निकट पूर्वसभापतिहरूले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि थिए, शेखर कोइराला । कार्यक्रम तोकिएभन्दा धेरै ढिलासम्म लम्ब्याइँदै थियो । कारण थियो– कार्यक्रमका विशिष्ट अतिथि महामन्त्री गगन थापाको अनुपस्थिति ।
तर, अन्तिमतिर जानकारी आयो, महामन्त्री थापा कार्यक्रममा उपस्थित नहुने । त्यसपछि प्रमुख अतिथि कोइरालालाई बोल्न दिइयो । कोइरालाले महामन्त्रीको अनुपस्थितिका विषयमा उठेको प्रश्नको जवाफ दिए ।
उनले सुरुमै भने, “तपाईंहरूको मनमा कौतूहल होला गगनजी किन आउनुभएन ? रिसाउनुभएको हो कि के हो भन्ने पनि होला । आजको कार्यक्रमको डेट गगनजी र म नै बसेर तय गरेको हो । सभापतिजीले बैठकको फाइनलको विषयमा पदाधिकारीसँग छलफल होला । त्यसकारण उहाँहरू आउन नसकेको जस्तो मैले महसुस गरेँ । फोन पनि लागिरहेको छैन । स्विच अफ छ । त्यसकारण त्यसलाई अन्यथा लिनुभएन ।”
नेता जगदिश्वर नरसिंह केसीको अगुवाइमा भएको कार्यक्रममा कोइरालाले थापाको अनुपस्थितिको कारण बताउनु आफैँमा अनौठो थियो । अझ उनले प्रयोग गरेको ‘अन्यथा नलिनुहोला’ भन्ने वाक्यांशले प्रश्न उठाएका थियो ।
०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा रामचन्द्र पौडेलको साथबिनै इतर समूह खडा गरेर कोइराला सभापति लडे । उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी तथा महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजाल उमेदवार थिए । जसमध्ये कोइराला सभापतिमा तथा भण्डारी उपसभपाति र रिजाल महामन्त्री पदमा निर्वाचित हुन सकेनन् । महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका कोइराला इतर समूहका नेताको रूपमा मात्र स्थापित भए । त्यसमा एक खम्बा बनेर उभिए महामन्त्रीमा निर्वाचित गगन थापा । त्यसरी बनेको यो समूह अहिले कायम छ वा छैन भन्ने प्रश्न समयसमयमा उठिरहेकै छ ।
यो समूहमा कोइराला र थापाबाहेक अन्य नेताहरू नभएका हैनन् । तर, अहिले चर्चामा छ, कोइराला–थापा सम्बन्ध र इतर समूहको भविष्य । महाधिवेशनपछि तीन तहको निर्वाचनमा टिकट वितरणमा इतर समूहको उपस्थिति कमजोर रह्यो ।
यस समूहको उपस्थिति निर्वाचनको परिणाम आएपछि पनि सशक्त हुन सकेन । विशेषतः संसदीय दलको निर्वाचन कसले लड्ने भन्नेमा पनि समूहभित्र लामो समय एकमत हुन सकेन । थापा 'प्रधानमन्त्री बन्छु' र 'नेतृत्व बदल्छु' भन्दै निर्वाचनमा होमिएकाले पनि समूहबाट चुनाव लडिछाड्ने अडानमा रहे । कोइराला टिमको नेता भएकाले उनी नै संसदीय दलको नेताको अभ्यासमा जानुपर्छ भन्ने समूहका अधिकांशको दबाब रह्यो । दबाबको बचाउ गर्दै समूहको नेता भएकाले आफू नै चुनाव लड्ने र महामन्त्री थापाले सहयोग गर्नुपर्ने कोइरालाको प्रस्तावमा महामन्त्री सहमत हुन सकेनन् । तारान्तार बैठक बस्दा पनि इतर समूहका तर्फबाट उमेदवार चयन हुन सकेन । उमेदवारीको केही घण्टा अघि मात्र कोइरालाले निश्चित सर्तहरू महामन्त्री थापाले नै तय गरेपछि थापालाई संसदीय दलको नेताको रूपमा अघि बढाउने निर्णय गरे ।
कोइराला समूहले अहिले पनि आफूसँग ३२ जना सांसदहरू टिममा रहेको दाबी गर्छ । यो समूहले बनाएका उमेदवार थापाको प्रस्तावक समर्थकमा समूह बाहिरबाट महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि साथ दिएका थिए । त्यस आधारमा समूहको भोट ३४ पुग्नुपर्ने हो । तर, संसदीय दलको निर्वाचनमा थापालाई २५ मत मात्र प्राप्त भयो । उनी शेरबहादुर देउवासँग ६४–२५ को फराकिलो मतान्तरले पराजित भए ।
पराजित हुनु स्वाभाविक मानिए पनि टिमकै भोट नआउँदा कोइराला समूहभित्रको असन्तुष्टि सतहमा आयो । त्यसपछि गठबन्धन सरकारमा मन्त्री बनाउने समयमा पनि यो समूहमाथि प्रश्न नउठेको हैन । तीन मन्त्री र एक राज्यमन्त्री समूहले पाउने भनिए पनि भाग दिन सभापति देउवा तयार भएनन् । दुई मन्त्री मात्र यो समूहले पायो । पछि थपिएका सुरेन्द्रराज आचार्य राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट मन्त्री भएको चर्चा छ । महामन्त्री थापाले एकजनालाई पनि मन्त्री बनाउन नसकेको आरोप लाग्यो ।
संघीय निर्वाचनमा आफूबाहेक एकजनालाई समेत टिकट दिलाउन नसकेका महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको साथ लिँदासमेत एकजना मन्त्री बनाउन असफल भए । महामन्त्रीद्वयले मन्त्री बनाउन प्रस्ताव गरेका प्रदीप पौडेललाई देउवाले ‘राज्यमन्त्री बन्छ रे’ भन्दै हियाएर सुनुवाइ नै गरेनन् । यसले कोइराला–थापा समूहमा थप फाटो ल्याउने मलजल गर्यो ।
यस समूहमा भएको अविश्वास यतिमा मात्रै सीमित छैन । पछिल्लो समय भ्रातृ तथा शुभेच्छुक संस्था बनाउने विषयमा समूह एक ठाउँ उभिन नसकेको चर्चा छ । फेसबुकमा लाइभ गरिएको केन्द्रीय समिति बैठकमा ‘महामन्त्री भर्सेज सभापति’ भान हुने गरी बहस चले । महामन्त्री थापामाथि एकपछि अर्का केन्द्रीय सदस्य आक्रामक रूपमा प्रस्तुत भए; महामन्त्रीलाई चुनौती दिए, चेतावनी दिए ।
तर, कोइराला समूहले महामन्त्रीको बचाउमा समय खर्चिएन । नेतृत्वको रूपमा सभापतिमाथि प्रश्न उठाउँदा महामन्त्रीलाई पनि बाँकी छोडेन । बैठकमा बोल्दा महामन्त्रीको बचाउ नगरेको भनेर कोइरालालाई सभापतिसँग निकट बनेको आरोप नै लगाउन थालिएको छ । आरोप लगाइएको कुरा कोइराला आफैँले सार्वजनिक गरिसकेका छन् ।
एकपछि अर्को हुँदै आएका यी घटनाक्रमले शेखर–गगन एकैठाउँ छ्न् कि छैनन् भन्ने प्रश्नलाई थप मलजल गरेको छ । राजनीतिक वृत्तमा मात्र नभएर समूहभित्रै पनि शंका बढेको छ । यसबारे कोइरालाले स्पष्टीकरण दिनुपरिरहेको छ ।
बिहीबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको पद हस्तानान्तरण कार्यक्रममा कोइरालाले समूहको विषयमा उठेका प्रश्न आफ्नो समूहमा नभएर राजनीतिक वृत्त र मिडियामा मात्र सीमित भएको दाबी गरे । उनले महाधिवेशन आउन साढे दुई वर्ष बाँकी छँदै प्रश्न उठाउने काम भएको भन्दै प्रश्नको आधार बिलयो नभएको जिकिर गरे । उनले आफूलाई सभापति देउवासँग मिलेको भाष्य निर्माण गर्ने नकारात्मक प्रयास भइरहेको बताउन छुटाएनन् ।
“शेखर कोइराला त सभापतिसँग मिल्यो भनेर तपाईंहरूले लेखिरहनुभएको छ । मेरो बानी नै छैन, कसैले नबोलाइकन जाने । मिल्ने भनेको केमा मिल्ने ? एजेन्डामा हो,” कोइरालाले भने, “मलाई मेरो परिवारले केही संस्कार दिएको छ । गाली नगर भनेको छ । गाली सुन, खाऊ, पचाऊ तर गाली नगर भनेको छ । चित्त नबुझे नबोल भनेर भन्नुभएको छ । यो कुरालाई पनि हामीले लिने कि नलिने, आफ्नो स्वभाव र सोचाइ हुन्छ ।”
उनले केन्द्रीय समिति बैठकमा महामन्त्री थापालाई रक्षा नगरेको भन्दै केन्द्रीय सदस्य, संघीय र प्रदेशका सांसदहरूले नै प्रश्न उठाएको पनि आफैँले बताए ।
“कतिले मलाई भन्नुभयो, तपाईंले महामन्त्रीको रक्षा गर्नुभएन भनेर । केही केन्द्रीय सदस्य, संघीय र प्रदेशका सांसदले भन्नुभएको छ । मैले भने केन्द्रीय समितिमा कसैलाई पनि प्रतिरक्षा गर्न म आएको होइन,” कोइरालाले भने, “सुशील कोइराला सभापति हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका अघि मैले भनेको थिएँ– सुशील दा म तपाईंकै प्यानलबाट जितेको, तर आज म तपाईंले भनेको मान्दिनँ । उहाँले भ्रातृ संस्थाहरूलाई विघटन गरिदिनुभएको थियो । त्यो मैले स्वीकार गरिनँ । केन्द्रीय समितिमा पनि त्यसबेला कुरा चलेको थियो, एकै समूहमा भएर पनि यस्तो कुरा गर्ने भनेर । केन्द्रीय समितिमा आफ्नो बुद्धि विवेक लगाउने हो, ग्रुपले जे भन्छ त्यो भन्ने भए त एक जनाले बोले भइहाल्यो ।”
उनले गगन र आफूबीच कुनै मत भिन्नता भने नरहेको जिकिर गरे । फाटो ल्याउने समूह परिचाल भएकोप्रति सचेत रहन उनले आग्रह नै गरे ।
“शेरबहादुर देउवासँग केमा मिल्यो ? मैले आजसम्म पनि बुझ्न सकेको छैन । तपाईंहरू लेखिरहनुभएको छ– यो देउवासँग मिल्यो भनेर, किन लेख्या मैले बुझेको छैन । पहिले कोइराला सभापति देउवालाई भेट्न जाँदैनथ्यो भन्ने पनि लेख्नुभएको छ,” कोइरालाले भने, “पहिले शेरबहादुरजीले बोलाउनु हुँदैनथ्यो त म जाने कसरी ? बोलाएपछि न जाने हो भेट्न, यो कुरा पत्रकार साथीहरूले पनि बुझिदिनुपर्यो ।”
केही समय अघि महामन्त्री थापाले पनि कोइरालाले जस्तै स्पष्टीकरण दिएका थिए । सभापतिका विषयमा प्रश्न उठाउँदै विराटनगर पुगेका महामन्त्री थापालाई पत्रकारले 'शेखर–गगन समूह विभाजित हुन लागेको हो' भन्दै राखेका प्रश्नमा थापाले त्यसलाई इन्कार गरे ।
“१५औँ महाधिवेशनसम्म शेखर कोइराला र म सँगै रहन्छौँ । हाम्रो टिमको नेता शेखर कोइराला नै हो,” थापाले भनेका थिए, “१५औँ महाधिवेशनसम्म यो टिममा रहेको कोही पनि टिम बाहिर जाँदैन । यसमा साथीहरू थपिनुहुन्छ ।”
उनले कोइरालासँग नियमित भेटघाट र कुराकानी भइरहेको भन्दै सम्बन्धममा कुनै पनि प्रकारको तलमाथि नभएको बताएका थिए ।
विशेषगरी केन्द्रीय समिति बैठकमा महामन्त्री थापामाथि संस्थापन पक्षले निरन्तर प्रहार गर्नु र कोइराला बोल्दा त्यसमा डिफेन्स नभएपछि कोइराला–देउवा मिलेको भन्दै प्रश्न उठेको हो । यो प्रश्न औपचारिक रूपमा कसैले नउठाए पनि समूहभित्र र कांग्रेस वृत्तमा भुसको आगो झैँ सल्किएको छ ।
केन्द्रीय समितिमा महामन्त्रीहरू एक्लै देखिएका थिए । औँलामा गन्न नपुग्ने केही केन्द्रीय सदस्यले महामन्त्रीको बचाउमा बोले पनि समूहगत रूपमा बचाउ भएको देखिएन । बरु कन्टेन्टमा प्रश्न उठाउने र स्वतन्त्र सुझाव दिने क्रम देखिएको थियो ।
केन्द्रीय समिति बैठक सम्पन्न भएपछि महामन्त्री थापासँग बाह्रखरीले गरेको कुराकानीमा 'शेखर कोइरालाको टिम ‘इन्ट्याक्ट’ छैन हो ?' भन्ने प्रश्न गर्दा थापाले स्वीकार वा अस्वीकार दुवै गरेनन् । बरु उनले आफू टिमको लिडर भन्दा पनि महामन्त्रीको हैसियतमा बैठकमा उपस्थित भएको जवाफ दिए ।
“पार्टीको बैठकमा म यसपालि सत प्रतिशत महामन्त्रीको रूपमा उपस्थित थिएँ र त्यसरी हुन चाहेको पनि थिएँ र भएँ पनि । मैले त्यो भन्दा दायाँ बायाँ हेर्न पनि चाहिनँ,” थापाले बाह्रखरीसँग भनेका छन्, “म पार्टीको हितमा लागेँ । कहिलेकाहीँ समूहमा लाग्दा पार्टीको हित यो गर्दा हुन्छ । तर, समूहले यो भन्यो यसकारणले भन्ने हन्छ मैले त्यसमा पनि सम्झौता गर्न चाहिनँ । म जसरी उभिएँ, त्यसरी नै उभिन चाहान्थे । अरू साथीहरूले पनि त्यसरी नै सोच्नुभएको होला ।”
त्यसपछि हाम्रो प्रश्न थियो– अनुपममा समूहले गरेको कार्यक्रममा तपाईंको अनुपस्थितिमा पनि प्रश्न उठेको थियो नि ?
जवाफमा उनले कोइरालाले दिएको स्पष्टीकरणभन्दा फरक कुरा बताए । उनले केन्द्रीय समिति बैठक चलिरहँदा आफू उक्त कार्यक्रम नहोस् भन्ने पक्षमा रहेको बताए ।
“हैन । एक म त्यो कार्यक्रममा जान भ्याउने अवस्था थिएन । अर्को पार्टीको बैठक टुंगिएको थिएन । यत्रो दिन बैठक सञ्चालन गर्ने अनि बैठकको निर्णय नभइकन हामी त्यो पार्टीलाई विधिसम्मत चलाऔँ भनेर यत्रो लामो समय मिहेनत गरेको बैठकको निर्णयमै नपुगी त्यो भन्दा अघि अर्को कार्यक्रममा जाने कुरा उपयुक्त हुँदैन भन्ने मलाई लागेको हो,” थापाले भने ।
थापाले यस्तो जवाफ दिनुका पछाडि थुप्रै चरणका असमझदारी रहेको देखिन्छ । मन्त्री बनाउँदा कोइरालाले छलफल नगरेको, महामन्त्री शर्मा र नेता प्रदीप पौडेललाई समूहका सदस्यका रूपमा समेट्न तयार नभएको, भ्रातृ संस्थाको नेतृत्व लिने विषयमा अडान लिन नसकेको, चुनावमा टिकट दिने विषयमा पनि सल्लाह हुन नसकेकासहितका धेरै असन्तोष कारण बनेका छन् ।
संसदीय दलको चुनावपछि महामन्त्री थापा, अर्का महामन्त्री शर्मा र नेता प्रदीप पौडेललाई नयाँ समूहका रूपमा भएको व्याख्या र त्यसअनुरूप भएका गथतिविधिले पनि नेताहरूबीच शक्ति संघर्ष मानोवैज्ञानिक रूपमा बढाइदिएको छ । त्यसैले कोइराला हुन् वा महामन्त्री थापा समूहमा रहेकै सन्देश दिएर आफ्नो शक्ति परीक्षण गरिरहेको बुझ्न कठिन छैन । दुवैले व्यक्तिगतरूपमा देशव्यापी यात्रा गरिरहेकै छन् । जिल्ला तहका नेताहरूको समर्थन परीक्षण गरिरहेकै छन् । देउवा समूहका नेताहरू १५औँ महाधिवेशनमा आफूतर्फ कति आकर्षित छन् भन्ने परीक्षण पनि गरिरहेकै छन् । आफ्नो शक्तिको यकिन भइसक्दा मात्र शेखर–गगन समूह एक हुने वा अलग हुने टुंगो लाग्ने छ ।