site stats
बाह्रखरी :: Baahrakhari
देश
दोलखामा पहिरोमा पुरिएर शिशुको मृत्यु : तीनजना बेपत्ता, तीन घाइते
तस्बिर : रासस ।

काठमाडौं । दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ । पहिरोमा पुरिएर तीनजना अझै बेपत्ता छन् । सोही पहिरोमा परी तीनजना घाइते भएका छन् ।

पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डीएसपी दीपक खड्काले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार गौरीशंकर गाउँपालिका–७, टोपाटारमा पहिरोमा पुरिएर शिशुको मृत्यु, तीनजना बेपत्ता र तीन घाइते भएका हुन् । गौरीशंकर–८ बाट खसेको पहिरोले टोपाटारमा क्षति गरेको उनले बताए ।

“गौरीशंकर गाउँपालिका–८ को पहिरोले ७ मा क्षति गरेको हो । पाँच घरमा क्षति गरेको छ,” उनले बाह्रखरीसित भने, “पहिरोमा चारजना बेपत्ता भएकामा १५ महिने शिशुको शव फेला परेको छ । तीनजना घाइते छन् ।”

घटना गए रातिको भएको र टेलिफोन सम्पर्कविच्छेद भएका कारण आफूहरूले बिहान मात्र सूचना पाएको उनले बताए । सूचना पाएपछि उद्धारकार्यमा खटिएको उनले जानकारी दिए ।

“वर्षा भएको थियो । वर्षापछि त्यस्तो भएको हो । टेलिफोन सम्पर्कविच्छेद थियो । बिहान सूचना पाएपछि हामीले उद्धार थालेका छौँ, टोली त्यसतर्फ गएको छ,” डीएसपी खड्काले “नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली उद्धारकार्यमा खटिएका छन् ।”

घाइते तीनजनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्