काठमाडौं । विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेकाले आज केही जिल्लामा बाढीको जोखिम रहेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्न क्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज र भोलि देशका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने महाशाखाले जनाएको छ । साउन २१ गतेदेखि देशका अधिकांश नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ । २१ गते (आइतबार) देखि नदी तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ । न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेपछि नेपालमा पानी पर्ने क्रम बढ्छ ।