site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी बैठकमा आवाज :  भ्रष्टाचारी पार्टीको जुन तहमा भए पनि छोड्नुहुँदैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा भ्रष्टाचारीलाई कारबाही गनुपर्नेदेखि पार्टी नेतृत्व जनताले नै छान्नुपर्नेसम्मको आवाज उठेको छ । १३ महिनापछि कमलादीस्थित प्रज्ञा भवनमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा नेताहरूको त्यस्तो आवाज सुनिएको हो । 

पहिलो दिन प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको प्रतिवेदनमाथि र समसामयिक विषयमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा नाम टिपाउने केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ ।

मंगलबारको पदाधिकारी बैठकले केन्द्रीय समिति फेसबुमार्फत लाइभ गने निर्णय गरे पनि आजै बिहान बसेको स्थायी कमिटी बैठकले लाइभ गर्न अस्वीकार गर्‍यो । तर, यसअघि राजनीतिक प्रतिवेदनमाथि समूहमा छलफल हुने गरेकोमा अहिले बैठकमा नै केन्द्रीय सदस्यहरूले धारणा राख्न पाएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

Maobadi Kendriya Samiti (3)1690988783.jpg

बैठकमा अधिकांश नेताहरूले पार्टी संगठन निष्क्रिय भएको, जनप्रतिनिधिले पार्टीको काममा बेवास्ता गरेकोलगायतका विषय पनि उठाएका छन् । बैठकमा अध्यक्ष स्वयम्ले पार्टी पार्टीजस्तो नभएको बताए ।

Global Ime bank

पहिलो दिनको बैठकमा समसामयिकदेखि जनजीविकाको सवालसम्मका विषय उठान भएका छन् । 

बैठकमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गरे पनि केन्द्रीय सदस्यलाई उपलब्ध नगराउँदा उनीहरूले प्रतिवेदनबिना नै आफ्नो धारणा राखेका छन् । 

भ्रष्टाचारीलाई छाड्न नहुने आवाज

बैठकमा आफ्नै पार्टी र अरू जुनसुकै ओहोदाका व्यक्ति परे पनि कारबाही हुनुपर्ने माग नेताहरूले गरेका छन् । आजको बैठकमा नेताहरूले आफ्नै पार्टीबाट सुन तस्करी काण्डमा नाम मुछिएका नेताहरूको नाम भने उच्चारण गरेनन् । तर, सम्रगरूपमा सुनसहित ललिता निवास जग्गा प्रकरण, नक्कली शरणार्थी प्रकरणका भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ । 

“जहाँसम्म छानबिनको सियो पुग्छ  । भित्रको होस् वा बाहिरको होस् । हाम्रा र अर्काको भन्ने कुरा भएन । जनताले बुझ्ने गरी छानबिन हुनुपर्छ । दोषीलाई कारबाही हुनुपर्छ भन्ने कुरा उठेको छ । कसैले पनि व्यक्तिको नाममा प्रवेश गर्नुभएको छैन,” केन्द्रीय सदस्य हिमाल शर्माले भने । 

त्यस्तै, नेता पेशल खतिवडाले पनि आज बोल्ने अधिकांश सदस्यले पार्टीकै जुनसुकै व्यक्ति परे पनि कारबाही हुनुपर्ने आवाज उठेको बताए । 

“अधिकांश सदस्यबाट भ्रष्टाचारमा मुछिएर  दोषी देखिएका पार्टीकै भए जो कोहीलाई कारबाही गर्नुपर्छ भन्ने कुरा उठाउनुभएको छ । कसैको नाम उच्चारण भएको छैन,” उनले बाह्रखरीसँग भने । 

बैठकमा अध्यक्ष प्रचण्डले पनि सुशासनको अभियान सरकार नै छाड्नुपरे पनि नरोकिने बताएका छन् । उनले भ्रष्टाचारविरुद्ध सरकारको अभियानले राम्रो सन्देश दिएको पनि बताए । 

“भ्रष्टाचारविरुद्धको अभियान चलिरहन्छ । हामी कुनै सम्झौता गर्दैनौँ । सरकार छाड्ने विषयमा यसको कुनै साइनो रहँदैन,” प्रचण्डले बैठकमा भनेका छन् । 

Maobadi Kendriya Samiti (2)1690988781.jpg

'प्रचण्ड पनि बाकस थाप्न तयार हुनुपर्छ, कार्यकताले चुन्न पाउनुपर्‍यो'

बैठकमा हिमाल शर्माले नेतृत्व कार्यकताले चुन्न पाउनुपर्ने धारणा राखेका छन् । आजको बैठकमा उनले अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड पनि कार्यकर्ताबाट चुनिनुपर्नेमा जोड दिए । 

“संगठन निर्माणमा यो तरिकाले हुँदैन । कार्यकतादेखि नेतृत्व चुन्न पाउनुपर्छ । अध्यक्ष प्रचण्ड पनि बाकस थाप्न तयार हुनुपर्छ । यो नभए माओवादी पार्टी बन्दैन,” उनले बैठकमा भनेका छन् । 

कार्यकारी राष्ट्रपतिको वकालत गर्ने पार्टीले संगठन नै तदनुरुप नभएको भन्दै उनले कार्यकर्ताले प्रत्यक्ष चुन्न पाउनुपर्ने माग गरे ।

“अध्यक्षलगायत पदाधिकारी निर्वाचनद्वारा मात्रै जान तयार हुनुपर्छ । हामीले कार्यकारी राष्ट्रपति भन्छौँ,” बैठकमा राखेको धारणाबारे उनले बाह्रखरीसँग भने, “ संगठन त्यस अनुसार भएन । कार्यकर्ताले प्रत्यक्ष चुन्ने व्यवस्था सिर्जना गरौँ । हामी कांग्रेस एमालेभन्दा पनि धेरै भयौँ ।”

Maobadi-CCM11690969824.jpg

'संवैधानिक निकायमा महिला कम भए, पार्टीको नयाँ कार्यक्रम चाहियो'

बैठकमा सल्यानकी टीका बुढाथोकीले संवैधानिक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता नगराएको भन्दै आपत्ति जनाएकी छन् । उनले पार्टीमा पनि महिलाको संख्या कम भएको भन्दै त्यसलाई बढाउनुपर्ने माग राखिन् । 

“संविधान अनुसार संवैधानिक निकायमा ३३ प्रतिशत सहभागिता गराउने भनिएको छ । हाम्रो पार्टीको कमी छ । त्यो पूरा गर्नुपर्‍यो, ” उनले बैठकमा भनेकी छन् । 

त्यस्तै, उनले बैठकमा सहकारीबाट पीडितहरूको पक्षमा सरकारको ध्यानकर्षण गराइन् । काठमाडौं मुख्य ठाउँमा पीडितले पाल टाँगेर बस्नु लजास्पद भएको उनको भनाइ थियो । 

“सहकारी पीडित जनता पालमा बसेका छन् । माइतीघरमा त्यति धेरै आन्दोलित छन् । मन्त्रीहरू त्यो बाटो हिँड्नुभएको छ कि छैन । प्रधानमन्त्री त्यो बाटो हिँड्नुुुहुन्छ कि हिँड्नुहुन्न ? सम्बन्धित मन्त्रीले त्यो जानकारी दिनुभएको छैन ?,” उनले प्रधानमन्त्रीलाई समेत प्रश्न गरिन् । 

बुढाथोकीले तीन महिने पार्टी अभियानका नाममा केन्द्रबाट लाद्ने काम नगर्न सुझाएकी छन् । अभियानमा प्रशिक्षण, संगठन बनाउने मात्रै भनेर जनताको आकर्षण नहुने भएकाले नयाँपन ल्याउन सुझाइन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवदेनमा तीन महिने अभियानका लागि नेताहरूलाई वडासम्म खटाउने उल्लेख छ । 

“पार्टी अभियानको नाममा केन्द्रबाट लादेको जस्तो गर्नुहुन्न । संगठन, विचार राजनीति भुत्ते भएको छ । अभियानमा माथिबाट नयाँपन ल्याएर मात्रै खटाउनुस् । विचार, सिद्धान्त, श्रम गर्ने, लेबी उठाउने कुराले मात्रै अब थेग्दैन,” बैठकमा राखेको धारणाबारे उनले बाह्रखरीलाई सुनाइन्, “जनतालाई अब त्यसरी आकर्षित गर्न सक्दैनौँ । प्रशिक्षण दिने र नेतृत्व बनाउने भन्ने कुराले थेग्न सक्दैन । नयाँपन चाहियो ।”

दोहोरो जिम्मेवारीमा आपत्ति

केन्द्रीय सदस्य मानसिंह मानले नेताहरू सहरमुखी बनेको गुनासो गरे । सहर केन्द्रित हुने र गाउँमा जानेलाई पनि एउटै टोकरीमा नराख्न आग्रह गर्दै काम नगर्नेलाई कारबाही गर्न माग समेत गरेका छन् । 

“पार्टीमा निर्णय हुने र कार्यान्वयमा जाँदा फितलो भइरहेको छ । फिल्डमा नेता हुनुहुन्न । नेतृत्वको वरिपरि केन्द्रित हुने चलन बढेको छ । गाउँ छाडेर सहरमुखी बने । त्यसको ठोसरूपमा जिम्मेवारी तोक्नुपर्‍यो,” उनले बैठकमा भने, “त्यो काम फत्ते नगरेमा के गर्ने ? कारबाहीको पनि यवस्था हुनुपर्छ । त्यो आधारमा गरिए मात्रै जवाफदेही हुन्छ ।”

उनले जनतालाई मात्रै भनेर समाजवाद नआउने भन्दै नेतृत्वबाटै त्यसको अभ्यास गर्न सुझाव दिए । 

“जनतालाई भनेर मात्रै समाजवाद आउँदैन । समाजवादी अभ्यास त पहिले आफूभित्र गर्नुपर्‍यो । पार्टी कमिटीभित्र लागु गर्नुपर्‍यो,” उनले बैठकमा भने । 

उनले दोहोरो जिम्मेवारीले पार्टी र सरकारको काममा असर परेको भन्दै उक्त समस्याको समाधान गर्न माग गरेका छन् । पार्टीको नेतृत्व र सरकारको जिम्मेवारी एउटै व्यक्तिलाई दिन नहुने माग उनको छ । 

“दोहोरो जिम्मेवारीले गर्दा निरन्तर पार्टीको काम गर्दा सरकारको काम ओझेलमा पर्ने भयो । सरकारको काममा ध्यान दिँदा पार्टी ओझेलमा पर्‍यो । त्यही कारण हरेक कमिटीका बैठक समयमा हुन नसकेका छैनन् । एउटै व्यक्ति गाउँपालिका अध्यक्ष छन् । तिनै मान्छे वडााध्यक्ष, प्रदेश मन्त्री छन् । केन्द्रमा पनि त्यस्तै भयो,” उनले बैठकमा भने, “सबैतिर यो चरणमा पार्टी र यो चरणमा यसले सरकार हेर्ने भनेर पार्टीले जिम्मेवारी तोक्यो भने पार्टी र सरकार चुस्त हुन्छ । त्यो गर्नुपर्‍यो । भूमिका पूरा गर्नुपर्‍यो ।”

Maobadi Kendriya Samiti (1)1690988801.jpg

'विदेशमा रहेकाले मत पठाए, साइबार दस्ता बनाऔँ'

केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले विदेशबाट पैसासँगै मत समेत आउने भन्दै त्यसमा ध्यानदिनुपर्ने औँल्याएका छन् । पार्टीहरू पुरानै सोचबाट माथि उठनुपर्ने सुझाव उनको छ । 

“६० लाख मान्छे विदेशमा छन् । पहिले तिनीहरूले पैसा मात्रै पढाउँथे । सामाजिक सञ्जालका कारण उनीहरूले अहिले पैसा मात्रै पठाउँदैनन् । उनीहरूले विचार, मत, धारणा, यसमा भोट हाल्नु भनेर पठाउँछन् । यसमा भोट नहाल भनेर पनि पठाउन थालेका छन्,” बस्नेतले बैठकमा भने, “नेपालको परम्पराग सोच्ने तरिका, समाजको व्यवस्था, राजनीतिक, अर्थव्यवस्थामा परिवर्तन आएको छ । तद्अनुसार राजनीतिक पार्टी र नेतृत्वले त्यो आधारमा दृष्टिकोण नबनआए आउटडेटेड हुने सम्भावना छ । पछिल्लो हावालाई बुझेर अघि बढ्नुपर्छ ।”

उनले नेतृत्वको देवत्वकरण र आलोचना मात्रै नगर्न नेताहरूलाई आग्रह गरे । “नेतृत्वको देवत्वकरण र आलोचना नै पार्टी काम हो भन्ने यी दुवै कुरा गलत छ,” बस्नेतले बैठकमा भनेका छन्, “सहीको समर्थन र गलतको आलोचना गर्नुपर्छ । आफ्नो भागमा परेको काम गर्नुपर्‍यो ।”

बस्नेतले सामाजिक सञ्जालमा प्रत्येक प्रदेशमा पाँच सयको संयन्त्र बनाउन पनि सुझाएका छन् । 

“सातवटा प्रदेशमा सूचना प्रविधि साइबार, समाजिक सञ्जालबाट प्रतिवाद गर्न प्रत्येक प्रदेशका पाँच सय दस्ता बनाउनुपर्‍यो । समय बदलिएको छ । कुनै बेला लड्ने हतियार अरू थिए भने आजको हतियार त्यो हो,” बैठकमा राखेको धारणा बाह्रखरीलाई सुनाए, “सही कुरालाई स्थापति र गलत कुरालाई प्रतिवाद गर्न संयन्त्र बनाउनुपर्‍यो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement