
काठमाडौं । नेपालबाट सन् २०२२ मा ५१ करोड ५४ लाख अमेरिकी डलरको आईटी सेवा तथा उत्पादन निर्यात भएको छ ।
यो निर्यातमा आईटी कम्पनीको हिस्सा २० करोड १३ लाख रहेको छ भने आईटी फ्रिलान्सरको हिस्सा ६९ लाख ६० हजार रहेको छ । यस्तै, आईटीईएस फ्रिलान्सरहरुले २४ करोड ४५ लाख अमेरिकी डलरको निर्यात गरेका छन् ।
आईटी क्षेत्रको सेवा निर्यातले नेपालको जीडीपीमा १.४ प्रतिशत र फरेक्समा ५.५ प्रतिशतको योगदान गरेको छ । सन् २०२२ सम्ममा आईटी क्षेत्रमा काम गर्ने फ्रिलान्सरको संख्या ६६ हजार ५०९ पुगेको छ ।
एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस)ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । आईटी क्षेत्रमा काम गर्ने फ्रेसरले वार्षिक दुई हजार ८१० डलर आम्दानी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
मध्यम लेबलकोले ६ हजार ३०० अमेरिकी डलर र सिनियर लेबलको आईटी क्षेत्रमा काम गर्ने व्यक्तिले १५ हजार ३२२ डलर अर्थात् करिब २० लाख नेपाली रुपैयाँ गर्ने आम्दानी गरेको आईआईडीएसको अध्ययनले देखाएको छ ।
यस्तै, फ्रिलान्सरहरुले वार्षिक चार हजार ७०० अमेरिकी डलर आम्दानी गर्ने गरेका छन् ।
सन् २०२२ मा नेपालको आईटी क्षेत्रको निर्यात अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ६४.२ प्रतिशतले बढेको छ । सन् २०२१ मा ३१ करोड ३९ लाख अमेरिकी डलरको निर्यात भएको थियो ।
यस्तै, नेपालका कम्पनीहरुले सन् २०२० मा ३० करोड ८३ लाख अमेरिकी डलरको आईटी सेवा तथा उत्पादन निर्यात गरेका थिए ।