site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोका कारण बाजुरामा केही परिवार विस्थापित
प्रतीकात्मक तस्बिर ।

बाजुरा । अविरल वर्षापछि बाजुरामा केही बस्ती बाढी र पहिरोको जोखिममा परेका छन् । बिहीबारदेखिको लगातारको वर्षापछि हिमाली गाउँपालिका–३, युना र बौडीका केही परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षापछि युनाका दिपलाल बुढा, जंगबहादुर सुनार, रंगमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षापछि  हिमाली–३, युना र बौडीका पाँच घर भत्किएको बताए । वर्षापछि बौडीमा पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएको छ ।

युनाका १३ परिवार बाढी र पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएकाले मानवीय र पशुचौपायाको कुनै क्षति नभएको प्रहरी निरीक्षक कठायतको भनाइ छ ।

युनाका परिवार युना आधारभूत सहरी स्वास्थ्य केन्द्रमा बस्दै आएका छन् । घर वरिपरि चिरा परेको र घरभित्रबाट पानी निस्केर बग्न थालेपछि उनीहरू विस्थापित भएका हुन् ।

गौमुलका पाँच परिवार विस्थापित
अविरल वर्षाका कारण गौमुल गाउँपालिका–३, बेहरी ढल्काँडाका पाँच परिवार विस्थापित भएका छन् । विस्थापित भएका पाँच परिवार आफन्तको घरमा बसेका छन् । अरू आठ घर जोखिममा रहेको प्रहरी निरीक्षक कठायतले बताए ।

घरमाथिबाट पहिरो आएको र तलबाट नदीले कटान गर्न थालेपछि उक्त बस्तीमा जोखिम बढेपछि ती परिवार पूर्ण रूपमा विस्थापित भएका छन् ।

बाजुरा बाढीपहिरोको उच्च जोखिममा पर्ने जिल्ला हो । साविक २७ मध्ये १६ बढी गाविसको मानवबस्ती सार्नुपर्ने भू–गर्भविद्ले सुझाव दिएका जनाइएको छ । यही सिफारिसका आधारमा वि.सं. २०७२ मा एकीकृत बस्ती विकासको परीक्षणका लागि ७४ करोड रुपैयाँ रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुनसकेको छैन ।

जिल्लाका दुई हजार बढी परिवार अहिले उच्च जोेखिममा देखिन्छन् । वर्षात्का अधिकांश रात ननिदाएरै सुत्नुपर्ने अवस्था यहाँका स्थानीयको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro