साथी अशोकले प्रस्ताव राख्यो, “अर्धाङ्गिनीसहित कैलाश मानसरोवर जाने हो ?”
कैलाश मानसरोवरको आध्यात्मिक/धार्मिक अथवा प्राकृतिक महत्ताबारे मैले जमानादेखि सुन्दै आएको थिएँ ।
त्यही भएर होला – उसका शब्दहरू भुईंमा झर्न पाएका थिएनन्, मनको बन्दीगृहमा पुर्पक्षको नाममा वर्षौंदेखि नजरबन्द रहेको इच्छाबहादुर फुत्त मुख प्रदेशको ढोका हुँदै बाहिर आइहाल्यो ।
“हुन्छ नि ! व्यापारको अवस्था गज्जबको सुस्त भएर फुर्सदिलो भएको छु ।”
हाम्रो मित्रमण्डलीमा अशोक नै एक यस्तो आर्किटेक्ट हो, जसले तीर्थाटन अथवा घुमघामको कल्पनालाई मूर्तरूप दिने मामिलामा पीएचडी नै गरेको रहेछ ! फेरि, पैसो तिरेर पाएको मानार्थ विद्यावारिधि पनि होइन है, ख्याल रहोस् ।
स्कुले विद्यार्थी हुँदादेखि नै सुरु गरिएको पर्यटन अनुसन्धान, अनुगमन, परिचालन र व्यवस्थापनको निरन्तर अभ्यासको प्रतिफल हो, मित्रमण्डलीबाट प्रदत्त यो विद्यावारिधि ।
आषाढ २८ गते नमस्ते होलिडेज टुर्स एन्ड ट्राभल्स प्रालिको व्यवस्थापनमा स्वस्तिवाचन र टीकाटालोका साथ हाम्रो १३ सदस्यीय टोलीको बसयात्रा सुरु भयो ।
हुन त ट्राभल्स कम्पनीको व्यवस्थापनमा ८० भन्दा बढी तीर्थयात्रु सो यात्रामा सामेल थिए, तथापि हाम्रो टोलीका लागि आयोजक संस्थाका तर्फबाट यात्रा व्यवस्थापकको रूपमा सन्तोष खतिवडा खटिएका थिए ।
यता यात्रा सुरु भयो, उता इन्द्रदेव आफ्नो काममा जुटिहाले । खासमा काकाकुल धर्ती र पानीको सुखद मिलनको अवसरमा हाम्रो यात्रा सुरु हुनु राम्रै लक्षण थियो ।
तथापि, किन हो कुन्नि, बाटोचाहिँ अलिअलि रिसाएर ठुस्स परेको जस्तो लाग्यो । नुवाकोट पुग्दा केही भनेन, बेत्रावती बजार पुग्दा पनि मौन रह्यो । धुन्चे पुग्दा पनि मुख खोलेन । रसुवागढी पुग्नुभन्दा १० किलोमिटरअगाडि उसको रिस पोखाइ बल्ल सुरु भयो ।
हिलाम्मे बाटोको झापड खाएर हामी यात्रारत बसको चक्का घरी खोलातिर चिप्लिन खोज्ने, घरी पहाडसित ठोक्किन खोज्ने ! कतिपय ठाउँमा बस उक्लिन नै नसक्ने । गुरुजीले जति एक्सिलेटर थिचे पनि चक्का घ्यारघ्यार मात्र गरिरहने । खाल्टो झनै गहिरो हुने र नाक ठुस्स हुने गरी टायर जलेको गन्ध मात्र आउने ।
ठ्याक्क त्यही बेला दुर्बल मनले मौकामा चौका हानिहाल्यो । ‘तीर्थयात्रामा हिँडेको फलानो बस चिप्लेर भीरमा खस्यो’ जस्ता मन नै रुवाउने पुराना समाचारहरू मनभित्र जडित ९६ इन्चे स्मार्ट टेलिभिजनमा पुनः प्रसारित हुन थाले ।
बसबाट ओर्लिन पनि नहुने, गाडी जति वजनदार हुन्छ, चक्काले बाटोलाई त्यति नै च्याप्ने हो रे ! जे होस्, जेनतेन ड्राइभरको सहायकले रिसाहा बाटोलाई फकाउने जुक्ति जानेको रै’छ ।
ठामठाममा ढुंगामुढा ओछ्याउँदै गाडी बढाउँदै गरे । हामी रसुवागढी पुग्दा नपुग्दै सीमापारि जाने समय सकिएको थियो । फलतः राति त्यहीँको वास हुने भयो ।
वास बस्यौँ त्यहीँको यंघाला नामक एक नवनिर्मित होटेलमा । भोकाएको आन्द्राले शुद्ध शाकाहारी नेपाली खाना पायो । थाकेको ज्यानले सफासुग्घर कोठा पायो । अन्तस्करणले प्रतिक्रिया जनायो, ‘मोगाम्बो खुश हुआ !’
अर्को दिन पनि बिहान सिमसिमे पानी पर्दै थियो । रेनकोट भिरेर बाटोको हिलोपानीबाट जोगिँदै, थोरै पैदल हिँड्दै आठ बजे नेपाल–चीनको सिमानामा हामी पुग्यौँ ।
अध्यागमनका लागि लाम लाग्यौँ । प्राविधिक समस्याका कारण झन्डै चार घण्टा कुर्नुपर्यो । त्यहाँ जब्बर आकारका मोटरसाइकल र चारचक्के गाडी चढेर नेपाल घुमघाममा आएका चिनियाँ युवाहरू पनि देखा परे ।
वाउ, पर्यटन एकतर्फी रहेनछ ! मनमनै गुने ।
खैर, चीन क्षेत्रमा प्रवेश गर्न लाग्दा सुरक्षा जाँच र अध्यागमन प्रक्रियामा कडाइ बाक्लै थियो । अनौठो लाग्यो, प्लेन चढेर चीन जाँदा यतिका समय लागेको अथवा कडा जाँचपासको कहिल्यै सामना गर्नुपरेको थिएन ।
जे होस्, भौतिक संरचना अपेक्षा गरिएको भन्दा पनि राम्रो थियो । हाम्रो सिमानामा पनि ठ्याक्क यस्तै भौतिक संरचना भएको भवन बन्दै गरेको हामीले आफ्नै आँखाले हेरेका थियौँ ।
आस गरौँ, निर्माणकार्य सम्पन्न गर्न तोकिएको म्याद चारपटकभन्दा बढी फेल नहुँदै त्यो भवनमा कामकाज सुरु हुनेछ ।
पारिको चिनियाँ सीमान्तकृत सहर जिलोन नगरमा गोडा टेक्दा बाटोमा नेपाली नम्बरका कन्टेनर ट्रक लामबद्ध रूपमा देखापरे । अधिकतम ट्रक नम्बर त नारायणी अञ्चलकै थिए ।
बीवाईडी लोगो लागेका दर्जनजति नयाँ विद्युतीय कार नेपाल प्रवेशका लागि पार्किङ गरिएको पनि देखिए । जता आँखा गयो, नेपाली गाडीका ड्राइभरहरू एकापसमा गफिँदै गरेका भेटेँ ।
अनि सम्झिएँ, वीरगन्ज–रक्सौलको सीमाक्षेत्रलाई । संरचनात्मक फरकबाहेक खासै फरक लागेन मलाई । जिलोनबाट केरुङ नगरका लागि हिँड्दा अनेक ठाउँमा थप जाँचपास गराउनुपर्यो, त्यो पनि पानीमा रुझ्दै ।
विकल्प पनि के नै थियो र ! अर्काको घरमा पसेको अतिथिले नियमकानुन त मान्नु नै प¥यो ।
एउटा साथीले ङिच्च हाँस्दै मनको वह पोख्यो, “हामीलाई कमसे कम छिर्न त दिएका हुन् । अन्यथा, अचेल भारतीयहरूलाई छिर्न दिएका छैनन् ।”
केरुङको होटेलमा पुग्दापुग्दै साँझको ६ बजिसकेको थियो । त्यहाँ पनि हामीले शुद्ध शाकाहारी नेपाली खाना पायौँ । खासमा भन्ने हो भने खानपिनका सामान तथा पकाउने मान्छे काठमाडौंबाट नै आएका थिए ।
पानी थामिएपछि हामी एकछिन बजार घुम्यौँ । अधिकतम पसलमा नेपाली सामान र नेपाली पसले नै भेट्टाएँ । एकजना पसलेले जानकारी गराए, “हामीलाई दिनका दिन केरुङ आवतजावत गर्न विशेष अनुमति प्राप्त छ ।” गफिँदै जाँदा उनले थपे, “कुनै बेला केरुङ त हाम्रो नेपालकै थियो नि !”
आफूले पनि थोरबहुत नेपाली इतिहास पढेकोले अनौठो मानिनँ । बरु, मनचाहिँ अलिअलि पोल्यो । एउटा कपडा–लत्ताको पसलमा पस्दा चिनियाँजस्तो देखिने केटी बसेकी थिइन् ।
“ह्वाट्स द प्राइस ?” भाउ सोधियो । “दाइ, यहाँबाट किन किन्नुपरो, हामी आफैँ काठमाडौंबाट लिएर आएका छौँ !,” नेपाली भाषामै जवाफ फर्काइन् ।
जे होस्, सहर सानो तर सफासुग्घर र चिटिक्क परेको लाग्यो । पछि थाहा पाएँ, पुरानो केरुङ त अझै माथि रहेछ । त्यसलाई केरुङ काउन्टी भन्दा हुन् ।
अर्को दिनको यात्रा केरुङ काउन्टी हुँदै ४,५०० मिटर अग्लो स्थानमा अवस्थित सांगा नगरका लागि थियो । जे होस्, बाटो गज्जबको थियो । दुई लेन, कतै एक लेनको भए पनि एकदम चिल्लो । व्यवस्थित र सफा ।
नेपाली गाइडले एउटा औषधि दिँदै सचेत गराए, “बाटोमा ५,२०० मिटर अग्लो गुन्टाला पास भन्ने ठाउँ आउँछ, त्यहाँ गाडी रोक्ने अथवा गाडीबाट ओर्लिने काम एकदमै नगर्नु होला । त्यो पार गरेपछि वाकवाक, बान्ता अथवा टाउको दुखाइ अथवा रिंगटा लागेजस्तो हुनसक्छ । रगतमा अक्सिजनको मात्रा कम भएको देखाउन सक्छ । नडराउनु होला । एक्कासि अग्लो स्थानमा यस्तो हुने गर्छ, अर्को दिन आपसेआप ठिक हुनेछ ।”
हामीलाई इंगित गर्दै उनले थपे, “बरु, तपाईंहरू तातो ठाउँबाट आउनुभएकोले विशेष सावधानी अपनाउनुपर्ला । न्यानो लुगा प्रशस्त लगाउनुहोला । न्यानो टोपीले कान पूरै ढाकेर राख्नुहोला । पानी प्रशस्त खानुहोला । चिसो पानी त एक थोपा पनि नखानु होला ।”
हामीलाई लाग्यो, यो गाइड हामीलाई अनाहकमा तर्साउँदै छ ।
पाँचघण्टे सांगा यात्रामा चारैतिरको प्राकृतिक दृश्यावलोकनमा मन रमाइरह्यो । सुरुसुरुमा शृंखलाबद्ध पहाड र फाँटहरू रुखबिरुवाले ढमक्क ढाकिएका देखिए ।
विस्तारै हरियाली घट्दै गयो । टाढाबाट पहाड, पठार र शीतमरुभूमिहरू यस्ता लाग्थे, मानौँ मान्छेको दाढी खौरिएझँै कसैले ती पहाडको दाढी पनि खौरिदिएको होस् ।
अग्लाअग्ला टाकुरा त थिए, चारैतिर अनौठो नीरवता थियो । आकाश पनि एकदम रित्तो, फाटफुट बादलबाहेक चराचुरुंगी समेत थिएनन् । मानवबस्ती त फिटिक्कै देखा परेन ।
हरेक २५/३० किलोमिटरपश्चात् यदाकदा कतैकतै याकहरू चर्दै गरेको देखापरे । लख काटेँ– भित्री भेगमा कतै मानवबस्ती पनि हुनुपर्ने । कतिपय ठाउँमा बिरानो भइसकेका निकै पुराना स–साना घरहरू पनि देखापरे ।
चिनियाँ गाइडलाई सोधेँ । “स्थानीय निर्धनहरूका लागि सरकारले बनाइदिएको थियो । अचेल कोही बस्दैनन् । सबै रोजगारी खोज्दै सहर पसे रे !,” उनले जवाफ फर्काए ।
सांगा नगर ठ्याक्क ब्रह्मपुत्र नदीको छेउमै रै’छ । होटेलमा छिर्दासम्म अक्सिजनको कमीका कारणले होला, हामी सबै यात्री केही न केही मात्रामा प्रभावित भइसकेका थियौँ । प्रायः सबैको टाउको दुख्दै थियो ।
मेरो टाउको झमझम हुँदै थियो । अलि निहुरेर केही टिप्न खोज्दा रिंगटा लाग्लाजस्तो हुन्थ्यो । कतिलाई त बान्ता पनि भयो । लेक लाग्ने कुरो निकै सुनेको थिएँ, तर त्यसको सानो झिल्कोसित त्यस दिन मात्र जम्काभेट भयो ।
अर्को दिन मानसरोवर पुग्न झन्डै ६ घण्टा लाग्यो । मानसरोवरको परिक्रमा र राक्षसतालको अवलोकनका लागि सरकारी बसमै चढ्नुपर्ने । मोटामोटी दुई घण्टाको परिक्रमा अवधिमा एकछिनका लागि भए पनि मानसरोवरभित्र पस्यौँ । पवित्र जल ग्यालेनमा भर्यौं, एकदम नजिकबाट कैलाश पर्वतको दर्शन गर्यौं ।
र, त्यो लोमहर्षक क्षणलाई आफ्नो क्यामेरामा संरक्षित गर्यौं । चिनियाँ समयानुसार त्यहाँ रातको आठ बजिसक्दा पनि सूर्यनारायण उज्यालो घामसहित आप्mनो दैनिकीमा सक्रिय नै थिए ।
बसाइको व्यवस्था स्थानीय धर्मशालामा गरिएको थियो । समय, स्थान र परिस्थितिको हिसाबले व्यवस्था सर्वश्रेष्ठ थियो । तर, ट्वाइलेट आदिका लागि ट्वाइलेट अथवा टिस्यु पेपरका साथ निकै पर खुला चउरमै जानुपर्ने ।
गोजीमा जति गर्मी भए पनि त्यहाँ केही काम नलाग्ने ! अँध्यारो हुनेबित्तिक्कै बंगारा गुनगुनाउने गर्ने गरी हावाको दबाब ह्वात्तै बढेको थियो । आयोजक संस्थाले खानपिनको व्यवस्था कोठाभित्रै गरिदिएकाले अलि सजिलो भएको थियो ।
बाहिर जति चिसो भए पनि ओछ्यान एकदम आरामदायी र न्यानो नै थिए । ढोकाको भित्री चुकुल बिग्रेको हुनाले त्यतिकै ढोका ढप्काएर ओछ्यानमा पस्यौँ । ओछ्यानमा पल्टिएकोे मिनेटभरमै निद्रालोकमा पुगिसकेको थिएँ ।
राति दुई बजेतिर कोही मान्छे कोठाभित्र छिरेको भान पाएर एक्कासि आँखा खुल्यो । टर्च बालेर थाहा पाउने प्रयास गरेँ, कुनै महिला रै’छन् । आफ्नो कोठा ठ्याक्क ठम्याउन नसकेर पसेकी रहिछन् ।
केही बेरपछि पुनः नयाँ आकृति प्रवेश गर्यो । टर्च बालेर हेरेँ, कोही वृद्धा थिइन् । उपल्लो भागमा एउटा पातलो भेस्ट थियो, तल्लो भागमा क्यै थिएन । थुरथुर काम्दै थिइन् । हाउभाउबाट बुझ्न बेर लागेन, उदर खन्याउने ठाउँ खोज्दै थिइन् ।
आफ्नै आँखालाई लाज भयो । “यता कोठामा होइन आमा, बाहिर चउरमा बस्नोस् ।” भन्न त भनेँ, तर मनमा चिन्ताभाव घनीभूत हुन थाल्यो– बिचरी अबोध हुन्, औँसीको मध्यरात्रिमा सहयोगका लागि कसलाई याचना गरोस् ?
‘बाहिर चउरमा बसेकी वृद्धालाई चिसोले हान्यो भने के होला ?’ के गरूँ कसो गरूँ भनेर केही बेरसम्म मनमा उहापोह चलिरह्यो ।
‘होइन, आफूले सकेसम्म सहयोग त गर्ने हो’ भन्ने मनसायका साथ न्याना लुगा भिरेर कोठाबाहिर आएँ । तर, ती वृद्धा कहीँ देखा परिनन् । चारैतिर अनौठो शान्ति थियो, मानौँ त्यो परिसरमा रहेका सम्पूर्ण मनुवा त्यहाँको मौनतामा समाहित भइसकेका होऊन् ।
ती आमा सुरक्षित आफ्नो कोठामा फर्किसकेकी होलिन्– मनमनै स्वयम्लाई आश्वस्त पार्ने प्रयास गरँे ।
हठात् आकाशतिर ध्यान गयो । त्यता दृष्टिगोचर हुँदा मन्त्रमुग्ध नै भएँ । औँसीको रात, आकाशभरि ताराहरू टिलिकपिलिक गर्दै थिए । सिंगो आकाश नै केही तल आएको भान भयो । निकै बेरसम्म त्यसैमा हराइरहेँ, मानौँ समय नै थामिएको होस् ।
बाल्यकालको सम्झना भयो, पहिलापहिला वीरगन्जको आकाशमा पनि यस्तै ताराहरू टिलिकपिलिक गर्थे, अचेल कुन्नि कता गएका छन्, देखा पर्दैनन् ! दिवंगत आत्मजनहरूको सम्झना भयो, तारा मात्र किन, पहिलापहिलाका मान्छे पनि कुन्नि कता गए ? कहिल्यै फर्किएर आएनन् ।
चिसो बतासले असह्य भएपछि कोठाभित्र फर्किएँ, तर निद्रादेवी अन्यत्र कतै व्यस्त भएकी थिइन् सायद ! ओछ्यानमै पलेँटी कसेर केही बेर ध्यानमग्न हुने प्रयास गरेँ ।
कैलाशपतिलाई सम्झेँ, त्यहाँ विराजमान अदृश्य शक्तिहरूलाई अभिवादन गरेँ । सृष्टिका रचयिताप्रति आभार प्रकट गरेँ । आफ्ना हितैषीहरूलाई सम्झिएँ, आफूप्रति नकारात्मक भाव राख्नेहरूलाई सम्झिएँ ।
सबैप्रति मंगलमैत्रीको मानसिक सन्देश सम्प्रेषित गरेँ । यिनै कुरामा समय कसरी बित्यो भेउ नै पाइनँ ।
चार बज्दा नबज्दै अन्य साथीहरू बिउँझिन थालिसकेका थिए । नित्यकर्म सकाएर स्नानका लागि हामी मानसरोवरतिर हिँड्यौँ । ६ बज्दासम्म अँध्यारोको साम्राज्य कायम नै थियो ।
उत्तरदक्षिण, पूर्वपश्चिम केही थाहा लागिराखेको थिएन । विस्तारै मिरमिर सुरु भयो । मिरमिरेकै भरमा नुहाउन सुरु गर्यौँ । क्षितिजमा आकाशको रङ फेरिन सुरु भइसकेको थियो ।
हामीलाई सरोवरमा छिरेर नुहाउने अनुमति थिएन, त्यहाँ भएका सहयोगीहरूले बाल्टीमा जल ल्याइदिएका थिए । जल छाम्दा बरफजत्तिकै चिसो । डराउँदै, अनकनाउँदै बमबम भोलेको नारा लगाउँदै दुईतीन मग जल ज्यानमा खन्यायौँ । र, थुरथुर काम्दै लुगा फेर्यौँ ।
लगत्तै सूर्यनारायण पनि सुन्तला रङको आवरण धारण गरेर प्रकट भए । सूर्यनारायणवmो विम्ब मानसरोवरमा प्रकट हुँदा दृश्य झनै लोमहर्षक भएको थियो । सरोवरको जल हत्केलामा भर्दै सूर्यनारायण र पितृगणलाई समर्पित गर्यौँ ।
महिला सहयात्रुहरूले पूजाअर्चनाका सामग्री वीरगन्जबाटै लिएर हिँडेका थिए । त्यही सामग्रीलाई ठिकठाक पारेर पूजाअर्चनामा सबै तल्लीन भयौँ ।
खानासाना खाएर कैलाश परिक्रमाका लागि दोर्चेनतिर हिँड्ने योजना थियो । तर, केही साथीहरूको अक्सिजनस्तर ६० मुनि झरेको थियो । यसर्थ, प्रबल इच्छा हुँदाहुँदै अझै अगाडि बढ्ने आँट भएन । त्यहाँ रहेका स्वयंसेवकहरूले ६० मुनि अक्सिजन भएकाहरूलाई सक्दो चाँडै काम सकाएर तल झर्न सल्लाह दिए ।
एउटै समूहका रूपमा गएका साथीहरूमध्ये एकजना साथी पनि छोडेर पदयात्रामा हिँड्न कसैको पनि मन मानेन । हामी त्यहीँबाट फिर्ती यात्रामा लाग्यौँ ।
जसरी भए पनि त्यही दिन केरुङ पुगिहाल्न जरुरी थियो । सामान्यतया दुई दिनमा सकाउनुपर्ने यात्रा हामीले दश घण्टामा सकायौँ ।
केरुङ पुग्दा नपुग्दै सबैको अक्सिजनस्तर ९० भन्दामाथि पुगिसकेको थियो । लेक लागेका साथीहरू पनि तंग्रिइसकेका थिए ।