सुष्मा दाहाल
मैले लामो समयदेखि
तिम्रो उपस्थितिको
प्रतीक्षा गरिरहेँ,
अझै पनि गरिरहेछु ।
जसरी लामो बेखुसीपछि
खुसीको आशा गरिन्छ,
जसरी आपट्टेको लामो
खडेरीपछि
घनघोर वर्षाको आशा गरिन्छ,
हो, हो
त्यसरी नै मैले तिम्रो उपस्थितिको
आशा गरिरहेँ,
गरिरहनेछु ।
यो आशाको स्वप्नील घडीमा
मनभित्र कतै सुकुन छ त कतै
भीषण द्वन्द्व पनि चलेकै छ
म द्वन्द्व र सुकुन दुवैको बीचमा छु
दोसाँधमा छु, निकटमा छु, सान्निध्यमा छु
तर पनि,
तुफान चलेको बेला
मडारिएर उठेका
सामुद्रिक छालहरूजस्तै
भित्रभित्रै
मन मडारिए पनि
बाहिर शान्त, शालीन र सौम्य बनेर
म तिम्रो सारगर्भित उपस्थितिको
प्रतीक्षा गरिरहेछु ।
हुन त सबै प्रतीक्षाहरूको
सुखद भेट बन्ने भाग्य हुँदैन, थाहा छ
ऋास गरिएका सबै वस्तुहरू
प्राप्त हुँदैनन्, थाहा छ
यति बुझ्दाबुझ्दै पनि
तिम्रो उपस्थितिको सुन्दर पलको
सुन्दर परिकल्पना नगरी
मनले मान्दै मान्दैन ।
तिमी आयौ कि कतै भनी
लमतन्न गोरेटोभरि
घरीघरी नियाली रहन्छन्
यी निष्कपट नयनहरू
कत्ति पनि नथाकी,
कत्ति पनि नहिच्किचाइ
जसरी युगौँको बिछोडपछि
वियोगान्तमा तड्पिएका
कुनै प्रेमिल जोडीहरू
खुसीले फुरुंग हुन्छन्
उमंगको उभार
छाएको हुन्छ चारैतिर ।
हो, हो
म पनि त्यसरी नै साँझ–बिहान नभनी
तिमी फर्किने थुम्का,
चौबाटो र देउरालीभरि
तिम्रो उपस्थितिमा स्वागतका लागि
आशाको सुकोमल सतरन्ज बिछ्याएर
पर्खिरहेछु, पर्खिरहेछु !
हुन त मेरो यो पर्खाइ
तिम्रो लागि कति महत्त्वको छ
म बुझ्दिनँ र बुझ्न चाहन्नँ पनि
मैले पर्खंदैमा तिमी
फर्कन्छौ भन्ने पनि त होइन
बुझ्छु, बुझ्दाबुझ्दै पनि
अबुझझैँ बन्छु, किन हो !
यही प्रतीक्षाको परिणति होला सायद
कहिलेकाहीँ
कविताका शब्दहरूमा आँसुका
ताल छचल्किन पुग्छन्
अनि, आँसुमय बन्छ कविता
लाग्छ, मेरा आँखाहरूमा
विशाल समुद्र अटेको छ ।
आफू हराउँदा कसैले
खोजोस् नखोजोस्
खोज्छ खोज्दैन
महत्त्वको कुरा पनि भएन
तर, तिम्रो अनुपस्थिति मेरो लागि
निर्जन अनकन्टारझैँ अत्यास लाग्दो बन्छ
कतै लामो यात्राबीच निसा लागेर
हराएझैँ लाग्छ
यस्तैयस्तै विरोधाभास
र
अकिञ्चनहरूबीच
हराउँदै बिहानी हुन्छ,
साँझ पर्छ
अनि, बितिदिन्छ रातहरू ।
मलाई माया गर्ने मान्छे
तिमी लामो यात्रा
तय गर्दागर्दै
बीचबाटोमै छुटिदियौ
थाहा छ मलाई
हरायौ, बिलायौ,
मेटियौ, थाहा छ
तर पनि मेरो मन, मुटु र ढुकढुकीमा तिमी
जीवित छौ
साथमा छौ सहयात्री बनेर
हरेक सहजता असहजतामा एकसाथ छौ ।
सोच्दासोच्दै
अनायासै म बग्न थाल्छु परेलीहरूमा
तर पनि तिमी फर्किने आस डगमगाउँदैन
तिमी आउने बाटो नियालिरहने मेरो
दिनचर्या बदलिँदैन
जसरी लामो खडेरीपछि
वर्षाको आशा गरिन्छ,
जसरी लामो वियोगपछि
मिलनको आशा गरिन्छ,
हो, म त्यसरी नै तिम्रो सुन्दर
आगमनको प्रतीक्षा गरिरहेछु
यो युगमा सम्भव भएनछ यदि भने
अर्काे युग रचौँला
तर तिमी फर्की आऊ है !