site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डमाथि खनिए ओली, भने–सत्ताको लडाइँ निर्मम हुन्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि खनिएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीले आरोपमाथि आरोप लगाए । 

उनले तत्कालीन नेकपा बन्दा पार्टी एकता भनिए पनि 'मिक्सअप' नै नभएको दाबी गरे । 

Argakhachi Cement Island Ad

“माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन । कतिवटा संगठन नै एकता भएन  । एकता भनिए पनि तेल एकातिर पानी एकातिर,” ओलीले भने, “मिक्सअप नै भएन । हुनै दिइएन ।”

उनले नेकपाका तत्कालीन अध्यक्ष प्रचण्डले त्यतिबेला छुट्टै पार्टी चलाएको आरोप लगाए । उनले प्रचण्डले एमालेको रकम खाएको आरोप पनि लगाउन भ्याए । 

“प्रचण्डले आफ्नो पार्टी अलगै राखे । मिटिङ बैठक अलगै गरिराखे । आफ्नो कार्यालय जीवित नै राखे । आफ्नो हिसाबकिताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले । एमालेको रकम खाए । एमालेको रकम पिए,” ओलीको आरोप छ, “सबै गरे । एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । बैंकमा भएको हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् ।”

प्रचण्डले पार्टी कब्जा गर्ने उद्देश्य राखेकाले त्यस्तो गरेको आरोप ओलीको छ । 

Oli1690551991.jpg

प्रचण्ड कांग्रेसको काँधमा कान समातेर हिँडेका छन्, कांग्रेस लुरुलुरु 

ओलीले प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड नेपाली कांग्रेसको काँधमा बसेको टिप्पणी गरे ।  उनले आफूले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भनेर नसोचेको पनि बताए ।  कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै उनले कटाक्ष गरे । 

“कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त,” उनले हाउभाउका साथ भने, “अहिले कांग्रेसको दुईपट्टि टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टि झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिँड्याछन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।”

उनले कांग्रेस भ्रष्टाचारकै विरुद्ध चुँ बोल्नै नसक्ने आरोप लगाए । 

राजाको वंश विनाशबारे जे भने...

ओलीले सत्ताको लडाइँ निर्मम हुने भन्दै इतिहासले यस्तो देखाएको बताए । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको आरोपसमेत ओलीले लगाए । उनले तत्कालीन राजा विरेन्द्रका वंश नाश सत्ताको लडाइँमा भएको बताएका हुन् । 

“कति निर्मम हुँदो रहेछ सत्ताको लडाइँ । आफ्नैले आफ्नैलाई, आफ्नै पुजनीयलाई आफैँले...। दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा,” ओलीले भने, “जो मारिएको छ, उसकै टाउकोमा, सप्पैलाई मार्‍यो, यताबाट लगेर गोली हान्यो रे के, चलायो दाहिने हातल पेस्तोल अरे, तर यतापट्टि लगेर बडो अप्ठेरोसँग हाने छ । यस्ता आरोप लगाउँछन् राजनीति ।”

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्