सुनिता निरौला पौडेल
“हामीले दुःख गरेअनुसार यसपटक बुटामा धेरै आँपहरू फलेका छन् छोरा,” खुसी मुद्रामा बा बोले ।
“हो र बा ! यहाँ आँप कस्तो महँगो छ, एक सय रुपैयाँ किलो भन्छन् । यसपालि त बिक्री गर्दा पनि अलिक दाम आउँछ होला ?,” सहरमा पढ्न बसेको छोराले भन्यो ।
गाउँमा व्यापारीहरू आँप फलेको बगानमा गए । अनि, मोलमोलाइ गर्न लागे ।
“के गर्नु बाजे ! यो वर्ष जताततै आँप फलेका छन्, सबैतिर सस्तो नै छ । अलि मिलाउनुभयो भने मात्रै लिने । नत्र.. ! पल्लाघरे काइँलाले’नि आउनु न मिलाएर दिन्छु भन्दै थिए ।”
“हेर्नुस्, आँपमा कति लगानी गरेका छौँ, हामी किसानले । बजारमा महँगोले बिक्री भइरहेको छ त ! सरकारले पनि किसानले आफूले पाउने परिश्रम र ज्याला पाउनुपर्छ भन्दै छ ।”
“के गर्नु, सरकारले आएर किन्ने हैन त बाजे ! हामीले नकिने तिमीहरूको कसले पो किन्ला र ?”
“म त २० रुपैयाँ किलो कसरी दिन सक्छु र ! सहरमा एक सय रुपैयाँ किलो हुँदा कम्तीमा हामी किसानले त ४० रुपैयाँ किलोसम्म पाउनुपर्ने हो नि !”
“हेर बाजे, मलाई धेरै कुरा गर्न आउँदैन ! दिने भए एड्भान्स दिएर जान्छु,” दम्भका साथ भन्यो उसले ।
‘भोलि सल्लाह गरेर भन्छु है’ भन्दै बाजे घरभित्र छिरे ।
“छोरा, भोलि म सहर आउँछु र सरकारसँग हामी सबै किसानहरूको पीडाबारे बताउँछु । हामीले पाउनुपर्ने ज्याला यी बिचौलियाहरूले गर्दा खै पायौँ त ?,” बाले खुइय्य गर्दै निधारको पसिना टोपीले पुछ्दै दिक्क लाग्दो स्वरमा बोले ।