
नरैनापुर । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।
नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने मुकेरीले बताए ।
“यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो । लागत पनि बढी पर्थ्यो । तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ,” उनले भने । नरैनापुरबाट पहिलो दिनमा तीनजनाले उक्त सेवा लिएका छन् ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले बताए ।