site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश प्रमुख, मुख्यमन्त्री थापाले पठाए सर्वोच्चमा जवाफ– सरकार गठन संवैधानिक

विराटनगर । कोसी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सरकार गठनका विषयमा सर्वोच्च अदालतबाट माग गरेअनुरूप लिखित जवाफ पठाएका छन् । सरकार गठन संवैधानिक प्रक्रियाले नै भएको जिकिर गर्दै अदालतमा जवाफ पठाएको जनाइएको छ ।

कोसी प्रदेश सरकार गठन प्रक्रिया नै अवैधानिक भन्दै नेकपा (एमाले)का कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उनले परमादेशमार्फत आफूलाई सरकार सञ्चालनको जिम्मेवारी तोक्न माग गरेका थिए ।

गएको असार २२ गते तत्कालीन मुख्यमन्त्री कार्कीले मुद्दा दायर गरेका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै असार २७ गते सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारलाई आदेश दिएको थियो । त्योसँगै नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापा नेतृत्वको सरकार कामचलाउ हैसियतमा छ ।

अदालतले माग गरेअनुरूप समयमै महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पठाइएको कोसी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए । “संविधानमा उल्लेख भएअनुरूप धारा १६८ (२) अनुरूप सरकार गठनका लागि दलहरूलाई आह्वान भएको र सोही प्रावधानलाई टेकेर नै बहुमत पुर्‍याएका दललाई सरकार गठन गराएको जवाफ सर्वोच्चमा पठाइएको हो,” श्रेष्ठले भने ।

कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत पुर्‍याएर सरकारमा दाबी पेस गरिएको थियो । त्यसरी सरकार गठन गरिनु असंवैधानिक भन्दै कार्की अदालत पुगेका थिए ।

सभामुखको पदभार ग्रहण गरेपछि गौतम स्वतन्त्र हैसियतमा पुगेको एमालेको जिकिर छ । तर, सत्ता गठबन्धनमा आबद्ध दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले गौतमसहित सांसद संख्या ४७ पुर्‍याएर सरकार गठनमा दाबी पेस गरेका थिए । सभामुख गौतम माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री थापाले सर्वोच्चमा आफ्नो लिखित जवाफ पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री थापाको सचिवालयका अनुसार प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयमार्फत बुधबार सर्वोच्चमा लिखित जवाफ पठाइएको छ ।

“संविधानले नै व्यवस्था गरेअनुरूप दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठन गर्न दाबी पेस गरेका हौँ,” मुख्यमन्त्री थापाले पठाएको पत्रमा उल्लेख छ ।

सर्वोच्चले निवेदक कार्कीले अदालतसमक्ष दिएको रिटमाथि सुनुवाइ गर्दै साउन ३ गतेभित्र महान्यायाधिवक्ता÷मुख्य न्यायाधिवक्ताको कार्यालय कोसी प्रदेशमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो ।

सभामुख गौतमले २०७९ पुस २८ गते सभामा ‘राजनीतिक दलसँग आबद्ध नरहेको’ भनी घोषणा गरेका थिए ।

अदालतले थापालाई मुख्यमन्त्री नियुक्त गर्दा पेस गरिएको प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षरको सक्कल प्रति फाइल झिकाउन आदेश दिएको थियो । सर्वोच्चले यही साउन ७ गतेका लागि अर्को पेसी तोकेको छ । 

एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जसपा गरी ६० सांसदको समर्थनमा कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जसपाले जेठ १७ र माओवादीले जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । अल्पमतमा परेका कार्कीले असार १५ गते विश्वासको मत लिन नसकेपछि उनको सरकार ढलेको थियो ।

त्यसपछि थापाको नेतृत्वमा सरकार गठन भएको हो । कोसी प्रदेशसभामा ९३ सांसद छन् । बहुमतका लागि ४७ सांसद संख्या आवश्यक पर्छ । एमालेका ४० र उसलाई साथ दिएको राप्रपाका ६ गरी ४६ सांसद छन् । गठबन्धनसँग कांग्रेसका २९, माओवादीका १३ (सभामुख समेत), एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro