काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा बंगलादेश ‘ए’ले अफगानिस्तान ‘ए’ विरुद्ध २१ रनको जित निकालेको छ ।
मंगलबार श्रीलंकाको पी सारा ओभलमा सम्पन्न खेलमा बंगलादेशले प्रस्तुत गरेको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८७ रनमात्र बनाउन सक्यो ।
अफगानिस्तानका रियाज हसनले ७८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । बहिर साहले ५३ रन जोड्दा नुर अली जद्रान र कप्तान सहिदुल्लाहले समान ४४ रन बनाए ।
इजारुलहक नाविदले १५ र सरिफुदीन अस्रफले १४ रन जोडे ।
बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए । सौम्य सरकार र रकिबुल हसनले समान दुई विकेट लिए । रिपोन मोन्डोलको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३०८ रनको योगफल खडा गरेको थियो ।
बंगलादेशका महमुदुल हसन जोयले १०० रन बनाए । जोयले ११४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।
जाकिर हसनले ६२, सौम्य सरकारले ४८, मेह्दी हसनले ३६, मोहम्मद नइमले ८ र रकिबुल हसनले १५ रन थपे ।
अफगानिस्तानका मोहम्मद सलिमले चार विकेट लिएका थिए । मोहम्मद इब्राहिम, जिया–उर–रेहमान र इजारुलहक नाविदले समान एक विकेट लिए ।
अफगानिस्तानको यो हारले समूह ‘बी’ मा तीन टिमको सेमिफाइनल प्रवेश सम्भावना खुला बनेको छ । जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक नै जोडेको अफगानिस्तान तालिकाको तेस्रो स्थानमा छ । यस्तै, समूहको शीर्ष स्थानमा रहेको श्रीलंकाले पनि तीन खेलबाट चार अंक नै जोडेको छ । तीन खेल खेल्दा पनि अंकविहीन ओमान भने समूह चरणको अन्तिम खेलअगावै बाहिरएको छ ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुने छन् ।
प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।