काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा घरेलु टिम श्रीलंकाले बंगलादेशविरुद्ध ४८ रनको जित निकालेको छ ।
बिहीबार श्रीलंकाको कोलम्बोस्थित सिंहालिज स्पोर्ट्स क्लब मैदानमा श्रीलंकाले प्रस्तुत गरेको ३५० रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४८.३ ओभरमा सबै विकेट गुमाएर ३०१ रनमात्र बनाउन सक्यो ।
बंगलादेशका कप्तान सैफ सहनले ५३ र मोहम्मद नैमले ५१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यसबाहेक, सौम्य सरकारले ४२, रकिबुल हसनले ४०, मेहदी हसनले ३१, जाकिर हसनले २६, तन्जिम हसन साकिबले २२ र मह्मुदुल हसन जोयले ११ रन बनाए ।
श्रीलंकाका प्रमोद मदुसन र दुसन हेमन्थाले तीन–तीन विकेट लिए । सहन अराच्चिगेले दुई विकेट लिँदा चमिका करुणारत्ने र दुनिथ वेल्लालागेले समान एक विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।
श्रीलंकाका ओपनर अभिस्का फर्नान्डोले १३३ रन बनाए गरे । फर्नान्डोले १२४ बलमा १३ चौका र तीन छक्का प्रहार गरे । मिनोद भानुकाले ५७ रन थपे । पसिन्दु सुरियावन्दराले ४३, असेन वन्दराले ३५ रन जोडे । कप्तान दुनिथ वेलालेगाले र लासिथ क्रुस्पुलेले समान ३१ रन बनाए ।
बंगलादेशका रिपोन मोन्डोल र सौम्य सरकारले समान तीन विकेट लिए । रकिबुल हसन र मेहेदी हसनले एक–एक विकेट लिए ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।