काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तान ‘ए’ ले ओमान ‘ए’ विरुद्ध ७२ रनको सहज जित निकालेको छ ।
बिहीबार श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्बल मैदानमा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको २६८ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ४०.३ ओभरमा सबै विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो ।
ओमानका आयान खान र सोएब खानले समान ४७ रन बनाए । कप्तान अकिब इल्यासले ३९ रन जोडे । फयाज बटले १९ र सुभो पलले १० रन थपे ।
अफगानिस्तानका मोहम्मद इब्राहिम र जिया–उर–रहमानले समान तीन विकेट लिए । इज्हारुल्लाह नाविदले दुई विकेट लिँदा सयेद सिर्जाद र सरिफुदीन असरफले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ४९ ओभरमा आठ विकेट गुमाएर २६७ रनको योगफल खडा गरेको थियो । मौसमका कारण एक ओभर घटाइएको खेलमा अफगानिस्तानका जुबैद अकबारीले ७९ रन बनाए ।
कप्तान साहिदुल्लाहले ४५, नुर अली जद्रानले ३५, इक्रम अलिखिलले ३४ र रियाज हसनले २७ रन बनाए । सरिफुदीन अस्रफले २४ र बाहिर साहले ११ रन थपे ।
ओमानका कलिमुल्लाह र अकिब इल्यासले समान दुई विकेट लिए । फयाज बट, जय ओडेड्रा र रफिउल्लाहले एक–एक विकेट लिए ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।