site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोटी–बेटीभन्दा माथि  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

केही दिनअघि भारतका प्रधानधन्त्री नरेन्द्र मोदी अमेरिका आए । अमेरिकामा उनी ‘हाई हाई’ भए । 

‘हाई हाई’ हुनुका खासगरी दुई कारण थिए – एक, अमेरिकामा भारतीयको प्रभावकारी उपस्थिति ।  दोस्रो, पूर्वबाट उदाउँदै गरेको अर्को एउटा सूर्य ।

अहिलेको विश्वमा पूर्वबाट दुइ सूर्य उदाउँदै  छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुइ वटा सूर्य ? 

हो , दुइवटा सूर्य ।

Royal Enfield Island Ad

एउटा सूर्य – भारत ।

अर्को सूर्य– चीन ।

यी दुइ सूर्य, यस ब्रह्माण्डका पछिल्ला नयाँ चमत्कार हुन् । 

औसत मान्छेहरू, यस चमत्कारलाई हल्कारूपमा लिन्छन् । तर, यो चमत्कार त्यति हल्का छैन । जुन चमत्कारले ‘सुपर पावर’ अमेरिकालाई गलाउँदै छ त्यसलाई कसरी हल्का भन्नु ? ।

काडमाडौंका गल्लीमा उग्र राष्ट्रवाद जति उर्लिए पनि दिल्ली र बेइजिङको बाढी असाध्यै तेज गतिमा बढिरहेको छ । यसको साँच्चिकै हेक्का  अहिलेसम्म नेपाली राजनीतिक नेतृत्व र त्यसैको आडमा हुर्केको कथित कूटनीतिक तहमा भएजस्तो देखिएको छैन । 

गाली - मात्र भाव र आक्रोश हो । 

यथार्थ न भाव हो न आक्रोश । 

नेपाली राजनीतिकजन र नेपालीजनले नै पनि कहिले यो कुराको भेऊ पाउलान् ? मलाई थाहा छैन । 

आजको युगमा राष्ट्रवाद प्रतिक्रिया होइन, क्रिया हो । यो प्रतिक्रिया र क्रियाको खेल जस्ले बुझ्छ उसैले बाजी मार्छ । 

दूर्भाग्यवश, यो खेल बुझ्ने सामान्य ताकत पनि नेपाली राजनीतिक नेतृत्वले राख्दैन ।  पूर्वप्रधानमन्त्री के पी ओलीले सामन्त गोयललाई मध्यरातमा किन बालुवाटारमा भेटे वा अहिलेका प्रधानमन्त्रीले हुरुक्क भएर प्रीतम सिंहको भूमिकाको प्रशंसा गरे ? 

यो सामान्य प्रश्न हो । 

जटिल प्रश्न के हो भने –  नेपाली राजनीति र त्यसको संरचना ‘ग्लोबल पोलिटिक्स’ र ‘डिप्लाेमेसी’को चक्कर धान्ने ताकत राख्छ कि राख्दैन  ? 

मेरो सामान्य चेतले भन्छ– अहँ राख्दैन । 

ताकत के हो ? र किन राख्दैन ? लेख्दै गरौँला । 

ताकतको कुरा गर्दा  विश्वका  ताकतवर देशसँग  नेपालका सम्बन्धका आधारभूत विषयमा एक एक गरेर केलाउँदै जाउँला । 

सुरु आफैँ बसिरहेकै देश अमेरिकाबाट । 

नेपाल र अमेरिकाबीचको आकाशे दूरी कति होला ? १२ हजार ७ सय २५ किलोमिटर । 

यो जमिनको दूरी हैन । आकाशको दूरी हो । 

कल्पना गरौँ, त्यस बेलाको नेपाल,  जतिबेला राणा शाही आफ्नो  शासनका अन्तिम वर्षहरूमा थियो । बाँकी विश्वका लागि नेपालका ढोका बन्द प्रायः थिए । 

भौगोलिक रूपमा एउटा आकार त थियो तर  राज्य , सरकार, चेतना , शिक्षा र  भौतिक विकासका हिसाबले नेपाल  देशजस्तो बनिसकेकै थिएन । आज त अझै नेपाल देश बन्ने प्रक्रियामा छ भने ऊ बेलाको के कुरा ? 

त्यस्तो बेला , १२ हजार हवाइ किलोमिटर परको पाताल लोकको अमेरिका नेपालसँग कसरी जोडिन पुग्यो होला ? म आज बढो उत्सुकतापूर्वक  त्यसको पृष्ठभूमि, सोच र रणनीति  जान्न खोजिरहेको छु  । 

समय  सन् १९४७, अप्रिल २५ । 

छिमेकी  भारत स्वतन्त्र हुनुभन्दा तीन महिनाअघि । 

अर्थात्  नेपाल र अमेरिकाबीच दौत्य सम्बन्धको आरम्भ भएको दिनसम्म  भारत स्वतन्त्र भएकै थिएन । गर्विलो छैन त इतिहास नेपाल अमेरिका सम्बन्धको ! यही सम्बन्धले ७५ वर्ष पूरा गरेको छ ।  

हो, यही सम्बन्धका केही केस्रा यहाँ केलाऊँ । 

गर्विलो इतिहास 

खास इतिहास नेपाल र अमेरिकाबीच औपचारिक सम्बन्ध जोडिएको दिनबाटै सुरु हुन्छ ।  अर्थात्, सन् १९४७ , अप्रिल २५ । 

यो दिनसम्म नेपाललाई जम्मा तीन देश  बेलायत , ब्रिटिश–भारत र फ्रान्सले मात्रै औपचारिक रूपमा  चिन्थे ।  

अलि फूर्ती लगाएर भनौं जतिबेला नेपाल – अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम हुँदै थियो, त्यतिबेला बिल क्लिन्टन वर्ष दिनका पनि थिएनन् ।  हिलारी क्लिन्टन त पेटमै थिइन् । बाराक ओबामा जन्मने छेकछन्नै थिएन । जो बाइडेन जम्मा पाँच वर्षका थिए । डोनाल्ड ट्रम्प जन्मेको एक वर्ष पनि भएको थिएन । 

यसको अर्थ अमेरिकाको अहिलेको राजनीतिक पुस्ताभन्दा जेठो सम्बन्ध छ नेपाल – अमेरिकाबीच । 

यस्तो सम्बन्धको, म बीचको पुस्ताको मान्छेले कसरी वर्णन गरूँ ? 

त्यो बेला संसारभर  दोस्रो विश्ययुद्धकाे क्षति, असर र दीर्घकालीन प्रभावहरू  देखिँदै थिए । 

दोस्रो विश्वयुद्ध अन्त्य भए पनि शीतयुद्ध सुरु हुँदै थियो ।  अमेरिका आर्थिक रूपले भने आश्चर्यजनक नयाँ फड्को मार्दै थियो  । मोटर, हवाई र इलोक्ट्रोनिकल सामानका उद्योग फस्टाउँदै थिए ।  अन्तर्राष्ट्रिय मुद्रा कोष सञ्चालनमा आउँदै थियो । अमेरिकाका सबै प्रकारका प्रभाव संसारभर विस्तार हुँदै थिए – राजनीतिक, सामाजिक, सांस्कृतिक । 

शक्ति , विकास र आधुनिकताको ‘सिम्बोल’ बनिसकेको थियो अमेरिका । 

त्यही ताका हो  नेपाल र  अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित भएको । यतिबेला सम्म पनि नेपाल राणाकालका अन्तिम दिन बेहोर्दै थियो । बाह्य दुनियाँका लागि नेपाल एउटा रहस्यमय र अलि  कुनाको एकान्त देशजस्तै थियो जहाँका राजनितिक , सामाजिक र सा‌स्कृतिक मान्यता त्यति  उदार थिएनन् । बाह्य  मान्छे नेपाललाई ‘भर्जिन’ भन्थे ।  ‘भर्जिन’ हुुनु, रहीरहनु वा नहुनुका गुण वा दोष के हुन् ?  म केही भन्दिन । त्यतातिर म जान चाहन्न । तर, चेतना, शिक्षा, स्वास्थ्य,  मानवअधिकार, प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रताजस्ता कुरामा नेपाल  आधारभूत तहभन्दा पनि कमजोर स्थितिमा थियो । 

अलि ठाडो भाषामा भनौँ – नेपाल ‘चर्पि युगमा’ पनि पुगेको थिएन । 

ऊ बेला नेपाल रणनीतिक दृष्टिलेले अहिलेको जस्तो चर्को महत्त्वको क्षेत्र पनि थिएन । 

त्यस्तो बेलासमेत अमेरिका नेपालसँग जोडिन पुग्नुका तीन अर्थ हुन सक्छन् । 

एक – कि त अमेरिकाले आजको अवस्थाको कल्पना ऊ बेलै गरेको थियो,   यस्तो अवस्था कि चीन कुनै दिन अमेरिकाको चुनौती बन्नेछ । र, त्यसको निगरानी नेपालबाट बढी सम्भव छ । 

दुई – नेपालका आफ्नै महत्त्व र विशेषता छन्, जोसँग जोडिँदा र हात मिलाउँदा शीतयुद्धको विश्व राजनीतिमा नेपाल पनि एउटा महत्त्वपूर्ण साझेदार हुनसक्छ । 

वा तेस्रो – नेपालजस्ताे अति कम विकसित राष्ट्रको आधारभूत विकासका लागि सहयोग गर्नु ‘सुपर पावर’ राष्ट्र अमेरिकाको दायित्व पनि हो । 

यी मध्ये जे कारण भए पनि  दौत्य सम्बन्धका आधारभूत मान्यता थिए – शान्ति र विकास । 

त्यो समय शान्ति र विकासको मूल उद्देश्य लिएर सात समुद्र पारबाट हात मिलाउन अमेरिका नेपाल आएको हो ।

त्यही शान्ति र विकासको आधारभूत सिद्धान्त र मान्यताका आधारमा स्थापित  दौत्य सम्बन्धसँगै सन् १९५१ बाट अमेरिकाले औपचारिक रूपमा नेपाललाई पूर्वाधार निर्माण,  आर्थिक, सामाजिक, शिक्षा  र स्वाथ्यका क्षेत्रमा प्रत्यक्ष सहयोग सुरु गर्यो ।  नेपाल प्रविधि र संरचनाका दृष्टिले असाध्यै कमजोर थियो । नेपालको तराई औलो मलेरियाबाट ग्रस्त थियो । 

औलो  नियन्त्रण र उन्मूलनमा अमेरिकाको महत्त्वपूर्ण योगदान रह्यो । नेपालको औलो नियन्त्रण र उन्मूलनमा इतिहासमा कुनै देशको नाम लेखिएको छ भने त्यो अमेरिकाको छ । 

दौत्य सम्बन्ध स्थापित भएको दस वर्षपछि फेब्रुअरी ३ , १९५८ मा वासिङटनमा  नेपाली राजदूतावास स्थापना भयो । राजदूत बने हृषिकेश शाह । त्यसको एक वर्षपछि अमेरिकाले काठमाडौंमा राजदूतावास खोल्यो  सन १९५९, अगस्ट ६ मा  । राजदूत थिए – इल्सवर्थ बंकर । 

राजदूतावासहरू स्थापना भएपछि सुरु भए – उच्चस्तरीय भ्रमणहरू जुन भ्रमणलाई अमेरिकाले  उच्च महत्त्व दियो । सन् १९६० को अप्रिल २७–३० मा राजा महेन्द्र अमेरिका आए । उनले अप्रिल २८ मा अमेरिकी कंग्रेसको संयुक्त सदनलाई सम्बोधन गरे । सन् १९६० को सेप्टेम्बरमा बीपी कोइराला वासिङटन आए । उनले भेटे तत्कालीन राष्ट्रपति ड्वाइट  डी आइजेनहाओरलाई । 

पहिलो भ्रमणको सात वर्षपछि राजा महेन्द्र फेरि अमेरिका आए सन् १९६७ को नोभेम्बर १ – ३ मा । 

सन १९८३ राजा वीरेन्द्र आए जतिबेला अमेरिकामा राष्ट्रपति थिए रोनाल्ड रेगन । रेगनले राजा वीरेन्द्रको ‘नेपाल शान्ति क्षेत्र’ प्रस्तावको समर्थन गरे । अमेरिकाले ऊ बेला बुझेको थियो – नेपाल बिथोलिन हुँदैन ।

सँगसँगै  राष्ट्रपति रेगनलाई यो पनि थाह थियो – दुई ठूला छिमेकीको मन नजितीकन शान्ति क्षेत्रको प्रस्ताव पारित हुन सक्दैन । यसैले राष्ट्रपति रेगनले बढो चलाखीपूर्वक राजा वीरेन्द्रलाई सुझाए  – शान्ति क्षेत्रको प्रस्तावलाई व्यवहारमा परिणत गर्न नेपालले छिमेकीसँग नजिकमा रहेर काम गर्नुपर्छ ।

अमेरिकाको सुझावलाई  ऊ बेलाको नेपाली राजनीतिक नेतृत्वले सही ढंगले अगाडि बढाउन सकेन । भारत कार्ड र चिनियाँ कार्ड खेलेर नेपालको राजनीतिक नेतृत्वले खेल हार्दै गयो । 

हार्ने क्रम आज पनि जारी देखिन्छ । 

राजा वीरेन्द्रसँगको भेटपछि तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले पत्रकारहरूसँग  भनेका थिए – दुई ठूला हात्तीका बीचमा रहेको एउटा सानो देश शान्ति क्षेत्र हुनु महत्त्वपूर्ण हुन्छ । 

आर्थिक दृष्टिले त्यतिबेला भरखर ताती गर्दै गरेका हात्तीहरू अहिले विशालकाय भएका छन । हात्ती जति ठूला हुन्छन् उति बारी मडारिने डर किसानलाई हुन्छ । अहिले नेपालको हालत त्यही किसानको जस्तो छ जसको घर हात्ती बस्ने वनको छेउमै छ । 

राजनीतिक तथा कूटनीतिक हिसाबले  नेपाल शान्ति क्षेत्र बनाउने राजा वीरेन्द्रको सोच र त्यति बेलाको अमेरिकी समर्थनको महत्त्व आजको दिनमा झन् बढेर गएको छ । हुनत ,विभिन्न बाह्य तथा आन्तरिक कारणले  राजा वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने सपना पूरा हुन सकेन । यसमा नेपालको राजनीतिक नेतृत्वका  केही कमजोरी र  छिमेकी भारतको निहित स्वार्थ बढी जिम्मेवार छ । यसको थप विश्लेषण अरू बेला गरौँला ।  

अहिले यत्ति भनौँ – यहाँसम्म आउँदा नेपाल अमेरिका सम्बन्धको इतिहास गर्विलो छ । 
कम्युनिस्टहरूले बिगारेको संकथन 

नेपाल अमेरिका सम्बन्धको इतिहास गर्विलो भए पनि त्यो इतिहासलाई बेला बेलामा धुमिल पार्ने प्रयास पनि भएका छन् । धुमिल बनाउन प्रयास गर्नेमा  नेपालका कम्युनिस्टको विशेष स्थान छ जसले बेला बेलामा अमेरिका विरोधी संकथन निर्माण गरे । अमेरिका साम्राज्यवादी, पुँजीवादी, विस्तारवादी  यस्तैयस्तै  संकथन । 

एसएलसी पास नगरेको र अमेरिकी नीतिको न पनि नजानेका युवालाई नेपालका कम्युनिस्टले अमेरिका विरोधी नारा लगाउन सिकाए । आज पनि बेलाबेला ती  नारा प्रकट हुन्छन् । यसबाट नेपाललाई के फाइदा भयो वा भइरहेको छ तिनै कम्युनिस्ट नै जानुन् । 

कुरा कम्युनिस्टको मात्र होइन । 

राजाहरू, बीपी कोइराला,  यदुनाथ खनाल, हृषिकेश शाहहरू जस्ताले बनाएको कूटनीतिको गर्विलो इतिहास २०४६ सालपछिको बहुदलीय प्रजतान्त्रकालीन राजनीति र नेताले त्यति राम्ररी सम्हाल्न सकेनन् । 

यसैले यसबीचमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा  नेपालले धेरै चीज गुमायो । आज पनि गुमाइरहेको छ । 

जसले नेपालको स्वाथ्य र शिक्षाका क्षेत्रमा सबैभन्दा बढी  सहयोग गरेको छ, जो नेपालको मुख्य दाता हो, त्यसैका विरुद्ध नेपालका खासगरी कम्युनिस्टले किन विरोधी संकथन निर्माण गरे ? 

एमसिसी होस् वा कुनै पनि ठूला अमेरिकी सहयोग  । नेपालमा त्यसविरुद्ध संकथन निर्माण गर्ने काममा कम्युनिस्टहरू  आज पनि अग्र पंक्तिमै छन् । यो संकथनलाई आजको व्यावहारिक कूटनीतिको कसीमा राखेर समीक्षा ढिलो भइसकेको छ । 

नदीहरूले समुद्रसँग निहुँ खोज्नुको अर्थको दीर्घकालीन प्रभाव के हुन्छ ? मलाई थाहा छैन । आजसम्मको दुनियाँमा  प्रजातन्त्र, मानवअधिकार, शक्ति,  प्रविधि र प्रणालीको समुद्र हो अमेरिका ।

सैद्धान्तिकरूपमा  अनेक तर्क र तर्कना हुन सक्छन् । तर, तथ्य यही हो । यो तथ्यलाई नेपालजस्ता देशले अलि गहिराइमा गएर बुझ्नु र त्यसैका आधारमा आफ्ना कूटनीतिक तथा आर्थिक कदम चाल्नु आवश्यक छ । 


बदलिँदाे सम्बन्ध 

मार्च १६ , १९७३ । 

आजभन्दा ५० वर्षअघि । 

अमेरिकी कङ्ग्रेसमा नेपालसम्बन्धी एउटा रिपोर्ट प्रस्तुत गरिएको थियो ।  रिपोर्टमा बृहत् एसियाली सन्दर्भमा नेपालप्रति अमेरिकी विदेश नीति, अमेरिकी सहयोग र यसका उद्देश्यबारे भनिएको थियो  – “अमेरिकी नेपाल नीति ,  खासगरी त्यहाँको विकास तथा शान्ति र स्थायित्वमा आधारित छ ।” 

लगत्तै अर्को वाक्यमा भनिएको थियो  – “देयर इज नो भेस्टेड इन्ट्रेस्ट इन् नेपाल ।” अर्थात् “ नेपालमा  कुनै निहित स्वार्थ छैन ।”

यी बितेका पचास वर्षमा काठमाडौंको वागमती र वासिङटन डीसीको  पोटोम्याक नदीमा धेरै पानी बगिसकेको छ । 

ऊ बेलाको नेपाल अहिले छैन । ऊ बेलाको अमेरिका अहिले छैन । 

खासमा ऊ बेलाको विश्व नै अहिले छैन । राजनीतिक, आर्थिक, कूटनीतिक र सामाजिक  सबै धरातल र आयाम बदलिएका छन् । 

अहिलेको रसिया  उहिलेको रुसजस्तो छैन । अहिलेको चीन उहिलेको  चीनजस्तो छैन । साङ्ग्रिला पनि त साङ्ग्रिला छैन । आजको भारत ऊ बेलाको भारतजस्तो छैन । व्यापार र प्रविधिका चक्र जताततै घुमेका छन् ।  

अमेरिकाजस्तो देशमा पनि सत्य र सुन्दरको  महत्त्व बढ्दो छ । 

सत्य अर्थात सत्य  नडेला माइक्रोसफ्टका सीईओ । सुन्दर अर्थात सुन्दर पेचाइ गुगलका सीईओ । 

संसारभरका मान्छेका जन्मकुण्डली आज यीनका हातमा छन् । 

जन्मकुण्डली , आज पण्डितहरूले होइन गुगल , फेसबुक , ट्विटर र अमाजोनहरूले बनाउँछन् र  राख्छन्, जसको स्वामित्व अमेरिकीमा छ । 

जताततैका सोच र संस्कार बदलिएका छन् । प्रविधिले मान्छेका मात्र होइन राज्य र सरकारका पनि  मुटु हल्लाएका छन् । 

दिमाग अमेरिकीको  र श्रम चाइनिजको । 

आइफोन, मेड इन चाइना । 

फुटबल, मेड इन पाकिस्तान । 

अर्थात दिमाग एउटाको, श्रम अर्कैको । 

मिसमास छ । 

व्यापार र कूटनीतिको बुझि नसक्नुको जालो छ आज  । 

ऊ बेलाको कूटनीति दर्शन र राजनीतिक शक्तिबाट निर्देशित हुन्थ्यो । आजको कूटनीतिमा, शक्ति,  विकास,  व्यापार र प्रविधि पनि थपिएको छ । कूटनीतिका शैली, सोच र व्यवहारमा परिवर्तन आएका छन् ।

शक्ति सन्तुलन खलबलिएका छन् । 

शक्ति सन्तुलन खलिबलिएसँगै स्वार्थहरूमा परिवर्तन आएका छन् । स्वाभाविक हो – आजको दिनमा पचास वर्षअघिको भन्दा अलि फरक स्वार्थ  नेपाल र अमेरिका दुवैमा छन् । तर, यसका आधारभूत मान्यतामा भने खासै परिवर्तन छैन । आधारभूत मान्यतालाई कायम गरिरहने तरिका र शैलीमा  निश्चय नै परिवर्तन आएका छन् । 

यो स्पष्ट देखिन्छ पनि । 

यो समयमा नेपाल अमेरिका सम्बन्धलाई अझ बलियो, अर्थपूर्ण र उपयोगी बनाउन नेपालले सन्तुलित र अलि परिपक्व ढंगले आफ्ना कूटनीतिक कदम चाल्नुपर्छ । कूटनीतिक सम्बन्धलाई आन्तरिक राजनीति र सत्ताको खेलभन्दा माथि राख्न सकिएन भने जहिले जसको कार्ड खेले पनि हार्ने देश हुन्छ । आफ्ना आवश्यकता र स्वार्थ स्पष्टसँग निर्धारण गर्ने र ती आवश्यकता र स्वार्थलाई पूरा गर्न , भावनात्मक कार्डको खेल  होइन, तथ्य र तर्कको खेल सक्नुपर्छ आज दुनियाँमा । 

नेपाल र अमेरिका सम्बन्धका हकमा पनि यही कुरा लागू हुन्छ । थोरै तरिका र सोच पुर्याउने हो भने नेपालले अमेरिकाबाट आजको भन्दा धेरै कुरा प्राप्त गर्न सक्छ । नेपालले अझै अमेरिकासँगको पुरानो ऐतिहासिक सम्बन्धबाट लिन सक्ने जति फाइदा  लिनसकिरहेको छैन । 

चीन  र भारत तीव्र गतिमा अगाडि बढेसँगै नेपालको महत्त्व अन्तर्राष्ट्रिय जगतमा ह्वात्तै बढेको छ । अझ  खासगरी चीन महाशक्ति राष्ट्र बन्दै गर्दा नेपालमाथि अन्तर्राष्ट्रिय कूटनीतिक भार बढ्दो छ । यस भारलाई  थेग्ने ताकत नेपालसँग छ कि छैन ? यो बेग्लै बहसको विषय हो । 

भूराजनीतिक हिसाबले नेपालको महत्त्व बढ्दै जाँदा अमेरिकाले नेपालसँगको सम्बन्धलाई पनि महत्त्व  दिँदै आएको छ । यसैले पछिल्ला दिनमा उच्चस्तरीय भ्रमण बाक्लिएका छन् । 

नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको केही वर्षपछि सन् १९९५ मा फस्ट लेडी हिलारी क्लिन्टनले नेपाल भ्रमण गरिन् । सन् २००२ को जनवरीमा विदेशमन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरे । सन् २००२ को मेमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति जर्ज डब्लु बुसले ओभल अफिसमा स्वागत गरे । यस्ता भ्रमणको लामै शृङ्खला छ । 

यस्ता भ्रमणको अर्थ के हो भने  नेपालको महत्त्व बढ्दो छ । यो महत्त्वलाई जसरी अमेरिकाले बुझेको छ त्यसरी नै नेपालले पनि बुझ्नुपर्छ । 

रोटीबेटीमाथिको सम्बन्ध

बितेका ७५ वर्षमा नेपाल र अमेरिकाका राजनीतिक तथा कूटनीतिक परिदृश्यमात्र बदलिएका छैनन् सम्बन्धका आयाम पनि बदलिएका छन् । 

खासगरी, नेपालका हकमा अमेरिकासँगको आजको सम्बन्ध कूटनीतिक , आर्थिक र राजनीतिकमात्र छैन । हामी नेपाल भारतको सम्बन्धलाई रोटीबेटीको सम्बन्ध भन्छौँ । नेपाल अमेरिकाबीचको सम्बन्ध योभन्दा माथि  उकालो लाग्दो छ । 

उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीबाट सुरुभएको  जनस्तरीय सम्बन्ध डीभी लटरीसँगै आमाबाको सम्बन्धमा परिणत  हुँदैगएको छ । खासगरी सन् १९९० को दशकपछि ।  

आज नेपालका कुनै पनि जिल्ला वा गाउँ छैनन् होला जहाँको कुनै न कुनै परिवारका छोरा वा छोरी अमेरिकामा नभएका । रुकुम होस् वा म्यादी ।  झापा होस् वा  चितवन । सोलुखुम्बु होस् वा बाजुरा । 

आजकल मेरो  हरेक दिनजसो ती नेपालीको कथासँग जम्काभेट हुन्छ जो अमेरिकामा बसेर जीवनयापन गर्न हरतरहका प्रयास गरिरहेका हुन्छन् । 

यस्तो लाग्छ – नेपालका छोराछोरी अमेरिका ओइरिएका छन् र आमाहरू त्यहाँ बसेर भाकल गरिरहेका छन् । 

मेरी आमालाई अमेरिकाको भुगोलको बारेमा उत्ती थाहा छैन । तर, कुनै दिन आमाले अमेरिकाको कुनै कुनामा गोली चलेको वा हावाहुरी चलेको समाचार सुन्नुहुन्छ त्यो दिन भगवानसँग भन्नुहुन्छ – भगवान् त्यस देशमा केही नभइदेओस् जुन देशमा मेरो छोरो छ । 

म आजकाल भन्न थालेको छु – यो देश आमाहरूले बचाएको देश हो । 

यो सम्बन्धको आयामलाई नेपाल सरकार,  राजनीति, प्रशासन , बुद्धिजीवी र जनसाधारणले कति बुझेका होलान् मलाई थाहा छैन । जुन दिन तीनले यो सम्बन्धको आयामको घनत्व बुझ्नेछन् त्यो दिन नेपालले चाल्ने विश्वव्यापी  यात्रा  सजिला हुनेछन् । 

अब नेपाल रोटीबेटी र अरनिकोको सम्बन्धमा सीमित छैन । 

सम्बन्धका जटिलता र आयाम बदलिएका छन् । 

नेपाल अमेरिका सम्बन्धको ७५ वर्षका अवसरमा यत्ति भनौ - नेपाल अमेरिका सम्बन्ध रोटीबेटी र अरनिको भन्दा माथि उकालोलाग्दो छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro