विराटनगर । कोसी प्रदेशमा सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार गरेको छ । मन्त्रिमण्डल विस्तार गर्दा सहमति कार्यान्वयन नगरिएको भन्दै एकीकृत समाजवादी असन्तुष्टि बनेको हो ।
सत्ता गठनबन्धनका तर्फबाट गएको बिहीबार नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उद्धव थापा मुख्यमन्त्री बनेका छन् । त्यति बेला गठबन्धनबीच सबै पार्टीबाट तत्काललाई एक/एक मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । तर, कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट मन्त्रीहरू थपि गरिएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो । आइतबार माओवादीबाट दुई र कांग्रेसबाट थप एक मन्त्री नियुक्त भएका छन् ।
कोसी प्रदेशसभामा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई आइतबारको शपथग्रहण कार्यक्रममा सहभागी भएनन् । राईले भने, “एउटा सहमित भएको थियो, तर सरसल्लाह नै नगरी मन्त्रिमण्डल विस्तार गरिएको छ ।”
यस विषयमा मुख्यमन्त्रीले छलफल गर्नुपर्नेमा नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।
कोसीमा आइतबार माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । कांग्रेसबाट रामकुमार खत्रीले पनि मन्त्री पदको शपथ लिएका छन् । गएको शुक्रबार कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल जवेगु मन्त्री बनेका थिए ।
यही असार १५ गते विश्वासको मत नपाएसँगै नेकपा (एमाले) नेतृत्वको कोसी सरकार ढलेको थियो । त्यसपछि गठबन्धन दलले नयाँ सरकार बनाएका हुन् ।
सरकार गठन गर्दा सभामुखलाई समेत सहभागी गराएको भन्दै एमालेले परमादेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ । त्यसको सुनुवाइ आज हुँदै छ ।