काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्र सदनको काम–कारबाही अघि बढाइने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको उनले उल्लेख गरे । त्यसलाई वार्ताका माध्यमबाट समाधान गरेर मात्र संसद्लाई गति दिन उचित हुने उनले बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने स्पष्ट पारे । संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको उनको भनाइ छ ।
आफूले प्रधानमन्त्री प्रचण्डलाई प्रतिपक्ष दलहरूसँग वार्ताका लागि पहल गर्न र समस्या समाधान गर्दै संसद् सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको उनले बताए ।
यस्तै, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरूलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने कारण के हो ? भनेर प्रश्न गरेको उनले सुनाए । जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले सरकारले सो विषयलाई गम्भीरताका साथ नलिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताएको उनले जानकारी गराए ।
प्रमुख प्रतिपक्ष दलका नेता ओलीले दिएको जवाफ पनि आफूले प्रधानमन्त्री प्रचण्डलाई सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसद्को गतिरोध हट्ने विश्वासमा आफू रहेको सभामुख घिमिरेले बताए ।
सभामुखको भूमिका तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा संसद्लाई झगडा गर्ने ठाउँ बन्न नदिने उनले स्पष्ट पारे ।
“सभामुखलाई आफ्नो पक्षमा, आफ्नो सोचमा सभामुखलाई ल्याउनको लागि सबैले भन्छन्– सभामुखको रोल प्रधानमन्त्रीलाई बोल्न दिनेमा भयो भने त चल्थ्यो नि ! भन्ने सत्तापक्षले भन्छ भने, यस्तो कुरा उठ्दाउठ्दै यो कुराको निर्क्योल गर्ने कुरामा सत्तापक्षले टेर्दै नटेर्ने अनि हामीले उसका कुराकानी सुनेको भरमा सदन चल्ने, चलाउने, सदन भनेको कसैको इच्छाअनुसार वा नियन्त्रणमा चल्ने चिज हो र ? यस्तो पनि सभामुखले गर्नुहुन्छ र ? भन्ने अर्कोले भन्छ,” उनले भने, “त्यसैले यो त के हो भने, खेलाडीहरूले मेरो पक्षमा के हो भने, एम्पायरले निर्णय दिनुपर्यो भनेर आग्रह गरेजस्तो मात्रै हो । त्यस्तो हुँदैन, इस्युमा विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भूमिका हुन्छ, क्रियाशील भूमिका हुन्छ । त्यो भूमिकाका लागि मैले आफ्नो सक्दो कोसिसहरू गरिरहेको छु । अब यो इस्यु उठेर इस्युमा कुरा नमिलेर भइसकेपछि टुंग्याउने कुनै विधि, बाटो, तरिका वा इस्युलाई समाधान गर्ने वा इस्युलाई थाती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाऊँ भन्ने ठाउँमा ल्याउन उहाँहरूको बीचमा समझदारी हुनुपर्छ । समझदारी गर्न नेता, पार्टीहरू, पार्टीको बीचमा यी कुरा गराउन पहिलो कुरा त राजनीतिक पार्टीले नै यो जिम्मेवारी निर्वाह गर्ने गरी सोच्नुपर्छ । दोस्रो कुरा, मैले सहजीकरण, मध्यस्थताको रूपबाट उहाँहरूलाई बसौँ, बस्नुस्, छलफल गरौँ, गर्नुस् भनेर निरन्तर २० गतेपछि सदन चल्न नसकेपछि त्यो कोसिसमा छु । मैले दलका नेताहरूलाई सम्पर्क गरिरहेको छु । प्रधानमन्त्रीसँग सम्पर्क गरेर तपाईंले प्रतिपक्ष दलका नेताहरूलाई बोलाउनुस्, तर पहल तपाईंले गर्नुपर्ने देखेँ मैले भनेर उहाँलाई भनेको छु । प्रमुख प्रतिपक्ष दलका नेतालाई पनि अब तपाईं बोलाइएको ठाउँमा जान्नँ भन्ने, नजाने, बसेर समस्याको समाधान खोज्ने भन्दा पनि राजीनामा माग गर्नुहुन्छ के हो ? भनेर कुरा गरेको छु । उहाँले सत्ताले यसको गम्भीरता नै लिएको छैन, गम्भीरता नलिएपछि हामी त नबोलाएपछि यसको विरुद्धमा लाग्ने हाम्रो कर्तव्य हो, हामी लाग्छौँ भन्ने उहाँको कुरा छ, यो कुरा प्रधानमन्त्रीलाई सुनाइदिएको छु ।”
प्रधानमन्त्री प्रचण्डले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल)को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरूसँग धाएको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि एमालेसहितका प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने भन्दै एमालेले अवरोध गर्दा संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आएको छ । सत्ता गठबन्धनले भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै राजीनामा दिनु नपर्ने निर्णय गरिसकेको छ ।