site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भाटभटेनी समूहले अत्यधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउँदै, अमेरिका र युरोपमा कपडा निर्यात गर्ने लक्ष्य

काठमाडौं । नेपालको गार्मेन्ट र गलैँचा निर्यात केही दशकअघिको पहिचान थियो । नेपालबाट अमेरिकामा यस्ता सामग्री निर्यातका लागि ‘कोटा’ नै तोकिएको थियो । विसं. २०५७–५८ तिर एउटै कम्पनीले एक करोड ४३ लाख अमेरिकी डलरबराबरसम्म निर्यात गरेको थियो ।

तर पछिल्ला केही दशकमा गार्मेन्ट उत्पादित सामग्री अधिकांश आयात हुन थाले न्युनरूपमा मात्रै निर्यात भइरहेको छ । नेपाललाई पुरानै अवस्थामा फर्काएर नेपालबाट तयारी पोशाक अमेरिका र युरोपका बजारमा पुर्‍याउने लक्ष्यसहित भाटभटेनी समूहले तयारी थालेको छ ।

bbsm3-1749020699.JPG
 

Argakhachi Cement Island Ad

भाटभटेनीका अहिले देशभर २८ वटा सुपरस्टोर सञ्चालनमा छन् । त्यसबाहेक होटल, हाइड्रोमा पनि लगानी रहेको छ ।  भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा रहेको अन्य व्यवसायीहरुको समूहले ‘गार्मेन्ट उद्योग’ सञ्चालनमा ल्याउन लागेको हो ।

त्यसका लागि बुधबार भैरहवामा भूमि पूजा गर्दै शिलान्यास गरिएको छ । समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत रहेका छन् । भैरहवास्थित विशेष आर्थिक क्षेत्र ‘सेज’मा उद्योग स्थापना हुनेछ ।

bbsm4-1749020699.JPG
 

बाह्रखरीसँग कुरा गर्दै अध्यक्ष मीनबहादुर गुरुङले एक अर्ब ५० करोड लगानीमा उद्योग स्थापना गर्न लागिएको जानकारी गराए । “हामीले एक सय ५० करोड लगानी गर्दैछौँ,” उनले भने, “यहाँबाट उत्पादित सामान अमेरिका र युरोपका बजारमा पुर्‍याउने लक्ष्य लिएका छौँ ।”

उनले भाटभटेनीका स्टोरहरुमा पनि यस उद्योगबाट उत्पादित सामग्री पाइने र स्थानीय बजारमा पनि पुर्‍याउनले लक्ष्य राखिएको जानकारी गराए ।

“हामीले भाटभटेनीमा आफ्नै उत्पादन बिक्रीको लक्ष्य राखेका छौँ,” उनले भने, “स्थानीय बजारमा पनि पठाउछौँ ।”

bbsm2-1749020698.JPG
 

१० महिनाभित्रै कम्पनी सञ्चालनमा आउनेछ । 

“हामीलाई चाहिने केही कच्चा पदार्थ भारत र चीनबाट आयात गर्छौं,” उनले भने, “कम्पनी सञ्चालनमा आउनुअघि विश्वका ठूला यस्ता कम्पनीबाट विज्ञलाई ल्याएर यहाँ तालिमको व्यवस्था गर्दैछौँ ।”

bbsm1-1749020698.JPG
 

उनले १० महिनाभित्रै एक हजार दुई सयलाई रोजगारी दिने बताउँदै भने, “त्यसबाहेक पनि हामीले रोजगारीलाई प्राथमिकतामा राखेका छौँ ।”

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्