
काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा तत्काल, बिनासर्त र स्थायी युद्धविराम माग गर्ने एक प्रस्तावमा मतदान गर्ने तालिका तय गरेको छ । तर, संयुक्त राष्ट्रका कूटनीतिज्ञहरूले अमेरिकाले यसमा 'भिटो' प्रयोग गर्न सक्ने बताएका छन् ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा हामास र अन्य समूहले गरेको आक्रमणपछि हामासले बन्धक बनाएका सबै व्यक्ति छाड्न पनि यस प्रस्तावले माग गरेको छ । यो प्रस्ताव दुईवर्षे कार्यकालका लागि परिषद्मा निर्वाचित १० सदस्यले मस्यौदा गरेको समाचार संस्था एपीले जनाएको छ ।
प्रस्तावले गाजाको मानवीय अवस्थालाई विनाशकारी भनेको छ । संयुक्त राष्टसंघ र मानवीय साझेदारमार्फत गाजामा प्रवेश गर्ने मानवीय सहयोगमा लगाइएका सबै खालका प्रतिबन्ध तत्काल र बिनासर्त हटाउनुपर्ने तथा सुरक्षित र बिना रोकतोक व्यापक वितरण गर्न प्रस्ताव गरिएको छ ।
प्रस्तावमा बुधबार दिउँसो मतदान हुनेछ । इजरायली सेनाको क्षेत्रभित्र अमेरिका र इजरायल समर्थित सहयोग वितरण प्रणाली स्थापना भएपछि लगभग दैनिकजस्तो गोलीबारीको बीचमा प्रस्ताव आएको हो ।
संयुक्त राष्ट्रले भने अमेरिका र इजरायल समर्थित सहयोग वितरण प्रणालीलाई अस्वीकार गरेको छ । यसले गाजाको बढ्दो खाद्यान्न संकट समाधान नगर्ने र इजरायलले मानवीय सहयोगलाई हतियारको रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । यो तटस्थता, निष्पक्षता र स्वतन्त्रताका मानवीय सिद्धान्तको विपरीत भएको बताइएको छ ।
प्रस्तावको मस्यौदाले अन्तर्राष्ट्रिय मानवीय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावसँग मिल्दो गरी सबै आवश्यक मानवीय सेवा पुनर्स्थापित गर्न माग गरेको छ ।
बुधबार विभिन्न देशका संयुक्त राष्ट्रसंघका कूटनीतिकले नाम नबताउने सर्तमा अमेरिकाले उक्त प्रस्तावमा भिटो लगाउने अपेक्षा गरेको बताए । संयुक्त राष्ट्रमा अमेरिकी मिसनले यो समयमा मस्यौदा प्रस्तावमा कुनै टिप्पणी नगरेको जनाएको छ। इजरायली मिसनले प्रस्तावबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
एपीबाट ।