site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिमाली र उत्पीडित सांसदलाई तेस्रो दर्जाको रुपमा हेरियो : सांसद शेर्पा

काठमाडौं । राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेका बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताए । 

हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताउँदै उनले बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरे पनि बजेट ल्याउँदा भने ठूल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हालेको हुने बताए ।

Argakhachi Cement Island Ad

“हामी तीन स्तरका सांसदहरु रहेछौँ । एउटा पहुँचवाला सांसद, मन्त्री हुने । ठूलै बजेट लाने । एउटा सांसद यसो थर्काएर, विरोध गरेर पनि अलिअलि पैसा लाने । हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पिछडिएका जातबाट आएकाचाहिँ तेस्रो दर्जाको सांसद पर्दो रहेछौँ,” उनले भने, “न बजेट लान सक्छ, न केही गर्नसक्छ ।”

बजेट बाँडफाँट हेर्दा देशमा संघीयताको आवश्यकता महसुस भएको उनले बताए । संघीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने उनले बताए ।

“देशमा संघीयता आवश्यक रहेछ भन्नेकुरा बुझियो यो कुराबाट । केही न केही संघीयताले गर्दाखेरि गाउँपालिकामा बजेट गयो । प्रदेशमा बजेट गयो । त्यो बजेटबाट सिस्टममा हामीले पनि बजेट पायौँ,” उनले भने, “यो संघीयता पनि नहुने हो भने त हामीले त केही पनि नपाउने रहेछौँ ।”

समाजबाट नैतिकता हराउँदै गएको भन्दै उनले युवालाई नैतिक शिक्षा पढाउनु जरुरी रहेको बताए । विदेशमा काम गर्न जाने युवालाई सीपमा दक्ष बनाएर मात्रै पठाउनुपर्ने भन्दै उनले राजनीतिक नियुक्तिका पदमा क्षमताअनुसारका व्यक्ति मात्रै नियुक्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्