site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार बनेको ६ महिनामै मध्यावधि निर्वाचनको बहस
SkywellSkywell

काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसँगै केन्द्रीय गठबन्धनमा रहेका दलहरूलाई नयाँ सरकार बनाउन सकस पर्ने देखिएको छ । कोसीमा ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । 

कोसीको पहिलो दल एमालेसँग ४० सिट छ । उसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसदको साथ छ । शुक्रबार प्रदेश सभा बैठकमा सरकार जोगाउन एमालेलाई एक मत पुगेन । जसका कारण हिक्मत कार्की नेतृत्वको सरकार ढल्यो ।

एमाले सरकार ढलेसँगै कोसीको विपक्षी गठबन्धन नयाँ सरकार बनाउने तयारीमा जुटेको छ । तर, नयाँ सरकार सहजै बन्ने अवस्था छैन । एमाले–राप्रपासँग ४६ सिट छ । अर्को गठबन्धनमा रहेको नेपाली कांग्रेससँग २९, नेकपा (माओवादी केन्द्र)सँग १३, नेकपा (एकीकृत समाजवादी)सँग चार र जनता समाजवादी (जसपा)सँग एक सिट गरी ४७ सिट त छ तर त्यसमा सभामुख पनि समावेश छन् । जसले सरकार गठनमा समस्या निम्त्याउने देखिन्छ ।

KFC Island Ad
NIC Asia

उसो त अहिले नै मध्यावधि निर्वाचनको समेत चर्चा भइसकेको छ । प्रदेश सभामा बोल्ने सांसदहरूले मध्यावधिको सम्भावनाबारे बोलेका थिए ।

सत्तारूढ दलका केन्द्रीय नेताहरू भने मध्यावधिको खतरा टार्नुपर्ने पक्षमा देखिन्छन् । माओवादी केन्द्रकी सदस्य धर्मशीला चापागाईं कोसीको राजनीतिक समीकरण जटिल बन्दै गएको स्वीकार्छिन् । तर, कुनै पनि हालतमा मध्यावधि चुनावमा जान नहुने तर्क उनको छ । 

Royal Enfield Island Ad

“स्थिति अप्ठ्यारो छ । मध्यावधि निर्वाचनतिर नगएको भए हुन्थ्यो भन्ने कुरा हो,” चापागाईंले बाह्रखरीसँग भनिन्, “निर्वाचन आवधिक हुन्छ । यस खालको स्थितिले देश अस्थिरतामा जान्छ । मध्यावधिमा जानु गलत हुन्छ ।”

उसो त एमाले पनि मध्यावधिमा जान इच्छुक देखिँदैन । तर, आवश्यक परे पछि नहट्ने तयारीमा एमाले रहेको देखिन्छ ।

“मध्यावधिको तयारीमा छैनौँ । तर, परिस्थिति आयो भने त्यसतर्फ जाने हो,” विश्वासको मत गुमाएका हिक्मत कार्की भन्छन् । 

कोसीका पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य पनि मध्यावधि निर्वाचनमा जानु उत्तम विकल्प नभएको बताउँछन् । उनी सर्वदलीय सरकारमा जोड दिन्छन् ।

“नेतृत्वको ध्यान नपुगेको हो । सर्वदलीय सरकार बनाएर जानुपर्थ्यो । त्यसका लागि पहल गर्नुपर्थ्यो । अहिले कोसीमा सर्वदलीय सरकारको विकल्प छैन र मैले त सर्वदलीयमा जानुपर्छ भनेको छु,” आचार्यले बाह्रखरीसँग भने, “कसैको सरकार बन्यो भने पनि तनावै तनावमा काम गर्ने अवस्था नै बन्दैन । सरकारले काम गर्नु पाउनुपर्‍यो नि । त्यसैले जाने सर्वदलीयको बाटोमा नै हो । त्यसका लागि अलिक अघि सरकारले पहल गर्नुपर्थ्यो । त्यसमा कमजोरी रह्यो ।”

हिक्मत कार्की गएको मंसिरमा सम्पन्न निर्वाचनपछि पुस २४ गते ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यतिबेला माओवादी केन्द्र, एमाले, राप्रपा र जसपा एकै गठबन्धनमा थिए । त्यसैको जगमा केन्द्रदेखि सातै प्रदेशमा शक्ति बाँडफाँट भएको थियो । 

तर, फागुन १३ गते राष्ट्रपति निर्वाचनपछि नयाँ गठबन्धन बन्यो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित सत्तामा पुगे । एमाले र राप्रपासहित सरकारबाट बाहिरिए । जसको असर केन्द्रदेखि सबै प्रदेशमा देखियो । 

शुक्रबार कोसी सरकार ढलेसँगै एमालेले सबैतिर सत्ता गुमाएको छ । 

चुनाव भएको ६ महिनामै सबै प्रदेश सरकारहरू हेरफेर भइसके । मुख्यमन्त्री फेरिए । कोसीले नयाँ मुख्यमन्त्री पाउँदा ६ महिनाको अवधिमा ११ जनाले मुख्यमन्त्री बनेर आफ्नो नाम लेखाउने छन् । सबै प्रदेशमा मन्त्री हुने पाउने ‘भाग्यमानी’को संख्या पनि उस्तै छ ।

दलहरूकै कारण संघीयताप्रति निराशा !

प्रदेश संरचानासहित संघीयता कार्यान्वयमा आएको ६ वर्ष नाघ्यो । तर, पछिल्ला दिनहरूमा प्रदेश संरचनामाथि निरन्तर प्रश्न उठिरहेको छ । तीनै तहका नेता कार्यकर्तादेखि कतिपय बुद्धिजीवीले समेत प्रदेश संरचनामाथि प्रश्न उठाइरहेका छन् । 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही भने केन्द्रीकृत मानसिकताका कारण प्रदेशले आफ्नो स्वायत्त अधिकार प्रयोग गर्न नपाएको बताउँछन् । प्रदेशमा संघको गठबन्धन लाद्ने प्रवृत्तिले राजनीतिक अस्थिरता हाबी भएको उतको तर्क छ । 

“संघको सरकार जसरी बन्छ, प्रदेश पनि त्यसरी नै चल्नुपरेको छ । प्रदेशलाई स्वायत्त छोडेर कसरी चलाउँछौँ चलाऊ भन्नुपर्ने हो । प्रदेश स्वायत्त भएर काम गर्न चाहन्छ । तर, केन्द्रले दिँदैन,” शाहीले बाह्रखरीसँग भने, “प्रदेशमा पनि एक सदनात्मक संसद् छ । सबै केन्द्रअनुसार चल्नुपर्ने हो भने प्रदेश किन चाहिन्छ ? केन्द्रीकृत मानसिकताले प्रदेश सञ्चालन हुन पाएन, जनतामा निराशा मात्र बढायो ।”

माओवादी नेतृ धर्मशीला चापागाईं पनि मुख्य दलहरूकै कारण संघीयताप्रति वितृष्णा जागेको बताउँछिन् । शिशु संघीयतालाई भड्खालोमा हाल्ने प्रयत्न भइहरेको उनको तर्क छ । 

“जुन उद्देश्यले प्रदेशको परिकल्पना संविधानले गरेको छ, त्यसअनुसार प्रदेश चल्न नसक्दा जनतामा निराशाको स्थिति बनेको छ,” चापागाईं भन्छिन्, “यसैलाई बल पुग्ने गरी क्रियाकलाप भइरहेका छन् । प्रदेशको महत्त्व बुझाउन नसकेको अवस्थामा प्रदेश खारेजीको माग भइरहेको छ, जुन गलत छ र यो गलत क्रियाकलापलाई टेवा पुग्ने गरी नेतृत्वबाट काम भइहेको छ । यसलाई कुनै पनि हिसाबबाट राम्रो भन्न मिल्दैन र हुँदै होइन ।”

संविधानअनुसार प्रदेशले २१ वटा एकल अधिकार पाएको छ । यस्तै, अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकार सूचीलाई उल्लेख गरिएको छ । संघ र प्रदेशले २५ वटा साझा अधिकार सहमति र सहकार्यमा प्रयोग गर्न पाउँछन् ।

तर, केन्द्र अधिकार बाँडेर प्रयोग गर्न चाहँदैन । राजनीतिक दलहरूले नै प्रदेशलाई केन्द्रको एउटा सानो एकाइमा सीमित बनाएको आरोप लाग्ने गर्छ ।

पूर्वमुख्यमन्त्री समेत रहेका एमालेका स्थायी कमिटी सदस्य भीम आचार्य चाँडो सरकार परिवर्तन र मध्यावधि निर्वाचनको हल्लाले जनतामा निराशा मात्र फैलाउने बताउँछन् । 

“मध्यावधिमा जाने कुरा हुँदैन । मिलेर सरकार बनाउन नसक्ने, काम नगर्ने अनि चुनावमात्रै गर्ने भनेर जनताले स्वीकार गर्दैनन्,” उनले भने, “सरकार परिवर्तन गरिरहने अनि निर्वाचनमा जाँदा संघीयतामाथि प्रश्न उठ्छ । मध्यावधितिर जानु हुँदैन ।”

अघिल्लो कार्यकालमा पनि ७ प्रदेशमा २० जना मुख्यमन्त्री र १६३ जना मन्त्री बनेका थिए । तर, जनतामा आशा जगाउने काम हुन सकेनन् । कतिपयको भनाइमा नेतृत्व व्यवस्थापनका लागि पाँच वर्ष खेर गयो ।

संघीय कानुनमा विद्यावारिधि गरेका अधिवक्ता डा. रुद्र शर्मा संसदीय अभ्यास स्वीकार गरेपछि सरकार बन्ने र ढल्ने खेललाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । डा. शर्मा अहिले संघीयतामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको हो भने पनि नेतृत्वले ती विषयलाई सम्बोधन गरेर संघीयताको सवलीकरण गर्नुपर्ने उनको तर्क छ । 

“संसदीय व्यवस्थाको नियम त यही हो । प्रदेशमा एक सदनात्मक भए पनि संसदीय व्यवस्था छ । तपाईंले खेल स्वीकार गरेपछि नियम मन पर्यो परेन भन्ने कुरा गौण हो,” डा. शर्माले भने, “जनताले चाहेको डेलिभेरी हो । जनताले देख्ने भनेको यसको नकारात्मक कुरा हो । सैद्धान्तिक विषयमा उनीहरूको चासो छैन । त्यसकारण व्यवस्थाको उपभोग गर्ने दलहरू हुन् । उनीहरूले यसमाथि विचार गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro