site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविता महोत्सवमा पुरस्कृत सर्वाेत्कृष्ट १० कवि घोषित
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा शनिबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषणा गरिएको छ ।

प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनरछोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो ?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी, ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई  र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत हुने भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, मातृभाषा डोटेलीमा  खिमानन्द जोशीको (मुई गोठ नाइँ भान्या हुँ) र पूर्णानन्द ओझाको (सन्निको मान्सा) तथा खाममगर भाषामा टंकबहादुर झाँक्रीमगर (वैरागी समीप)को (रहुन्के वे बड्डा) कवितालाई उत्कृष्ट घोषणा गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही १५ हजार रुपैयाँ राशिको पुरस्कार दिइनेछ । कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्यांकन गरेको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिष्ठानले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागत रूपमा नेपाली भाषाका कविताका अतिरिक्त यसपटकदेखि समावेशी सहभागिताका लागि बहुभाषिक कविता आह्वान गरिएको थियो । प्रतियोगिताका लागि प्राप्तमध्ये मूल्यांकन समितिबाट वाचनका लागि २५ कविता छनोट गरिएको थियो । ती कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाममगर, नेपालभाषा, चाम्लिङ  र थामी भाषाका सात र नेपाली भाषाका १८ कविता  छानिएका  थिए । मातृभाषामा प्रस्तुत कवितालाई अनुवादको प्रबन्ध गरिएको थियो ।

महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी ६४४ कविता दर्ता गरिएको थियो । महोत्वसको उद्घाटन शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

कार्यक्रममा प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारु, रामबहादुर पहरी र जमुना कुचिकारलाई प्रदान गरिएको थियो । रासस

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २३:१२
प्रतिक्रिया दिनुहोस्