काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पाँच केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरिएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट ती पाँच सदस्यलाई निष्कासन गर्ने निर्णय गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरिएको हो ।
छानबिन समितिको प्रतिवेदनको सिफारिसानुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई समेत नसिहत दिने निर्णय गरिएको छ । कारबाहीको निर्णय चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्नेछन् ।
यस्तै, बैठकबाट विधानको मस्यौदालाई अनुमोदन गरिएको छ । अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत गरिनेछ ।
पार्टीसम्बद्ध समाजवादी मोर्चालाई पनि केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयहरूलाई शनिबारको बैठकबाट अनुमोदन गरिएको प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।