किमाथांका । संखुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।
यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ता भएकाहरू एक सातासम्म पनि फेला नपरेपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।
नेपाल प्रहरीले धरानबाट ल्याएको तालिमप्राप्त दुई कुकुरले आज बिहान सभाखोलादेखि खोजी थालेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । प्रहरीको तालिमप्राप्त कुकुरले हेवा र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न थालेको उनले बताए ।
बाढीपहिरोमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखेको छ । तर, बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हेवाखोला र सभाखोला किनार आसपास खोजी गरिरहेको छ ।
बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट १२ घर पूर्ण रूपमा क्षति भएको छ । बाढीपहिरोका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । रासस