site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचनको अनिश्चितता हटाउने प्रयास, कानुनमै मिति तोकिँदै

काठमाडौं । निर्वाचन मितिको अनिश्चितता हटाउने तयारी गरिएको छ । स्थानीय चुनाव र राष्ट्रपति चुनावका विषयमा देखिएका अन्योल चिर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गर्दै आएकोमा अब भने निर्वाचन मितिको अनिश्चितता अन्त्य गर्ने तयारी गरिएको हो ।

यसअघि, सम्पन्न स्थानीय निर्वाचन र राष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा संविधान र निर्वाचन कानुन बाझिँदा समस्या उत्पन्न भएको थियो । फागुन २५ गते निर्वाचन कानुन मिचेर राष्ट्रपतिको निर्वाचन मिति तोकिएको थियो । स्थानीय निर्वाचनको मिति तोक्ने सन्दर्भमा पनि पाँच वर्ष कहिले पुग्ने भन्नेमा मत बाझिएको थियो ।

छरिएका निर्वाचनसम्बन्धी कानुनहरुलाई एकीकृत गर्न लागिएको छ । त्यसको मस्यौदा आयोगले तयार गरिरहेको छ । आयोगले बनाएको मस्यौदालाई सरकारले निर्वाचन विधेयकको रुपमा संसद्मा लैजानेछ । निर्वाचन विधेयकका विषयमा दलहरुबीच समझदारी बनिसकेको छ ।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन मिति कानुनमा नै तोकिने प्रस्ताव आयोगले गरेको जानकारी दिए । यसले निर्वाचन मितिका विषयको अन्योल चिर्ने उनको भनाइ छ ।

स्थानीय निर्वाचन, प्रदेश वा प्रतिनिधिसभाको निर्वाचनको मिति आयोगको प्रस्तावमा सरकारले घोषणा गर्दै आएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति आयोगले घोषणा गर्ने गरेको छ । अब निर्वाचन कानुनमा नै मिति तोकिए अन्योल अवस्थाको अन्त्य हुने देखिन्छ ।

आयोगका अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । यसअघिको निर्वाचन कानुनमा पदावधि सकिनुभन्दा एक महिनाअघि निर्वाचन गर्ने व्यवस्था गरिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गरिने मस्यौदामा उल्लेख छ । राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतबार गरिने प्रस्ताव आयोगको छ ।

स्थानीय तहको निर्वाचनको मिति भने परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गरिने भनिएको छ ।

“स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार निर्वाचन मिति तोक्ने,” मस्यौदामा भनिएको छ ।

दुईपटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने

प्रदेश वा प्रतिनिधिसभा निर्वाचनमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समानुपातिक सांसदको उमेदवार बन्न नपाउने प्रस्ताव आयोगको छ ।

समानुपातिकतर्फबाट दुईपटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उमेदवार हुन नसक्ने मस्यौदामा उल्लेख छ । यसले एक व्यक्तिलाई दुईपटकभन्दा बढी सांसद हुन रोक्नेछ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro