काठमाडौं । आईसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालविरुद्ध अमेरिकाका कप्तान मोनांक पटेलले नखेल्ने भएका छन् । क्रिकेट अमेरिकाका अनुसार पटेल अस्वस्थ रहेका कारण नेपालविरुद्ध नखेल्ने भएका हुन् ।
उनको स्थानका उप–कप्तान आरोन जेम्सले नेपालविरुद्ध कप्तानी सम्हाल्दै छन् । पटेलको स्थानमा निसर्ग पटेलले खेल्दै छन् ।
अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् ।
समूह ‘ए’मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।
यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।
छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।
दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसैवर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।