काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलेको सरकारभन्दा गम्भीर ढंगबाट जनता र राष्ट्रको पक्षमा उभिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले आफू प्रधानमन्त्री भएपछि दिने सेवाको पक्षमा विशेष ध्यान दिइएको बताए ।
सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा नयाँ आन्दोलन थालिएको समेत बताए । उनले भर्खरै गरिएको भारत भ्रमणको सफलता देखेर केही मान्छेहरुमा इरिटेसन भएको समेत बताए ।
“पहिले पहिलेको सरकारभन्दा यो सरकार गम्भीर ढंगले जनता र राष्ट्रका पक्षमा खडा छ । र, भर्खरै भएको भारत भ्रमणले पनि केही मान्छेलाई अलि सफलता देखेर इरिटेसन भएको हुन सक्छ,” उनले भने, “नेपाल राष्ट्र र जनताका पक्षमा एउटा नयाँ उपलब्धिका साथ हामीले भ्रमणमा नयाँ सहमति बनाएका छौँ ।”