काठमाडौं । असार १ गते पहिलोपटक नेपालमा मंकीपक्स (एम्पक्स) संक्रमण पुष्टि भयो । ६० वर्षीया नेदरल्यान्डकी नागरिकमा एम्पक्स पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उनमा असार १ गते एम्पक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दक्षिण अफ्रिकी मुलुक बुरुन्डीबाट उनी एम्पक्ससँगै डेंगीको लक्षण लिएर नेपाल आइपुगेकी थिइन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचााररत संक्रमितको अवस्था हाल सामान्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यसअघि कहाँ, कहिले देखिएको थियो ?
डब्लूएचओका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको एम्पक्स संक्रमण सोही वर्ष १० वटा अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो ।
मध्य तथा पश्चिम अफ्रिकी मुलुकका ग्रामीण भेगमा एम्पक्स आम रोगको रूपमा देखा पर्दै आएको छ । उष्ण प्रदेशतिरका बस्तीमा यो संक्रमण धेरै देखिने गरेको डब्लूएचओकोे अध्ययनले देखाएको छ ।
सन् २०१७ मा नाइजेरियामा फैलिएको एम्पक्सबाट १७२ जना संक्रमित भएका थिए । तीमध्ये ७५ प्रतिशत २१ देखि ४० वर्षसम्मका युवा थिए । वर्ष २०२२÷२०२३ मा भने एम्पक्स विश्वव्यापी प्रकोपको रुपमा फैलिएको थियो । डब्लूएचओका अनुसार हाल १११ वटा देशमा एम्पक्स संक्रमण देखिएको छ ।
कस्ता लक्षण देखिन्छन्, कति खतरनाक ?
मानिसमा ‘मंकीपक्स’ नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो एम्पक्स । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई स्मलपक्स विफरकै एउटा प्रजाति भएको जनाएको छ । एम्पक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि पाँचदेखि २१ दिनसम्म रहने संगठनले जनाएको छ ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसका लक्षण दुईवटा चरणमा देखिन्छन् । सुरुआती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् भने दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानी फोकाको रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ ।
एम्पक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छन् र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छन् । विशेषगरी, टाउको, हत्केला, पैतालाजस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ र केही दिनपछि आफैँ निको भएर जान्छ ।
तर, केही व्यक्तिमा भने यसले इन्सेफ्लाइटिस, निमोनियाजस्ता जटिलता पनि निम्त्याउन सक्ने डा. पुन बताउँछन् । एम्पक्स जटिल अवस्थामा पुगेमा आँखामा संक्रमण भएर दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र संक्रमितको मृत्यु समेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डब्लूएचओले भने एम्पक्स संक्रमित १० मध्ये एकजनाको मृत्यु हुनसक्ने जनाएको छ ।
कसरी सर्छ ?
‘यूके हेल्थ सेक्युरिटी एजेन्सी’का अनुसार संक्रमित व्यक्तिको नजिक रहेका व्यक्तिमा श्वासप्रश्वास, आँखा, ¥याल, सिँगान, रगतको माध्यमबाट यो संक्रमण सर्छ । एजेन्सीका अनुसार एम्पक्स संक्रमण यौन सम्पर्कबाट सरेको अहिलेसम्म रेकर्ड नभए पनि व्यक्तिसँग शारीरिक रूपमा नजिक रहँदा सर्ने सम्भावना बढी रहन्छ ।
संक्रमित बाँदर, मुसा लोखर्केजस्ता जनावरहरुसँग नजिक रहेका व्यक्तिमा एम्पक्स सर्ने सम्भावना उच्च रहन्छ । हालसम्म एम्पक्सविरुद्धको खोप नबने पनि स्मलपक्सविरुद्ध पछिल्लो समय बनेका तीनवटा खोपले नै एम्पक्सविरुद्ध काम गर्ने डब्लूएचओले जनाएको छ ।
कसरी जोगिने ?
एम्पक्स शंका लागेका वा पुष्टि भएका व्यक्तिसँगको असुरक्षित सम्पर्कमा नआउने ।
संक्रमित व्यक्तिलाई घरमै वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
संक्रमितको हेरचाह गर्नेले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने ।
लक्षण देखिए कहाँ जाने ?
एम्पक्स संक्रमण पीसीआर विधिबाट परीक्षण गरी पहिचान गरिन्छ । त्यसैले कसैमा यसका लक्षण देखिए वा शंका लागेमा तत्कालै पीसीआर परीक्षणमा पुग्नुपर्दछ ।
संक्रमितको सम्पर्कमा आएको सतह वा स्थान, कोठा तुरुन्तै स्यानिटाइज गर्नु पर्दछ भने सो क्रममा उत्पादन भएको फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नु पर्दछ । एम्पक्सबारे विस्तृत जानकारी निःशुल्क हटलाइन नं. १११५ र ११३३ बाट पनि लिन सकिन्छ ।
नेपालमा फैलिन नदिन के गर्दै छ सरकार ?
नेपालमा एम्पक्स पुष्टि भएसँगै स्वास्थ्य मन्त्रालयले यसको नियन्त्रण तथा उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकेको छ । मन्त्रालयले मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सीबी झा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठालाई फोकल पर्सन तोकेको छ ।
त्यस्तै, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा. अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको छ ।
त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेत अस्पताल डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ ।
एम्पक्ससँग मिल्दोजुल्दो कुनै पनि लक्ष्ण देखिए तोकिएका चिकित्सकहरुसँग सम्पर्क गरी सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।