site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वामदेवले मागे एमालेमा दोस्रो वरीयता

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) जान तयार भएका छन् ।

आज दिउँसो च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले दोस्रो वरीयता दिए आफू पार्टीमा फर्कन तयार भएको बताएका हुन् ।

“म पार्टी एकताका लागि तयार छु । मलाई तपाईंपछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो मागबारे बाह्रखरीसँग भने, “अरु साथीहरुको सम्मानजनक व्यवस्था हुनुपर्छ ।”

Argakhachi Cement Island Ad

एमालेमा अहिले ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा छन् ।

पार्टीमा रहेका व्यक्तिहरुको भूमिकाबारे आफूले लिस्ट तयार गरेर ओलीलाई बुझाउने उनले बताए । जवाफमा ओलीले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् ।

“उहाँले सकारात्मक छु । सबै साथीसँग सल्लाह गर्छु भन्नुभएको छ,” गौतमले भने । भेटमा सौहार्दतापूर्ण कुराकानी भएको उनले बताए ।

“राम्रा कुरा भए । हार्दिकतापूर्वक कुराकानी भयो । दुइटा साथीहरुबीच जसरी कुराकानी हुन्छ, त्यस्तै कुरा भयो,” उनले भने ।

गौतमले ओलीलाई आफूले तयार गरेको दस्तावेज दिएको र त्यसलाई पार्टीमा छलफल गर्ने आश्वासन पाएको समेत बताए ।

“मैले विकास गरेका केही विषयबस्तु छन् । कृषि उत्पादनको आमूूल परिवर्तन गर्ने, शासन प्रणालीलाई आमूल परिवर्तन गर्ने । तेस्रो, निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने । यस्ता ती विषयहरुको दस्तावेज ओलीजीलाई बुझाएको छु,” उनले भने, “अहिले तपाईंको विचार हो । पार्टीले ग्रहण गर्ने सिर्जना भयो भने पार्टीको विचार हुन्छ भन्नुभयो ।”

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्