काठमाडौं । लियोनल मेसीका लागि महान् फुटबलरको पूरा ‘पजल’ बनिसकेको छ । पजलका लागि लामो समयदेखि एउटा अन्तिम टुक्रा बाँकी थियो । त्यो उनले पाँचौँ सहभागितामा विश्वकपको उपाधि जितेर पूरा गरे ।
यो जित सम्पूर्ण कथाको एउटा पाटो मात्र हो । ३५ वर्षीय प्रतिभा लामो समयसम्म शंकाको घेरा र बहसमा रहे । तर, उनको चरित्र परिवर्तन भयो ।
“मेसी यो (कतार) विश्वकपमा फरक थिए,” एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले भने ।
किशोरवयमा मेसी निकै लजालु थिए । बार्सिलोनामा आफ्नो टिमका सहकर्मीसँग भेटिन्छ भनेर उनी बाटो नै परिवर्तन गरेर हिँड्थे ।
“उनी राम्रो व्यक्ति हुन् । तर, उनी भीडलाई पनि निर्देशन गर्न सक्दैनन् । स्कालोनीलाई कसरी राष्ट्रिय टिमको जिम्मेवारी दिन सकिन्छ ?,” सन् २०१८ मा लियोनल स्कालोनीलाई अर्जेन्टिनाको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि डियागो म्याराडोनाको प्रतिक्रिया थियो यो ।
त्यति बेला मेसीलाई राष्ट्रिय टिममा निरन्तरता दिन स्कालोनीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको मानिन्थ्यो । अर्थात्, स्कालोनीको नियुक्ति अर्जेन्टिना फुटबल संघले एक पुस्ताकै प्रतिभालाई टिममा राख्नका लागि जानाजानी गरिएको निर्णय थियो ।
स्कालोनीलाई प्रशिक्षकमा नियुक्त गर्नुअघि मेसी र राष्ट्रिय टिमबीचको सम्बन्ध केही असहज थियो । मेसी कहिलेकाहीँ प्रशिक्षकसँग पनि असहज हुने गर्थे ।
सन् २०१० को विश्वकपमा अर्जेन्टिनाको प्रतिभाशाली टिम क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएको थियो । त्यति बेला अर्जेन्टिनाका मुख्य प्रशिक्षकले मेसीको नेतृत्व क्षमताको आलोचना गरेका थिए ।
सन् २०१८ मा अर्जेन्टिनाको विश्वकप यात्रा चाँडै टुंगिएको थियो । त्यसअघि, २०१६ मा मेसीको खेल जीवन निकै कठिन बनेको थियो । सोही वर्ष सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेपछि मेसीले सन्न्यासको घोषणा गरेका थिए ।
मेसीको यो निराशा पनि अर्जेन्टिनाको फुटबल एसोसिएसन (एएफए)लाई प्रशिक्षकमा स्कालोनीलाई ल्याउने प्रमुख कारण बन्यो । एएफए आफ्नो मुख्य खेलाडीलाई खुसी राख्न चाहन्थ्यो ।
“एएफएको एउटा मात्रै लक्ष्य थियो– एक यस्तो प्रशिक्षक खोज्ने जसले मेसीसँग काम गर्न र उनीबाट उत्कृष्ट फाइदा लिन सकोस्,” मेसीका बायोग्राफर (जीवनीकार) गुइलेम बालागुईले भने, “स्कालोनीले प्रशिक्षण सम्हालेपछि मेसीसँग ‘तिमीलाई के लाग्छ, कुन कुराले तिम्रो हकमा काम गर्छ ?’ भनी सोधेका थिए ।”
बालागुई भन्छन्, “यो कुराकानी बराबरीको थियो । र, कुनै प्रशिक्षकसँग विश्वकै उत्कृष्ट खेलाडी साथमा छ भने यो गर्न पनि आवश्यक हुन्छ ।”
अर्जेन्टिनाका पत्रकार मासेला मोरा ये अराउहो भन्छिन्, “स्कालोनीलाई ठूलो पत्रकार सम्मेलनको आयोजना र सार्वजनिक कार्यक्रमबिना नै मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो । त्यति बेला अर्जेन्टिनी एफएमा ठूलो नाम खोज्ने सामर्थ्य केही कम रहेको देखिन्थ्यो ।”
अराउहोले थप भनिन्, “धेरै मानिस क्रोधित थिए । हामीलाई उनको बारेमा त्यति धेरै थाहा थिएन । त्यति बेलाको भावना यो काम कुनै फुटबल सेलिब्रिटी वा प्रभावकारी व्यक्तित्वलाई दिनुपर्छ भन्ने थियो । तर, यो कामको जिम्मेवारी भर्खरैको एक व्यक्तिले पाए, जसको बारेमा खास जानकारी नै थिएन ।”
तर, त्यही गुमनाम, सानो सहरको नम्रता र अहंकारको कमीजस्ता सरल व्यवहारका कारण स्कालोनीलाई अर्जेन्टिनाको टोलीमा मन पराइयो । महत्त्वपूर्ण पाटो – मेसीका लागि टोलीले स्कालोनीलाई स्वीकार गर्यो ।
“स्कालोनी निकै शान्त र सरल स्वभावका छन्,” अर्जेन्टिना र म्यानचेस्टर सिटीका फरवार्ड युलियन आल्भारेजले भने, “निकै इमानदार । उनीसँग सानो गाउँबाट आएको व्यक्तित्व थियो । म आफैँ पनि सानो गाउँबाट आएको हुँदा यस्तो कुरा बुझ्न सक्छु । र, उनमा रहेको उच्च मानवीय गुण पनि देख्न सकिन्छ ।”
गोलकिपर मार्टिनेज थप्छन्, “टिममा सधैँ स्तरीय र क्षमतावान् खेलाडी हुन्छन् । महत्त्वपूर्ण कुरा – यो क्षमतालाई कसरी सही प्रयोग र व्यवस्थापन गर्ने भन्ने हो । यो भनेको तपाईंसँग फरारी कार हुनुजस्तै हो । यदि, तपाईंलाई चलाउन आउँदैन भने हरेक मोडमा दुर्घटना हुनसक्छ । स्कालोनीको बारेमा म यति मात्र व्याख्या गर्न सक्छु । उनलाई फरारी कसरी हाँक्नुपर्छ भन्नेबारे राम्रोसँग थाहा छ ।”
घरेलु वातावरण
मेसीले सानै उमेरमा अर्जेन्टिना छोडेका थिए । तर, अर्जेन्टिना र विशेष गरी रोसारियोमै बाँधिएर रहिरहे ।
“उनी अर्जेन्टिनी लवजमै कुरा गर्छन्, अर्जेन्टिनी खाना खान्छन्, अर्जेन्टिनी चलचित्र हेर्छन् र गीत पनि अर्जेन्टिनाकै सुन्छन्,” ‘एन्जल विथ डर्टी फेसेस– ए फुटबलिङ हिस्टोरी अफ अर्जेन्टिना’का लेखक जोनाथन विल्सनले भने ।
मेसी र उनका सहकर्मी घरेलु वातावरणमा झुकाव राख्ने स्वभावका थिए । सोही कारण विश्वकपका लागि उनीहरूले पाएको स्थान कतार विश्वविद्यालयमा स्कालोनी र अर्जेन्टिना एफए ‘सानो अर्जेन्टिना’ सिर्जना गर्नेबारेमा दृढ थिए ।
स्कालोनीको कार्यकालको सुरुआतमा मेसीसँगै केही युवा खेलाडी अर्जेन्टिनी तासको खेल ‘ट्रुको’ खेल्नका लागि आग्रह गर्न उनको होटेल रुममा ढोका ढक्ढक्याउन पुगेका थिए । कतारमा पनि यो खेलले अर्जेन्टिनी टिममा व्यापकता पाएको थियो । अर्जेन्टिनी टिममा बार्बिक्यु (मासुलाई खुला आगोमा पकाइने)ले पनि धेरैचर्चा पाएको थियो ।
घरेलु वातावरणको अनुभूति दिन त्यति बेला कतारमा अर्जेन्टिनाको टिमले ९०० किलो मासु साथमै लिएर गएको समाचार सार्वजनिक भएको थियो ।
बालागुई र अराउहो दुवै यसले नै मेसीको उत्कृष्ट प्रदर्शन सुनिश्चित गरेको जिकिर गर्छन् । उनीहरू यी कुराले विश्वकै उत्कृष्ट खेलाडीलाई १३ वर्षको उमेरमा बार्सिलोना जानुअघि अर्जेन्टिनामा छोडेको बाल्यकालको वातावरणमा फर्काइदिएको तर्क गर्छन् ।
र, मैदानमा मेसीको त्यो बाल्यकालको प्रतिध्वनि नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल जितका समयमा सबैभन्दा स्पष्ट रूपमा सुनिएको उनीहरूको भनाइ छ ।
डच प्रशिक्षक लुइस भान हालले उक्त खेलअघि बलसँग नभएको अवस्थामा मेसीको कार्यप्रति प्रश्न गरेका थिए । भान हालको यो कुराले मेसीका सहकर्मीलाई आक्रोसित बनाएको थियो । यी दुई टिमबीचको ऐतिहासिक प्रतिद्वन्द्विताको आगोमा त्यसले घिउ थप्ने काम गर्यो ।
भान हालको उक्त प्रतिक्रियाप्रति मेसीको भावना अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलको ७३औँ मिनेटमा पोखियो । मेसीले अर्जेन्टिनाको दोस्रो गोलमा ‘डगआउट’अघि बसेर कानमा दुई हात राख्दै भान हालले उठाएको प्रश्नमा गिज्याउँदै खुसियाली मनाएका थिए ।
डच टिम र मेसीको लडाईंको यो नै अन्त्य थिएन । खेलपछि अर्जेन्टिनाका फरवार्डले डच सहायक एडगर डेभिड्ससँग ‘साइडलाइन’मा विवाद गरे । मैदानभित्र छिर्ने र बाहिरिने टनेलमा मेसीले नेदरल्यान्ड्सको नम्बर १९ (वाउट वेघरोस्ट)माथि रिस पोख्न आफ्नो लाइभ टीभी अन्तर्वार्तामा बाधा पुर्याए । उनले अन्तर्वार्ताका क्रममा वेघरोस्टतर्फ हेर्दै भनेका थिए– यहाँबाट जाऊ बेबकुफ ! यहाँ केका लागि हेरिरहेका छौँ ?
“उनले देखाएको यो स्पष्ट रूपमा सामान्य रिस थिएन,” अराउहो भन्छिन् । बालागुई पनि मेसीले प्रतिक्रिया जनाउँदा आफू को हो भन्ने समेत बिर्सिएको बताउँछन् ।
मेसीको यो रिस बुझ्न उनको बाल्यकालमा पुग्नुपर्छ । रोसारिया सहर अर्जेन्टिनी राजधानीभन्दा ३०० किलोमिर उत्तर–पश्चिममा पर्छ ।
“विश्वकपमा अर्जेन्टिनी र विश्वभरका समर्थकमाझ मेसीका लागि एक स्थान छ । र, सेलिब्रेसन उसको वरिपरि भएका मानिस र उसले त्यसमा सहज महसुस गरेको कुरा हो । किनकि, ऊ १२ वर्षका हुँदा रोसारियोको सडकमा त्यस्तै (रिसाहा) थियो होला,” बालागुई भन्छन्, “त्यसपछि उनी बार्सिलोना गए । त्यहाँ उनी फरक व्यक्ति हुनुपर्यो, क्याटालनजस्तै । आफ्नो सहरभन्दा पर भएकाले उनी अझ शान्त भए । रोसारियोमा बिताएको बाल्यकालको त्यो स्वभाव भने उनीभित्र अझैसम्म थियो ।”
बालागुई थप्छन्, “उनी म्याराडोना बनेका हैनन् । विश्वकपमा जसरी उनलाई देखियो, सबै उनीभित्र रहेको रोसारियोको मेसी थियो ।”
मेसीले वेघरोस्टलाई गिज्याउन चयन गरेको ‘बोबो’ बालबालिकाले प्रयोग गर्ने शब्द भएको बालागुई र अराउहो बताउँछन् ।
अर्जेन्टिनी गोलकिपर मार्टिनेज पनि मेसीको परिवर्तन ‘एक स्कुलको आक्रामक भीडमा गलत बालक परेको’ बालागुईको तर्कमा सहमत जनाउँछन् ।
“उनले यसअघि राष्ट्रिय टिममा खेलेका खेलाडीभन्दा सायद हामी धेरै आक्रामक छौँ होला,” मार्टिनेजले भने, “यसैकारण उनी थोरै हामीजस्तै (खराब केटा) बने ।”
साउदी अरेबियासँग २–१ को अप्रत्यासित हारपछि विश्वकपकै दाबेदार अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको थियो । “साउदी अरेबियाको खेलपछि मिडिया बक्सबाट बाहिर निस्किन मेसीलाई करिब एक घण्टा लाग्यो,” बालागुईले भने, “उनी सबैलाई ‘हामी यो नतिजाभन्दा राम्रो छौँ’ भन्दै थिए ।”
गोलकिपर मार्टिनेज थप्छन्, “उनले हरेक ब्रोडकास्टरसँग कुरा गर्दा एउटै कुरा दोहोर्याइरहेका थिए, ‘हामीमा विश्वास राख्नुहोस्, हामी तपाईंहरूलाई तल हुन दिँदैनौँ, हामीसँगै रहनुहोस्’ मेसीले भनेको यो निकै बलियो वाक्य थियो ।”
“मलाई लाग्छ, राम्रो तरिकाले सही नेतृत्वकर्ता बनेकामा कतार विश्वकपमा हामीले मेसीबाट अझै धेरै आनन्द उठायौँ,” मेसीका पूर्वअर्जेन्टिनी सहकर्मी जाबालेटा भन्छन्, “कठिन अवस्थामा मेसी अघि बढेर कुरा गर्थे । उनी त्यस्तो अवस्थामा कुनै अनुभवविहीन खेलाडीलाई पठाउन चाहँदैन थिए । र, यो निकै राम्रो कुरा थियो ।”
विभिन्न घटनाक्रमका कारण त्यति बेला मेसीले उनमा रहेको ‘भित्री म्याराडोना’ भेट्टाएको भन्दै अखबार तथा म्यागेजिनका आर्टिकलमा ‘म्याराडोनाकरण’ भए ।
तर, विश्वकपमा मेसीले म्याराडोनालाई पछ्याइरहेको वा म्याराडोनाजस्तै बनिरहेको भन्ने विचारसँग अराउहो असहमत छिन् ।
“मैदानमा मेसी सधैँ मुस्कुराइरहेका हुन्थे । उनको शिर उचो हुन्थ्यो । उनी आत्मविश्वासी थिए,” उनी भन्छिन्, “मेसीले आफ्नो परिवर्तनलाई स्वीकार गरे । मेसीले अप्ठयारो स्थितिमा घुलमिल हुन अप्ठयारो महसुस गरेनन् । मानिस ‘मेसीले म्याराडोनाको स्वभाव बोकेको हो, मेसीको शरीरबाट म्याराडोना बोलिरहेका छन्’ भन्ने जस्ता कुरा लेखिरहेका हुन्थे । पक्कै पनि मेसी म्याराडोना बनेका हैनन् । मेसीले यो स्वभाव आफैँभित्र विकास गरेका हुन् ।”
अराउहो थप्छिन्, “यसअघिका धेरै वर्षसम्म मेसीमा अझ राम्रो प्रदर्शन गर्ने, अझ धेरै अर्जेन्टिनीजस्तो वा म्याराडोनाजस्तै बन्ने ठूलो दबाब थियो । मलाई लाग्छ, लामो समयसम्म मेसीले यस कुरामा असहज महसुस गरिरहे । यो (कतार) विश्वकपका दौरान मेसीमा हेर्न लायक सबैभन्दा रोचक कुरा उनी आफ्नो स्वभावमा सहज महसुस गरिरहेका थिए । प्रदर्शन देखाउनुपर्ने दबाब पनि केही कम थियो ।”
आफ्नो करियरको अन्त्यतिर पनि ‘लडाईं’ कायम राख्नु कतारमा मेसीको सबैभन्दा ठूलो उपलब्धि भएको उनी बताउँछिन् ।
“त्यो धेरै रोचक संयोजन हो । सन् २००६ को विश्वकपमा उनी निकै आश्चर्यजनक रूपमा क्वार्टरफाइनल खेलका दौरान बेन्चमा सीमित बने । उनले अन्तिम आठमा जर्मनीसँगको खेल खेल्न पाएनन् । त्यहाँ एक रिस पोख्न नसकिने असन्तुष्टि र बच्चाजस्तो प्रतिक्रिया थियो । त्यसैले कतारमा देखेको मेसीमा हामी अचम्मित थियौँ,” अराउहो भन्छिन्, “यो भावनात्मक परिपक्वतामा ठूलो प्रगति हो । र, मलाई लाग्छ– लगभग दुई दशकको करियरमा त्यो वृद्धि देख्न पाउनु सुन्दर कुरा हो ।”
मध्यपूर्वमा मेसीको मस्तिष्कमा जे कुरा चलिरहेको भए पनि त्यसले उनको एक मात्र लक्ष्य विश्वकप विजेताको सपना साकार पार्न मद्दत गर्यो ।
अर्जेन्टिनी गोलकिपर मार्टिनेज भन्छन्, “मलाई लाग्छ, यो विश्वकपपछि मेसीले फुटबल पूरा गरे ।”
(बीबीसीमा प्रकाशित स्टोरीको भावानुवाद)