site stats
बाह्रखरी :: Baahrakhari
देश
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
फाइल तस्बिर।

काठमाडौं । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ ।

महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन् । ती स्थानीय तहका ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिलेसम्म दादुराको प्रकोपबाट बाँकेको नेपालगञ्जमा एकजनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यही जेठ २४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा प्रकोप प्रभावित जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ ।

दादुरा रुबेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्छ । मन्त्रालायले यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरेको छ ।

महाशाखाले काठमाडौंका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाएको छ । सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई दादुराको शङ्कास्पद केस नगरपालिका र स्वास्थ्य सेवा विभागमा प्रतिवेदन पेस गर्न अनुरोध गरिएको छ ।

यस्तै, दादुराको निगरानीको लागि सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्