काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले सुरु गरेको ‘रुपान्तरण अभियान’अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भएको छ । आइतबार अभियानअन्तर्गत प्रदेश राजधानी दाङमा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सोक्रममा अभियन्ताहरूले पार्टीभित्र देखिएको विकृतिबारे कार्यकर्तालाई सचेत तुल्याएका छन् । उनीहरूले लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा रुपान्तरण अभियानका नेताहरुले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेका छन् ।
कार्यक्रममा कांग्रेसका नेता तथा रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे ।
कांग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसीले पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गएर चल्न थालेको बताए । उनले त्यो परिस्थितिलाई सच्याएर नयाँ रुपान्तरणको बाटो खोज्न आफूहरुले अभियान सञ्चालन गरेको बताए ।
अभियन्ता रन्जित कर्णले बीपी जन्माएको पार्टीमा विचौलियाहरु हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए । नेतृत्वकर्मीहरु पार्टी र कार्यकर्ताहरुको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो ।