काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्देशनपछि २०८ वटा संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् ।
बुधबारसम्म ३२ वडाका २०८ विद्यालयले विवरण पठाएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।
महानगरले गत जेठ १० गते सूचना जारी गर्दै ३४२ संस्थागत विद्यालयलाई जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको विवरण महानगरमा पठाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरले जेठ २३ सम्मको म्याद दिएको थियो ।
जेठ २३ गतेसम्म २०८ विद्यालयले मात्रै निर्देशनबमोजिमको विवरण उपलब्ध गराएपछि महानगरले बुधबार पुनः सोही विवरणको सूचना सार्वजनिक गरेको थियो ।
सो सूचनामा जेठ २८ गतेसम्म विवरण नपठाउने विद्यालयलाई सञ्चालनका लागि प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा हदैसम्मको कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।