काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका केशवप्रसाद दुलालका वकिलले उनी ठग नभएर आफैँ ठगिएको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
सरकारी वकिलबाट सुरु भएर जाहेरीवाला हुँदै अहिले अभियुक्ततर्फका वकिलको बहस सुरु भएको छ । बहसका क्रममा दुलालका वकिलहरूले उनकी श्रीमतीलाई क्यान्सर भएको, उपचार गर्न कठिन भइरहेको र अमेरिका गए उपचार गर्न सक्ने भएकाले नक्कली भुटानी शरणार्थी बनेर उनी आफैँ अमेरिका जान लागेको बताएका छन् ।
उनीहरूले दुलाललाई ठगिको योजनाकारका रूपमा प्रस्तुत गरिए पनि उनी आफैँ अमेरिका जान पाउने भनेर पैसा दिएर ठगिएको उनीहरूको दाबी छ । दुलालका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता विश्वास आचार्य, विकास थापा, राज भट्टराईसहितले दुलालविरुद्ध ठगीको आरोप लगाए पनि पुष्टि हुने आधार नरहेको जिकिर गरे । “अभियोगपत्रमा मौकाको बयान (प्रहरी अगाडि) सन्देश शर्माले म र मेरा आफन्त समेतबाट एक करोडभन्दा बढी लिएर म आफैँलाई ठगिएको हो भनेको अवस्था छ,” अधिवक्ता विकास भट्टराईले भने, “इजलासमा बयान गर्दा मौकाकै बयान पुष्टि भएको छ ।”
उनले दुवै बयानबाट उनी ठगीमा संलग्न भएको नभएर आफैँ ठगिएको पुष्टि हुने उनको दाबी छ । यस्तै अधिवक्ता भट्टराईले दुलालले रकम फिर्ता माग्दा उल्टो धम्की पाएको भन्दै आफैँ अमेरिका जाने प्रयासका लागि पहल गरिरहेको व्यक्तिलाई ठगी पुष्टि नहुने बताए । संगठित अपराध पुष्टि हुने आधार पनि नरहेको वकिलहरूको दाबी छ ।
संगठित अपराध लागि संगठन बन्नुपर्ने, अपराधमा जिम्मेवारी बाँडफाँट हुनुपर्ने र त्यसको परिचालक हुनुपर्ने भन्दै त्यस्तो अवस्था पनि नरहेकाले संगठित अपराधको आरोप पुष्टि नहुने दाबी गरेका छन् ।