site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद पौडेलको संकल्प प्रस्ताव सर्वसम्मत स्वीकृत

काठमाडौं । वाग्मती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उनले पेस गरेको सो संकल्प प्रस्ताव स्वीकृत भएको हो ।

बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलगायत नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकामा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिकरूपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै संकल्प प्रस्ताव पेस गरेका थिए। उनले नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको अवगत गराउँदै उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए ।

Argakhachi Cement Island Ad

उक्त संकल्प प्रस्तावलाई दलगतरूपमा नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए।

संकल्प प्रस्ताव पेस हुनुअघि प्रदेशसभा नियमावलीको नियम निलम्वन गरिएको थियो । सत्तारुढ दल माओवादी केन्द्र वाग्मती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागु हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए  । उक्त प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्