कठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक जारी गरेर राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह गरेको भन्दै धन्यवाद दिएका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायित्व निर्वाह गरिदिँदा नागकिरताको मूल समस्या समाधान भएको प्रतिक्रिया दिए ।
“नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक दायित्व निर्वाह गर्नुभएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,” अध्यक्ष यादवले बाह्रखरीसँग भने, “अब नागरिकताको मूल समस्या समाधान भएको छ ।”
बाबु आमा नेपाली नागरिक नै भएर पनि ठूलो संख्याका नागरिक नागरिकताविहीन भएको मूल समस्या नागरिकता विधेयक प्रमाणीकरणसँगै समाधानको बाटोमा गएको बताए ।
“अझै पनि केही समस्या बाँकी रहन्छन्,” यादवले भने, “कसैको बाबु आमा वंशजको नागकिरता भएर पनि सन्तानको नागरिकता जन्मका आधारमा छ । कसैका बाबुआमा छैनन्, दाजुहरुको नागरिकता भएर पनि उ नागरिकताविहीन छ ।”
उनले यस्ता समस्या प्राविधिक समस्या भएको भन्दै त्यसलाई सच्याउँदै जानुपर्ने बताए ।