काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको पहिलो बैठक सिंहदरबारमा जारी छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरे ।
सभामुख घिमिरेले समितिमा अनुभवप्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रधानन्यायाधीश नियुक्तिलगायत कामको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
अध्यक्ष तिमिल्सिनाले संवैधानिक परिषद्बाट आउने कतिपय सिफारिसलाई गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरी काम गर्ने विश्वास व्यक्त गरे । उनले सिफारिस भएर आएका व्यक्तिका बारेमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशनभन्दा पनि आफूले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिलाई आग्रह गरे ।