site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
पुरुषोत्तम बस्नेतको स्मृति

स्मरणीय व्यक्तित्व पुरुषोत्तम बस्नेतको स्मृति अर्थात् सम्झना शक्तिको विषयलाई शब्द श्रद्धाञ्जलिको अग्र पंक्तिमा मिसाउने इच्छा भएको छ । उहाँप्रति लक्षित अर्को विषय हो – विद्रोह, विद्रोही पुरुषोत्तम बस्नेत । 

उहाँलाई लेखक, पत्रकार, राजनीतिज्ञ, साहित्यकार आदि आयाममा धेरैले बुझे, लेखे । नेपालको प्रजातान्त्रिक आन्दोलन जो नेपाली कांग्रेसको इतिहास पनि हो यस विषयमा लेखक बस्नेतका दुई कृति प्रकाशित छन् – भाग १ र २ । ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ । २०१७ सालसम्मका दुई भाग । अरु भाग प्रकाशोन्मुख रहेको जानकारी श्रद्धाञ्जलि कार्यक्रममा दिइएको छ । 

इतिहास लेखनले उहाँलाई लेखकीय विधाका तमाम आयामबीच इतिहासकारको पहिचानसमेत आर्जन भएको छ । विविध विषय विधाका सिद्धहस्त लेखक बस्नेतलाई लेखनको निश्चित विधामा सीमाबद्ध गरेर लेख्नु एकांगी हुनेछ । तर उहाँको खास विषय लेखनमाथि समीक्षा भने त्यही विषयलाई किटेर गर्न सकिन्छ । उहाँको उपन्यास पढेको छैन, बाँकी सबै विधामा उहाँ प्रकट हुनुभएको छ । 

Dabur Nepal
NIC Asia

मेरा जानकारीमा आएसम्म उहाँको स्मरण शक्तिको सम्झनामा लेखिएको देखिएको छैन । पछि लेखिँदै जाला । अद्भूत सम्झना शक्ति थियो पुरुषोत्तम दाइमा । अरुले ती कुरा लेखे । मैले यही रोजेँ – ‘सम्झना शक्ति र विद्रोही बस्नेत’ । प्रजातान्त्रिक आन्दोलन, खासगरी नेपाली कांग्रेसको इतिवृत्त कण्ठाग्र थियो उहाँलाई । कांग्रेस, कांग्रेसका नेता, स्वदेश वा प्रवासका गाथा, तिथि, मिति र स्थानसमेत मुखाग्र बताइदिनु हुन्थ्यो बस्नेत दाइ अस्तिसम्म । अस्ति अर्थात् बित्नुभन्दा अस्ति । 

उहाँ प्रचारमुखी हुनुहुन्थेन । कर्ममुखी, निरन्तर कर्ममुखी । जुन दिन बित्नुभयो, बैशाख २९ गते विहान ४ बजेतिर उहाँले भतिज प्रबलसँग कपी, कलम माग्नु भएछ । केही लेख्न । यही उदाहरण पर्याप्त छ उहाँको कर्मयोग बुझाउन । कलम, कपी च्यापेरै उदाउनु भएको लेखक बस्नेत कलम, कपी च्यापेरै लौकिक देह अस्ताउनुभयो । 

अनुकरणीय ऊर्जाशील उहाँको विषयमा उहिल्यै लेख्ने इच्छा थियो । तर, हाम्रो परम्परा देह अस्तपछि लेख्ने र लेखले त्यसपछि ठाउँ पाउँछ कि भन्ने बसेको छ । यही परम्परा उहाँप्रति पनि अपनाएँ । स्व. पुरुषोत्तम बस्नेतप्रति लेख्नु पनि सभ्य समाजले कृतज्ञता व्यक्त गर्नुपर्ने गुनिलो व्यक्तित्वलाई लिपिमा पढ्न दिनु हो ।     

छोटकरीमा पहिचान विशेषमा प्रस्तुत गर्दा प्रजातान्त्रिक राजनीतिका योद्धा । निष्ठावान । नैतिक चरित्रका पुञ्ज । दृढ अडान र शालीन व्यक्तित्व । मसिनो स्वरमा गहन तर अविचलित आदर्शका अभिवक्ता । उहाँको जीवन निरन्तर कर्मयोगको संयोजन हो । साहित्यकारिता, पत्रकारिता, इतिहास लेखन । सँगसँगै राजनीति । 

यस्ता गुण र उहाँको आयामिक प्रस्तुतिले नै ‘पुरुषोत्तम’ नाम सार्थक भएको दुर्लभ व्यक्तित्व पहिचानमा स्व. बस्नेतलाई स्थापित गरिदिएको छ । 

झन्डै चालीस के, उनन्चालीस सालबाट निधन अघिसम्म मैले उहाँको सान्निध्य पाएँ – ४१ वर्ष । जतिबेला नेपाली कांग्रेसको कार्यालय जमलमा थियो । प्रतिबन्धित कांग्रेस भन्न तत्कालीन पञ्चायती शासनले बाध्य पारेको त्यो बेला । उहाँलाई चिने । त्यही स्वभाव, शैलीमा अहिलेसम्म चिने ।

निधनको तीन दिनअघि मोबाइल टेलिफोनमा उहाँसँग कुरा भएको थियो । बाहिर छु, घर फर्केपछि कुरा गर्छु । घर आएर फोन गर्नुभयो । तर लामो कुरा गर्नुभएन । सायद् मेरो चित्त बुझाउनेमात्र गर्नुभयो । अरु बेला लामै कुरा हुन्थ्यो राजनीतिक आदि । स्वास्थ्य सोधेँ । सधैँ झैँ ठीक छु होइन, ठीकै छ भन्नुभयो । घर जाने सोच्दासोच्दै तीन दिनपछि लौकिक सम्मिलन असम्भव भयो । डेढ साताअघि घर सिफलमा भेटेको थिएँ । 

अचम्म लाग्थ्यो उहाँको सम्झना सुनेर । सोधेको तिथिमिति लेखेर राखे होे, नभए एक दुई दिनमा बिर्सने कमजोरीले ग्रस्त मलाई । उहाँसँग नजिक भएर सोध्नेहरुलाई यो कुरा पक्कै थाहा छ याद होला । व्यक्तिको सम्झना शक्तिलाई उजागर रेकर्डेट अडियो–भिडियोबाट हुनसक्ला तर लेखनीको लागि यो विषय अमूर्त हुने रहेछ । भोक्ता, श्रोतालाई मात्र साक्षात हुने । यो रहस्यसँग आजै आत्मसात गरेँ ।

अर्को विद्रोही व्यक्तित्व बस्नेत । जीवनभरका विद्रोही । साहित्यमा ‘अमलेख’ आन्दोलन होस् कि ‘सिउँडी’ प्रकाशन ।  मुकुट, पूजा, कल्पना आदि पत्रिकाको सम्पादनमा संलग्न उहाँ राष्ट्रपुकार, राजधानी लगायत पत्रिकाको प्रकाशनमा पनि सम्बद्ध हुनुहुन्थ्यो । 

Basnet1683878613.jpg

राष्ट्रपुकार नेपाली कांग्रेसको मुखपत्रजस्तै । राजधानी प्रजातन्त्रको सहयोगी प्रकाशन । यी दुवैमा उहाँको नेतृत्वमा काम गर्ने भाग्य जुरेको हो । पत्रकारिताको यात्रामा मेरा लागि यो अवसर कोसेढुङ्गा सरह हो । अरु साहित्यिक पत्रिका जो माथि लेखिए ती आफूले देखे, पढेको होइन, छैन । 

राजनीतिका विद्रोही लेखक बस्नेतले साहित्यमार्फत समेत विद्रोहलाई सशक्त आवाज मुखरित गरेको जान्नेबुझ्नेहरु भन्छन् । पञ्चायतको पछिल्लो कालखण्डमा यहीरुपमा चिनेको उहाँको पछिल्ला लेखनी पनि विद्रोहकै परिचायक हुन् ।

उहाँको विद्रोहमा मानिसप्रति प्रेम थियो । समाजप्रति लगाव थियो । मानिसको स्वतन्त्रताप्रति समर्पण थियो र विविध विचारप्रति सम्मान थियो । स्व. बस्नेतको जीवन दर्शन वा विद्रोहको सन्देश यही हो । मर्म यही हो । जो मैले नजदिकीमा भेटेँ ।    

उहाँ निहत्थाको हत्या गर्ने विद्रोही होइन । समाजमा हत्या, हिंसा सिकाउने ध्वंशात्मक मान्छे पनि होइन । मानिसलाई बाँच्न सिकाउने, बचाउन सिकाउने बस्नेतको लौकिक विद्रोह आदर्शविरुद्धको समर्पण थिएन । लक्ष्यप्रति अविचलित व्यक्तिको प्रेरणा दुनियाँलाई उपयोगी हुने रहेछ । 

स्व. बस्नेतको निधनको तेह्रौं दिन जसलाई पुण्यतिथि पुकारिन्छ । यही दिन लेखेँ बिहीबारको लागि । श्रद्धा, श्रद्धाञ्जलि पुरुषोत्तम बस्नेत ।                
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro