
काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले दुई हजार दरको नोट प्रयोगबाट हटाउने निर्णय गरेको छ । आरबीआईले शुक्रबार गरेको निर्णयको असर नेपालको अनौपचारिक बजारमा समेत पर्ने देखिएको छ ।
नेपाल सरकारले नेपालमा भारतीय १०० रुपैयाँको नोटमात्र कारोबारको लागि अनुमति दिएको छ । ५०० र दुई हजार दरको नोट प्रयोग गर्न प्रतिबन्ध थियो ।
सन् २०१६ मा भारतले ५०० र एक हजार दरको नोट प्रतिबन्ध लगाएको बेला औपचारिक माध्यममा नै असर गरेको थियो । राष्ट्र बैंकमा रहेको ५०० र एक हजार दरको करिब आठ करोड १० लाख रुपैयाँ बराबरको नोट नै अहिलेसम्म साटिएको छैन ।
अहिले राष्ट्र बैंकले १०० रुपैयाँको नोटमात्र सटही सुविधा दिने गरेको छ । राष्ट्र बैंकले आरबीआईसँग १०० रुपैयाँको मात्र नोट मात्र किन्ने गरेको छ ।
दुई हजारको नोट ३० सेप्टेम्बरसम्म सटही गर्ने सुविधा आरबीआईले दिएको छ ।
नेपालको औपचारिक प्रणालीलाई यसको असर भने पर्ने छैन । नेपालले औपचारिक रुपमा दुई हजार दरको नोट प्रतिबन्ध लगाएको छ । तर, अनौपचारिक कारोबारमा भने दुई हजार दरको नोट प्रयोग हुने गरेको छ ।
नेपाल घुम्न आउने भारतीय पर्यटकले होटेलदेखि लिएर सीमावर्ती क्षेत्रमा दुई हजारको नोटको प्रयोग हुने गरेको छ । भारतमै पनि पछिल्लो दुई वर्षदेखि यसको दुई हजार दरको नोटको प्रयोग भने घट्दो क्रममा रहेको थियो ।
विराटनगरका व्यवसायीहरुका अनुसार दुई हजार दरको भारतीय नोट प्रचलनबाट हटाउने निर्णयको ठूलो असर बजारमा पर्ने छैन । “ठूलो मात्रामा व्यवसायीहरुसँग दुई हजारको नोट रहेको छैन,” एक व्यवसायीले भने, “ठूलो मात्रामा असर गर्छ भन्ने लागेको छैन ।”
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले दुई हजार दरको भारतीय नोटको कारोबार गर्न नेपालमा प्रतिबन्ध लागेको हुँदा असर नपर्ने बताए ।
“कानुनी रुपमा हामीले प्रयोग गर्न यसलाई प्रतिबन्ध लगाएपछि गैरकानुनी काम भएको छैन भनेर हामीले बुझेका छौँ,” भट्टले बाह्रखरीसँग भने, “प्रतिबन्ध रहेको कुरा प्रयोग गर्ने जिम्मा हामीले लिन सक्ने कुरा भएन ।”