site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
देश टुहुरो नहोस्

– शिव प्रकाश


काठमाडौं टिचिङ अस्पतालको गणेशमान सिंह भवन । तेस्रो तलाको उत्तरपूर्वी कुनाको खाली कोठा । एक सत्याग्रहीको तपोस्थल !

भोलिपल्ट बिहानै उड्नु थियो । झन्डै ४ सय ज्यान उडाउने हवाइजहाजले मेरो शरीर पनि उडाउँथ्यो तर मन त आफैंले उडाउनु पर्छ । त्यो बडेमानको हवाइजहाजभन्दा भारि भयो मन । सत्याग्रही डा. गोविन्द केसीलाई नभेटी उड्न मानेन, त्यो मन ।

Dabur Nepal
NIC Asia

मातृभूमि टेक्नेबित्तिकै उहाँलाई भेट्न गएको मनले शरीरलाई तानेर उतै लग्यो । मन र शरीरको तालमेल मिलेको थिएन तर केही लागेन, थकित शरीरको । त्यो दिन पनि गएँ ।

तेह्रौं सत्याग्रहको पाँचौं दिन । दाहिने हातमा स्लाइन पानीको निडल गाडिएको छ । सिरानीतिर अक्सिजनको सिलिन्डर ठडिएको छ । सिलिन्डरसँगै तपस्वीको शरीर लडेको छ ।

आफ्नै मनलाई सोधेँ– यो देशलाई किन चाहियो डा. गोविन्द केसी ? 

जुन देशमा डन, गुन्डा, दलाल र माफिया राजनीतिक नेतृत्वको दाहिने हात बनेर खेलिरहेका छन्, चोर, डाँका, लुटेरा, हत्यारा, बलात्कारी र भ्रष्टाचारीहरु देब्रे हात बनेर चल्मलाइरहेका छन्, जुन देशमा चरी र घैंटेजस्ता डरलाग्दा अपराधी मारिँदा संसद अवरुद्ध हुन्छ, सहिद घोषणा गर्नुपर्ने माग राख्ने अपराधीका नाइके देशका शीर्ष नेता हुन्छन्, ल्यारक्याल र कृपासुर जस्ताले देशको डाडुपुन्यु चलाउँछन्–– यस्तो देशमा डा. केसीजस्ता सत्य, न्याय र निष्ठाका पुजारीको के काम ? मनले मनसँग सोधिरह्यो ।

योभन्दा दुराचारी र व्यभिचारी राजनीतिक नेतृत्व कहाँ भेटिएलान् ? योभन्दा बढी राजनीतिक पापाचार कहाँ होला ?

यस्तो दुष्ट राज्यमा डा. केसी किन जन्मिए ? जो निष्ठालाई धर्म मान्छन्, परोकारालई कर्म भन्छन्, सत्यलाई प्राण ठान्छन् । तर, यो दुष्ट राज्यमा परोपकारको के अर्थ ? धर्म र निष्ठाको के काम ? सत्यको के मूल्य ? विधि–विधान, नीति–नियम, नैतिकता, इमान्दारी र कर्तव्यपरायणताको के आवश्यकता ? जहाँ कुकर्मलाई कर्म ठानिन्छ । धर्म मानिन्छ, पुजिन्छ । 

आफ्नो कोही नभएको तर सबैलाई आफ्नो देख्ने यी परमपरोकारी यो दुर्दशा ! जसले आफ्ना लागि कहिल्यै केही खोजेन । सधैं अरुका लागि भोकभोकै लडिरेहे । भित्रभित्रै भरियो मन । मनले मनसँग साह्रै मन दुःखायो ।

डाक्टर साहेबसँग आँखा जुधे । मलिन अनुहारमा गाडिएका उनका आँखा एकछिन एकतमासले टोलाए, मेरा आँखा रसाए । एउटा सत्याग्रहीमाथि क्रूरताको त्यो पराकाष्ठा कति हेर्नु !

सत्याग्रहको अर्थ कसले बुझ्ने ? सत्यको आग्रह कसले सुन्ने ? पूर्वीय दर्शनको परमशक्ति हो, सत्याग्रह । आध्यात्मिक बल हो, सत्याग्रह । तर, गुन्डा, दलाल र माफियाको मानो खाएर बाँचेका दुष्ट नेताले कसरी बुझून् यो परम सत्यको अर्थ ?

सत्याग्रह बुझ्न मानिसमा नैतिक बल चाहिन्छ । नैतिक बल त्यसैमा हुन्छ, जसमा प्रेम, दया, करुणा र श्रद्धाभाव हुन्छ । मानिस नैतिक रूपले पूर्ण पतन भएपछि प्रेम, दया, करुणा र श्रद्धा शून्य हुन्छ । मानिसबाट पनत भएर शून्य बनेको मानिस नै राक्षस हुन्छ । यो लोकतन्त्र हो कि राक्षसतन्त्र ? मनमनै सोचिरहेँ ।

निकैबरे मानोवादमा डुबेँ, डाक्टर साहेबलाई हेरिरहेँ । मौनता साँधियो । आँखा बोले । आँखाको भाषा उहाँले बुझ्नुभो । मैले बुझेँ । तर, बुझ्नु पर्नेले कहिल्यै बुझेनन् ।

कसले गरेका होलान्, एउटा सत्याग्रहीलाई तेह्रौं पटकसम्म भोकैप्यासै लडाउने दुष्टता ? संसारका कुनै तानशाहले शायद गरेका छैनन् । देशको राजनीतिक नेतृत्व यति पतीत होला भन्ने कसले सोचेको छ ? पतनको योभन्दा अर्को नमुना संसारमा छैन भन्ने बुझ्न मेरो मनलाई गाह्रो भएन ।

राजनीतिमा लज्जाहीनताको कुनै सीमा देखिनँ । सरकारमा बसेकाले पटक–पटक सम्झौता गरे ।  र, हरेकपटक डा. केसीलाई धोका दिए, घात गरे । तर, यो धोका डा. केसीलाई हैन, समग्र राष्ट्रलाई भएको छ । घात डा. केसीमाथि हैन, साढे ३ करोड नेपालीमाथि भएको छ । यो धोका र घातको गहिरो महसुस डा. केसीले मात्र गर्नुभएको छ । जसले महसुस गर्छ, त्यसैलाई दुख्छ । साह्रै दुःख्छ । दुखेको डाक्टर केसीलाई हो तर घाउ राष्ट्रको हो । घाउ जनताको हो । राष्ट्र र जनताको घाउ पालेर एक्लो डाक्टर केसी कतिन्जेल बाँच्ने ? माफियाका नाइके नेता भएको राष्ट्रको घाउलाई एक्लो डा. केसीले कति मलमपट्टी गर्नु ? मनमनै प्रश्न गरेँ ।

मनमनै भनें– डा.साहेब तपाईं यस्तो देशका जनताका लागि लड्दै हुनुहुन्छ, जसले आफूलाई ‘भेडा’का रूपमा स्वीकारेका छन् ।

नेताले जनतालाई मुखले जर्नादन बनाएका छन् तर मनले भेडा ठानेका छन् । नेताका मनको बोली एउटै छ, जनता भेडा हुन् । नेताले देश मासिसकेका छन् । नेता नै भन्छन्– भेडालाई देश किन चाहियो ? गोठ चाहिन्छ । नर्कटाको बारभित्र नेता रजगज गरिरहेका छन् । भेडा पहरा बसेका छन् । देशको मृत्यु भइसकेको छ । ‘भेडा’हरू भजन गाइरहेका छन् । जनता होइन, भेडाले भरिएको देश देखेर भित्रभित्रै मनसँग मन रोयो ।

डा. साहेबको शरीर लडिरेको छ । सोचेँ, फगत काँचो शरीरमात्र हैन, त्यो शरीर । एउटा संस्कार हो, त्यो शरीर । भोकले कुँदिएको संस्कार !

तर, त्यो एउटा संस्कारको मृत्यु भइरहेको छ । बेखबर छ दुनियाँ । समाजका नांगा आँखा भारतीय सिनेनायिकाका विकिनी हेर्दै छन् । नग्नताका भोका ती आँखा नांगो तस्बिरको परख गर्दैछन् । अखबारमा जे छापिन्छ, त्यही हेर्छन्, ती आँखा । समाचारमा जे लेखिन्छ, त्यही पढ्छन् समाजका आँखा । दुर्भाग्य, मूलधारका अखबारको मृत्यु !

त्यसैदिन बिहानको एक नेपाली दैनिकको मृत्यु देखे मेरा आँखाले । अखबारको मृत्यु सत्य हो । सत्य क्रूरमात्र होइन, दुष्ट पनि हुन्छ, जोे सत्यसँग डराउँछन् ।

भोको हुनुहुन्छ डा. केसी । डा. केसीको भोक फरक छ । उहाँको भोकभित्र निष्ठाको भोक छ । न्यायको भोक छ । सदाचारको भोक छ । इमानको भोक छ । कसैलाई नलाग्ने भोक लागेको छ, उहाँलाई ।

भोक थरीथरीका हुन्छन् । खाने भोक र भोक पाल्ने भोक । डा. केसीले भोक पाल्नुभएको छ । डा. केसीले पालेको भोकको समग्र रूप हो, मानवताको भोक ! ३ करोड नेपालीमा एउटा नेपालीलाई मात्र लाग्ने भोक हो यो ।

भोका अरु पनि छन् । देशका नेता सबैभन्दा भोका छन् । दुष्टताको भोक ! अन्यायको भोक ! दुराचारदको भोक ! बेइमानीको भोक ! यी भोकको समग्र रूप हो, दानवताको भोक । अर्थात नेताको भोक ! जो बाँच्नका लागि खाने हैन, खानका लागि बाँचेका हुन्छन् ।

नेता भनेको रक्षक हो । मान्छे नेता भएर मान्छेकै रूपमा उभिन सक्यो भने रक्षक बन्छ । मान्छे नेता भएर मान्छेका रूपमा उभिन सकेन भने भक्षक बन्छ । देश राक्षसी राज्यमा परिणत भइसेकेको छ । नेता रक्षक नभएर भक्षक भएपछि राज्य राक्षसी हुन्छ । मनको बह मनसँग पोखेँ । 

नेतामा शक्ति भएको भए देशलाई देशजस्तो बनाउथे । बुद्धि भएको थिति र संस्कारले सजाउँथे । दुबै नभएपछि माफियाका नाइके बनेर देशप्रति दुराचार गर्छन् । राष्ट्रघात गर्छन् । राष्ट्रप्रति इमान्दार हुनु, सबैभन्दा ठूलो राष्ट्रवाद हो भन्ने कुरा भेडाहरू बुझ्दैनन् । राष्टप्रति बेइमानी गर्नु सबैभन्दा ठूलो राष्ट्रघात हो भन्ने कुरा झन् बुझ्दैनन् । बुझून् कसरी ? मान्छे भएर मान्छेको भाषा बोल्न सकेन भने त्यही मान्छे भेडो हुन्छ । जनताविहीन, भेडामय भएको छ देश ।

देख देखेर भित्रभित्रै रोयो मन । झन् कति रुँदो हो, ती तपस्वी डा. केसीको मन ! मनले मनसँग अर्को बह पोख्यो ।

भेडाहरूको देशमा एउटा तपस्वीको तपस्याको अर्थ के ? देश भेडामय भएको देखेर झन् दुःख्यो दुःखेको मन । 

डा. केसीलको भोकलाई माफियाहरू ‘पागल’ भन्छन् । ‘भेडा’हरू मजाकमा उडाउँछन् । मेडिकल कलेजका नाउँमा खोलिएका ‘कसाइखाना’लाई तीर्थस्थल मान्छन् । आफ्नै बली चढाउँछन् । खुसी हुन्छन् । भेडो र मान्छेमा फरक आफैंले देखाउँछन् ।

नेता भएर पनि मान्छे हुन सकेको भए तिनको घाँटी माफिया र भ्रष्टसँग जोडिने थिएन । देश लुटेराहरूको ‘टेरोटोरी’ हुने थिएन । मान्छेले बुझेका छन् । भेडाले बुझ्दैनन् । बुझ्ने मान्छे थोरै छन्, ज्यादै थोरै । नबुझ्ने भेडा धेरै छन्, ज्यादै धेरै । मनको बह कसलाई कह ? मनसँगै पोखेँ ।

डा. गोविन्द केसी राष्ट्रका ‘जीवित सम्पदा’ हुन् । यो सम्पदाको रक्षा कसले गर्ने ? यस्ता तपस्वीलाई मार्न खोज्नेहरूलाई भेडाहरू राष्ट्रवादी भनेर कराइरहेका छन् ।

नेपालको राजनीतिमा बिरालो र छुचुन्द्रोको जोडी बाँधिएको पनि देखियो । तर, जोडिनु र एकता हुनुमा फरक छ । पानीका फोका जोडिएजस्तो जोडिएका वाम एकतामा ‘माफिया माड’ पनि छ भन्ने कुरा भेडाहरूको बुझाइभित्र छैन ।

देशका अर्बपति सर्वहाराहरू कालोधनको चिहानमाथि सुतेका छन् । चिहानमाथि सुत्दाको त्रास उनीहरूलाई थाह छ । अनिद्रा छ । त्यो ‘एकता’ त्यही त्रासको अस्थायी निदान हो, हस्तमैथुन गरेर यौनको स्वाद मेटेजस्तो ।

मनले मनलाई अर्को प्रश्न सोध्यो– अदालतले न्याय दिने हो कि बेच्ने ?

न्याय अमूल्य हुन्छ तर न्याय दिने होइन, बेच्ने बस्तु भएछ । सिंहदरबारको आडमा एउटा ठूलो ‘वेरहाउस’ छ, जहाँबाट अमूल्य न्यायको थोक बिक्री हुँदोरहेछ । धनको रंग पनि दुईखाले हुँदोरहेछ– कालो र सेतो । कालोले मात्र किन्न सक्दो रहेछ, त्यो अमूल्य न्याय ।

मनको इच्छा थियो, डाक्टर साहेबसँगै बसौं । बाध्यतासँग मन पराजित भयो । भारि मन लिएर उडेँ । हिजो डा. साहेबको ६१ औं जन्मदिन । मनभरिको इच्छा थियो, अगाडि उभिएर शुभकामना दिऊँ तर पाइनँ ।

मनभरिको शुभकामना यहीँबाट दिएँ– डा. साहेब तपाईं बाँच्नुपर्छ नत्र देश टुहुरो हुन्छ । 

(बोस्टन, अमेरिका)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro