साहित्य
उद्धव देवकोटा
अश्वमेघ यज्ञपछि छाडेका
स्वच्छन्द घोडाजस्तै बनेपछि
चारै दिशा दौडिन्छन्
उड्छन्
अकासिन्छन्
मानौँ,
मन
हिलियम भरिएको बेलुन हो ।
आकाशमा आकार भेट्छन्
पानीमा रङ देख्छन्
हावामा उमंग स्पर्श गर्दछन्
लड्बडिन्छन्
तरंगित हुन्छन्
मानौँ,
मन
ज्वार उठेको सागर हो ।
अँध्यारो रातमा पनि
रमाउँछन्
टिलपिलाएका स–साना तारासँग
बटुल्छन् प्रेमिल खुसीहरू
पोल्टाभरि
र
निदाउँछन् स्वर्णिम सपनामा
निस्फिक्री
मानौँ,
मन
फुरुंगिएको बालक हो ।
(तिलोत्तमा, रुपन्देही)
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ०६:०४
प्रतिक्रिया दिनुहोस्