site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीयता पुनर्विचार गर्नेदेखि भ्रष्टाचारविरुद्ध अगुवाइ गर्नेसम्मका सुझाव

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पार्टीको 'ग्रास रुट' अभियानको समीक्षासँगै आगामी कार्ययोजनाबारे छलफल चलिरहेको छ । बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत अवस्थाको ब्रिफिङ सकिएपछि केन्द्रीय सदस्यहरूलाई आठ समूहमा विभाजन गरेर छलफल भइरहेको छ । 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आगामी वार्षिक कार्ययोजनका लागि समूहमा नेताहरूले सुझाव दिइरहेका छन् । भोलि बिहान बस्ने स्थायी कमिटी बैठकले कार्ययोजनालाई अन्तिम रूप दिएर बैठकमा पेस गरिने उनले बताए । 

एमाले मंसिर ४ को चुनावपछि केही महिना गाउँ पसेको थियो । ग्रासरुट अभियानले ५०–६० प्रतिशत सदस्यता नवीकरण भएको नेताहरूले ब्रिफिङ गरेका छन् । ग्रास रुट अभियानले देखाएको अवस्थाअनुसार पालिकास्तरमा हुनुपर्ने सदस्यता नवीकरणलाई अझै बढाउने तयारी छ । 

Dabur Nepal
NIC Asia

एमालेले पार्टीलाई सुदृढीकरण गर्न अब पालिकासहित तल्ला कमिटीहरूको अधिवेशन गर्ने तयारी पनि गरेको छ । कमिटीमा युवाहरूलाई बढीभन्दा बढी समेटिने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पार्टीमा युवाहरूको आकर्षण घटेको निष्कर्षसहित एमालेले युवाहरूलाई प्राथमिकता दिन खोजेको हो ।

एमालेले पार्टीको सुद्धीकरण अभियान पनि चलाउने तयारी गरेको छ । 

एमालेले पार्टीलाई चलायमान बनाउन ग्रास रुटजस्तै वर्षभरि नै अभियान चलाउने तयारी गरेको छ । उपनिर्वाचनको गम्भीर संकेत गरेको भन्दै चुनावलक्षित कार्यक्रम चलाउने पनि तयारी भएको एक नेता बताउँछन् । 

एमाले नेता सूर्य थापा भने उपनिर्वाचमा पार्टीले सिट गुमाएको नभएर मत घटेको निष्कर्ष निकालिएको बताउँछन् । 

“उपनिर्वाचनमा एमालेको सिट घटेको होइन, मत घटेको निष्कर्ष निकालेका छौँ । अध्यक्षको प्रतिवेदनमा पनि त्यही छ,” उनले भने । 

प्रचार विभाग उपप्रमुख रिजाल पनि पपुलिजमका कारण परिणाममा फरकपन देखिएको भन्दै त्यो चिरस्थायी नरहने बताउँछन् । 

“पपुलिजमका कारण, व्यवस्थापनमा देखिएका समस्याका कारण र सत्तारूढ गठबन्धनले गर्दा वितृष्णा उठ्ने खालको परिस्थिति निर्माण भएको  छ,” उनी भन्छन्, “त्यसको फाइदा केही शक्तिले लिन खोजकोजस्तो देखिन्छ । यो पानीको फोकाजस्तो हो । हामी अघि बढ्ने बित्तिकै समस्या समाधान भएर जान्छ ।”

समूहगत छलफलमा पार्टीलाई जनजीविकासँग जोड्ने विषयमा सुझाव आएको रिजालको भनाइ छ । 

“हाम्रो पार्टी अहिले पनि नीतिहरूमा सहि छ । नेतृत्वमा सही छ । संगठन पनि अरूभन्दा मजबुत छन् । तर पनि पार्टीलाई बहुमतप्राप्त पहिलो पार्टीका रूपमा कसरी विकास गर्ने । जनजीवीकाका सवालमा कसरी जोड्ने भन्नेमा सुझाव आएको छ,” उनले भने ।

समूहगत छलफलका क्रममा पार्टीलाई भ्रष्टाचारविरुद्धको अगुवा बनाउनुपर्ने सुझाव आएको थापाले जानकारी दिए । 

“पार्टीलाई भ्रष्टाचारविरुद्धको अभियानको अगुवा कसरी बनाउने ? उत्पादनसँग कसरी जोड्ने ?, रोजगारीका अवसरहरू कसरी सिर्जना गर्ने, देशभित्रै रोजगारीका कसरी अवसर सिर्जना गर्ने भन्नेमा छलफल भयो,” उनले भने ।

बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले संघीयता पुनरवलोकन गर्नुपर्ने सुझाएका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणाली लागु गर्नुपर्ने बस्नेतको भनाइ छ । 

“संघीयताको पुनरवलोकन गरौँ । शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऔँ । निर्वाचन कम खर्चिलो बनाऔँ,” उनले भनेका छन्, “राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौँ ।”

उनले दुई कार्यकाल प्रधानमन्त्री, तीन कार्यकाल मन्त्री र चार कार्यकालभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था गर्न सुझाएका छन् । 

पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत र जिल्ला र स्थानीय तहमा ३५ प्रतिशत ४० वर्षमुनिका युवाहरू समेट्नुपर्ने उनको भनाइ छ । 

समूहगत छलफलका क्रममा केही केन्द्रीय सदस्यले विद्यालयमा संगठन बनाउन नहुने पनि सुझाव दिएका थिए । तर, बहुमत सदस्यले पार्टीको आधार नै विद्यालय कमिटी भएको बताएपछि विद्यालय तहको संगठन खारेजीको सुझावले मूर्तरूप पाएन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro