काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान सर्जिओ बुस्केटले जारी सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् ।
चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानाले बुधबार स्रोतबाट आएको जानकारी उल्लेख गर्दै बुस्केटले यस सिजनको अन्त्यसँगै क्लब छोड्ने खुलाएका छन् ।
रोमानाले दाबी गरेअनुसार बुस्केटबारे आधिकारिक विज्ञप्ति २४ घण्टाभित्रै सार्वजनिक हुनेछ । बार्सिलोनाको सम्झौताबाट फुकुवा हुँदा बुस्केट आगामी सिजन ‘फ्री एजेन्ट’ बन्नेछन् ।
बार्सिलोनाको कप्तानी सम्हालिरहेका बुस्केट पछिल्लो १८ वर्षयता क्याटालन क्लबबाट खेल्दै आइरहेका छन् । रोमानाले बुस्केटलाई अमेरिकी मेजर सकर लिग (एमएलएस) बाट प्रस्ताव आएको भए पनि उनको गन्तव्य साउदी अरेबियाको क्लब बन्न सक्ने खुलाएका छन् ।
बुस्केट सन् २००७ देखि बार्सिलोनामा छन् । उनले २००७–०८ बार्सिलोनाको ‘बी’ टिमबाट खेलेपछि सिनियर टोलीबाट खेलेका थिए ।
बार्सिलोनाका लागि ७१० खेल खेलेका बुस्केटले १८ गोल गरेका छन् ।