1683018643.jpg)
सिजुवा (मोरङ) । मोरङको निर्वाचन क्षेत्र नम्बर २ । वि.सं २०७४ मा यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । योपल्ट कांग्रेस नेतृ सुजाता कोइरालाले रिजालको क्षेत्र उछिट्याइन् । रिजालले टिकट नै पाएनन् । सुजाताले चुनाव जित्न सकिनन् ।
निर्वाचनताका पार्टी सभापति शेरबहादुर देउवाको जोडबलमा सुजाताले टिकट ल्याउन सफल भइन् । रिजालले बिनाटिकट चित्त बुझाउनुपर्यो । कांग्रेसभित्रको किचलो र विवादको फाइदा नेकपा (एमाले) ऋषिकेश पोखरेललाई भयो । उनी झिनो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
चुनावमा अरू कसैले टिकट पाए पनि अथवा अरूले नै जिते पनि कांग्रेस नेता रिजालको ‘कनेक्सन’ यो क्षेत्रमा यथावत् छ । यता आएका बेला उनी विराटनगरभन्दा बढी आफ्नै क्षेत्रतिरका जनतासँग भेटघाट गर्न र समस्या सुन्न जान रुचाउँछन् ।
रिजाल यसपटक डा. भगवान कोइरालालाई साथै लिएर आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए । तर नेताको रूपमा नभई ‘समाजसेवी अवतार’ लिएर ।
केही पहिले कोइराला र रिजालको काठमाडौंमै भेटघाट भएको थियो । बालस्वास्थ्यको क्षेत्र सुरु गरेको आफ्नो दीर्घकालीन योजना सुनाएका थिए । रिजाललाई त्यो योजना मन पर्यो । उनकै शब्दमा 'अति मनपर्यो ।
श्रीमती दुर्गा रिजालसँग सरसल्लाह गरे । ‘डा.कोइरालाको अभियानलाई कसरी सघाउने त ?,’ उनले सोधे । त्यसपछि योजना बन्यो ‘पुण्यश्री फाउन्डसनमार्फत’ ।
“पुण्य आमाको नाम, श्री बुवाको । उहाँहरूकै नामबाट पुण्यश्री फाउन्डेसन खडा भयो, आजसम्म जीवनमा यहाँसम्म आइपुग्नको लागि त्यही हो । मानिसले कुन कोखमा जन्मिने छान्न सक्दैन । तर, कुन कोखमा जन्मियो त्यसले फरक पार्छ । यो कोख पाएर मलाई ठूलो आधार सिर्जना भयो । आमाबुवाका लागि केही गर्ने चाहना थियो । के का लागि गर्ने भन्ने थियो ?,” रिजालले भने, “आफ्नै निर्वाचन क्षेत्रमा कतिपय ठाउँमा जान पनि सकिनँ । चुनाव लड्न आइयो हतार थियो । स्नेह गरेर चिन्ने बित्तिकै प्रतिनिधि बनाएर पठाउनुभयो । यो क्षेत्रलाई सहयोग गर्ने कुरालाई बुवाआमालाई कसरी जोड्छु भन्ने लागेको थियो । टुक्रेभन्दा पनि अलि ठूलै सहयोग होस् भन्ने चाहना थियो । डा. भगवान कोइरालासँग भेटघाट भयो । कुराकानी भयो । अनि उहाँको काममा सघाउने सहमति पनि ।”
रिजालका अनुसार डा. कोइराला थुप्रै मानिसलाई हौसला दिनसक्ने मानिस हुन् । यही आलोकमा कोइरालाको अवधारणा आयो । राम्ररी बुझे र मनपर्यो । झापाको दमकको साटो आफ्नै ठाउँमै भए हुने थियो भन्ने पनि लाग्यो उनलाई । तर त्यो ठाउँ रतुवामाईबाट नजिक पर्छ । विराटनगर आउनुभन्दा दमक पुग्न यसक्षेत्रका मानिसलाई नजिक पर्छ । सिजुवाबाट रतुवा तर्नासाथ दमक पुगिन्छ । मास्तिरबाट उर्लाबारी पुगि मावा तर्नासाथ दमक टेकिन्छ ।
रिजाल भन्छन्, “यो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवाको ठूलो अभाव छ । अझ बालबालिकालाई त कठिन नै छ । डा. कोइराला ठूला ठूला जिम्मेवारी पाउँदा पनि ठिक्क मनपर्ने र गर्नसक्ने मात्र गर्ने व्यक्ति हो । परिवर्तन हुन सक्ने मात्र उहाँले गर्नुभएको छ । यसपटक बालस्वास्थ्यलाई अभियानको रूपमा अघि बढाउनुभएको कुरा मन पर्यो । पैसा नभएका कारण वा पहुँचन भएका कारण मृत्युवरण गर्न नपरोस भनेर सहयोग गरेको हो ।”
कोइरालाले देशका सातै प्रदेशमा विशिष्टीकृत सेवासहितको सामुदायिक बालअस्पतालहरू सञ्चालन गरिरहेका छन् । पहिलो अस्पतालको रूपमा झापाको दमकमा सञ्चालनमा आइसकेको छ ।
डा. कोइरालाका अुनसार यसको ‘सफ्ट लन्च’ नै भइसक्यो । यही अस्पतालका लागि नेता रिजालले पचास लाख नगद सहयोग गरेका छन् । मोरङको रतुवामाई नगरपालिकास्थित सिजुवामा स्थानीय बासिन्दाको उपस्थितिमा रिजालले डा. कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।
रिजालले भने, “म सानो अंश हो । एउटा ठिक ठाउँमा सहयोग गर्नसके । सामाजिक जीवनमा थप सहयोग गर्नका लागि मोटिभेसन हुन्छ । अस्पतालले कहाँबाट स्रोत जुटाउन सकिएला भन्ने रहेछ । मैले पनि जनताले लगाएको गुनलाई पनि फिर्ता दिने काम गर्नुपर्ने नै थियो । बुवाआमाको स्मरणका लागि पनि यो काम ठिक हो । श्रीमतीसँग कुरा गरे । हाम्रो सम्पत्ती एकै ठाउँ हो । पुण्यश्री फाउन्डेसनमा पचास लाख राखेर सहयोग गरेको हो । मेरै परिवारका दिदीभिनाजुले पनि पैसा राख्ने भन्नु भएको छ । नेपालमा सामुदायिक स्वास्थ्य र शिक्षाको क्षेत्रमा दीर्घकालीन रूपमा अरू सहयोग गर्ने चाहना पनि छ ।”
रिजालले निजी अस्पताल धेरै महँगो भएको र बढी नाफा खाने प्रवृत्तिका कारण उपचारमा गक्ष नहुनेले पैसा तिर्नै नसक्ने अवस्था भइसकेको सुनाए ।
के हो डा. भगवान कोइरालाको बाल स्वास्थ्य अभियान ?
डा. भगवान कोइराला पब्लिक वेलफेयरमा नेताहरू काम गर्दैनन् भन्ने मान्यतालाई नेता रिजालले तोडिदिएको बताए ।
विशेष गरी संख्यात्मक हिसाबले बालबालिकाको लागि विशेष उपचार केन्द्र काठमाडौंबाहिर अभाव रहेको अवस्थामा आफूले अध्ययन गरेको सुनाए । आफू यो क्षेत्रमा धेरै समयदेखि काम गरिरहेको र मुटुको सेवालाई स्थापित गर्न एक हदसम्म अनि खुड्किलो टेकाउन सफल भएको बताए । मुटुको सेवा देशभर १६ केन्द्र छरिएको र ८ वटामा मुटुको शल्यक्रियासमेत हुने अवस्था सिर्जना हुनु २० वर्षको प्रगति भएको उनले सुनाए ।
“पब्लिक वेलफेयर र सोसियल वेलफेयरको रूपमा १५ वर्षमुनिका बालबालिकालाई निःशुल्क र बाथज्वरोले मुटु बिगारेको उपचार निःशुल्क राष्ट्रिय रूपमा गर्न सकिने सुविधा छ । यो सरकारले गरेकै काम हो । कोसिस गर्दै जाँदा भएको हो,” कोइरालाले भने,“प्रविधिमाथिको पहुँचका कारण पनि देशले नै गौरव गर्ने विषय हो । मैले हजारौँ वयस्कहरूको उपचार गरेँ । ५–६ हजार बच्चाको पनि शल्यक्रिया गरेँ । तर, व्यस्कभन्दा बच्चालाई विशिष्ट सेवा दिने टिम चाहिन्छ । आधा जनसंख्या ओगट्ने बच्चाको स्वास्थ्य उपचार जटिल अनि जरुरी पनि छ । गरिब वा जे होस् बच्चा अकालमा मर्न भनेको अथाहा भविष्य नष्ट हुनु हो । व्यस्कले त एउटा उमेर पूरा गरिसकेका हुन्छन् । कसरी बच्चा मर्ने क्रम बचाउने होला भनेर केही नयाँ तरिकाले काम गर्न सकिन्छ कि भनेर योजना बनाएको हो ।”
गैरनाफामूलक ढंगले बालबालिकालाई देशभर स्वास्थ्य उपचार दिने उद्देश्यसाथ कोइरालाकै नेतृत्वमा काठमाडौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ स्थापना भएको छ । इन्स्टिच्युटले काठमाडौंमा एउटा मुख्य र सातै प्रदेशमा ‘स्याटेलाइट’ बाल अस्पताल सञ्चालन गर्दै छ । सरकारसँगकै साझेदारीमा काठमाडौमा अलि विशिष्टीकृत दुई सय बेडको अस्पताल खोल्ने प्रक्रिया सुरु भइसकेको छ ।
डा. कोइराला भन्छन्, “बाँकी जीवन यसकै स्थापना अनि बालस्वास्थ्यमा खर्चिने योजना छ । सरकारसँग सहयोग लिएर काठमाडौंमा पनि सुरु गरिएको छ । विभिन्न प्रदेशमा जाने क्रममा दमक पुगियो ।”
कोइरालाका अनुसार विराटनगर इटहरी हेर्दा पनि भइसकेको ठाउँमा भन्दा नभएको ठाउँ र सुविधाको हिसाबले ग्याप भएको देखिएकोले त्यहाँ खोलिएको हो । झापाको धेरै भाग, मोरङको उत्तरपूर्वी अनि सुनसरीको केही भागका बालबालिकाले दमकको अस्पतालबाट सुविधा पाउने कोइरालाको भनाइ छ । त्यहाँ नेपाल रेडक्रस सोसाइटी दमक शाखाले भवन उपलब्ध गराएको छ । सात प्रदेशमध्ये पहिलो स्याटलाइटको रूपमा अस्पताल सञ्चालनमै आइसकेको छ । त्यो अस्पतालमा डेढ करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना हुने क्रममा छ ।
“तीन हप्तादेखि सफ्ट लन्च गरी सुरु भइसकेको छ । पूर्ण सञ्चालनमा आउन अझै थोरै समय लाग्छ । अवधारणाको प्रमाण दमकबाट दिन सकिएको छ । काठमाडौंबाहिर समर्पित पहिलो सामुदायिक अस्पताल हो । मेडिकल कलेजमा बाल स्वास्थ्य विभाग पनि छन् । जेनरल पेडियाट्रिक र केही मुटुलगायत, कान नसुन्नेसहित बालबालिकाको अन्य सबै स्वास्थ्य समस्याको उपचार गर्छौं,” उनले भने ।
अस्पताल पुगेर गरिब बिरामी नफर्किउन र सक्नेले पैसा तिरुन भन्ने अवधारणाअनुरूप काम भइरहेको बताइएको छ । भर्खर जन्मिएका र आमा साथै चाहिने बच्चालाई आमा पनि सँगै बस्न मिल्ने गरी वार्डहरू तयार हुँदै छन् । एनआईसीयू निर्माण भएको छ । अत्याधुनिक एक्सरे तथा अन्य मेडिकल मेसिन जडान भई त्यसको सिधा कनेक्सन काठमाडौंसँग हुने र रिर्पोट उतैबाट हेर्न मिल्ने डा. कोइरालाले सुनाए ।
उनले भने, “यो अस्पताल आएपछि फेरि चेकजाँच गर्न अन्यत्र जानु नपरोस् भन्ने नै हाम्रो चाहना हो । सुरुवात हो, फेन्सी नहोला । गैरनाफामूलक संस्था हो । थोरै समयमै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हाम्रो संस्थाको छवि फेरिएको छ । बालस्वास्थ्यमा ठूलो टेवा पुग्छ जस्तो लाग्छ । सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।”