site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशमा कहिले बन्छ गठबन्धन सरकार ? 
फाइल फोटो : एमाले नेतृत्व सरकारको मन्त्रिपरिषद्को बैठक ।

विराटनगर । सय दिन पूरा भएलगत्तै अन्य प्रदेशमा सरकार ढले । तर, कोसी प्रदेशमा एमाले नेतृत्वको सरकार कायमै छ । कोसीमा हिक्मत कार्की नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सरकारले सय दिने उपलब्धिसमेत सार्वजनिक गरेको छ । 

अन्य प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलको पहलमा प्रदेश सरकार फेरबदल हुने प्रक्रिया सुरु भइसकेको छ । कोसीमा भने गठबन्धन दलले कहिले आफ्नो नेतृत्वको सरकार गठन गर्छन् भन्ने अझै तय हुन सकेको छैन ।

कार्की नेतृत्वको प्रदेश सरकारलाई संघीय सरकारका सत्तासाझेदार माओवादी केन्द्र र जसपाको समर्थन छ । समर्थन फिर्ता लिने विषयमा केन्द्र र प्रदेशमा नेताहरू छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीका अनुसार अहिले काठमाडौं केन्द्रीय नेतृत्वसँग छलफल भइरहेको छ । कोसी प्रदेशमा सत्ता गठबन्धनको सरकार बनाउन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवार र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगसमेत छलफल भएको बताउँदै उनले भने, “कसरी अघि बढ्ने र कसले सरकारले नेतृत्व लिने अनि माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल भएको छ ।”

कार्कीका अनुसार मंगलबार पनि संघीय राजधानी काठमाडौंमा कोसी प्रदेशमा गठबन्धनका संसदीय दलका नेताले छलफल गरेका छन् ।

अन्य प्रदेशमा एमालेलाई दिएको समर्थन फिर्ता भएसँगै गठबन्धन सरकार गठनको प्रक्रियामा गइसक्दा कोसीमा भएको ढिलाइ र यहाँको राजनीतिक परिस्थितिअनुरूप सरकार गठन गर्ने विषयमा छलफल गर्न नेताहरू केन्द्रमा नै छन् । कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलगायत नेताहरू छलफलका लागि काठमाडौंमै छन् । 

नेता राजेन्द्र राईले कोसीमा संसदीय अंकगणित र सरकार गठनको प्रक्रियाको विषयमा गहन छलफल भएको बताएका छन् । “गठबन्धनको सरकार यथासक्य चाँडै बनाउने विषयमा केन्द्रीयस्तरमा छलफल गर्न नै हामी काठमाडौंमा छौँ,” राईले भने । 

आफ्नो नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त सार्वजनिक गर्न केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नै नेतृत्वको सरकार पाँच वर्ष नै कायम रहने दाबी गरेका थिए । उनले सबै दल मिलेर आफ्नो नेतृत्वमा साझा सरकार गठन गर्नसमेत आह्वान गरेका थिए ।

तर, कांग्रेस सांसद केदार कार्की साझा सरकारको कुनै सम्भावना नरहेको बताउँछन् । 

यसअघि माओवादी केन्द्र कोसी संसदीय दलका नेता इन्द्र आङ्बोले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने अभिव्यक्ति दिएका थिए । यसबाट असन्तुष्ट बनेका अन्य दलका नेताले भने गठबन्धनको मर्मअनुरूप नै कोसीमा पनि नयाँ सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । 

यस्तो छ अंकगणित 
कोसी प्रदेश सभा ९३ सदस्यीय छ । सरकार गठन गर्न ४७ सांसदको मत चाहिन्छ । सबैभन्दा ठूले दल एमालेका ४० जना सांसद छन् । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ हिक्मत कार्की नेतृत्वको सरकार अल्पतमा पर्छ । राप्रपाको साथ पाउँदासम्म एमालेतर्फ ४६ सांसद हुन्छन् ।

कोसीमा कांग्रेसका २९ सांसद छन् । सभामुखसहित माओवादी केन्द्रमा १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सरकार गठन गर्न चाहिने ४७ सांसद गठबन्धनसँग छ ।

विश्वासको मत लिँदा मत बराबर हुँदा सभामुखले मत हाल्नसक्ने प्रावधानअनुरूप कोसीमा गठबन्धन सरकार बन्न सक्छ । मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता हुना साथ उनले एक महिनाभित्र विश्वास मत लिनुपर्छ । यसबेला राप्रपा एमालेसँग भए ४६ साथ छाडे ४० मतमात्र हुन्छ ।

कोसीमा राप्रपा फ्याक्टर
राप्रपासमेत गरी जम्मा ६० सांसदको साथ लिएर एमालेका कार्की मुख्यमन्त्री बनेका थिए । तर, अहिलेको सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने सवालमा राप्रपा फ्याक्टरबारे समेत चर्चा हुन थालेको छ । राप्रपाले गठबन्धनलाई साथ दिए सहज बहुमतसहितको सरकार गठन हुने देखिन्छ । राप्रपाले गठबन्धनलाई साथ दिए ५३ सांसदको समर्थनसहितको सरकार बन्न सक्छ ।

राप्रपाले साथ नदिए संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न गठबन्धनका नेताले कानुन विज्ञहरूसँग समेत छलफल गरेको बताएका छन् । प्रदेशलाई एमालेकै नेतृत्वमा छाड्न र अनिर्णयको अवस्थामा राख्न नसक्ने विषयमा सबैदल एकमत रहेको कांग्रेस सांसद केदार कार्की बताउँछन् । 

अहिले सरकारमा राप्रपाका भक्तिप्रसाद सिटौला मन्त्री छन् । एमाले सरकारमै रहने अथवा गठबन्धनलाई साथ दिने भन्ने विषयमा राप्रपाले निर्णय गरिसकेको छैन् । बरु सत्ता गठबन्धन र मुख्यमन्त्री कार्कीसँग अलग अलग छलफल भने गरिरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro