site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा चुनावी रौनक : रास्वपा र गठबन्धनको सभा एकै समयमा

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदै छ । त्यसपछि मत माग्न तथा प्रचारप्रसार गर्न पाइँदैन ।

उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दल तथा उमेदवार लागिपरेका छन् । मतदाताको घरदैलोमा पुग्नेदेखि चुनावी सभालाई उनीहरूले तीव्रता दिएका छन् । बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रचारप्रसारको अन्तिम दिन सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले दुई चुनावी सभालाई सम्बोधन गर्दै छन् । बारा–२ अन्तर्गत महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा आयोजना गरिएको छ । सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सभा बिहान ११ बजे सुरु हुनेछ ।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उमेदवार छन् । उनलाई जिताउने उद्देश्यले सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

आजै गठबन्धनका नेताहरूले चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । गठबन्धनका तर्फबाट चितवन–२ मा नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ उमेदवार छन् ।

गठबन्धनको यो सभा कालिका नगरपालिका–४, पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । सभालाई प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताले सम्बोधन गर्ने जनाइएको छ । उनीहरू बाराको सभा सकाएर चितवन पुग्नेछन् ।

सोही समयमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् चुनावी सभा आयोजना गरिएको छ । स्थान फरक छ । भरतपुर महानगरपालिका–१०, गेस्टहाउस चौरमा रास्वपाको सभा आयोजना गरिएको हो ।

सो सभालाई रास्वपाबाट चितवन–२ का उमेदवार रवि लामिछाने, बारा–२ का उमेदवार रमेश खरेल, तनहुँ–१ का उमेदवार डा. स्वर्णिम वाग्लेलगायत नेता एवं व्यक्तिले सम्बोधन गर्ने लामिछानले जानकारी दिएका छन् ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट लामिछाने निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा उनले पद गुमाएका थिए । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro